सोमबार, मंसिर १५ २०७७ | Mon, November 30, 2020
नेपालको समय: ०६:१८ | UK Time: 00:33

के हो त डायस्पोरा ?

वीनेपाली
२०७१ असोज २ गते १४:१३
साहित्यकार विकल आचार्य

साहित्यकार विकल आचार्य

मानव घुमन्ते प्राणी हो । परापूर्व कालदेखि एक ठाउँबाट अर्कोठाउँ मा बसाई सरेको पाईन्छ । आर्थिक, सामाजिक, मानसिक आदि कारणले गर्दा मानवहरु बसाई सर्दछन् । आफू जन्मे हुर्केको, बढेको थातथलो छाडेर अर्को नयाँ ठाउँमा पुग्छन् । त्यहि नयाँ ठाउँमा जसरी तसरी घुलिमिल भएर जीवनयापन गर्दछन् । यसप्रकार डायस्पोरा बसाईँसराई सँग अन्तरसम्बन्धित छ । डायस्पोराको सर्वप्राचिन अर्थ खोजतलास गर्ने क्रममा ग्रीस पुगिन्छ । ग्रीक भाषामा डायस्पोराले फैलिनु, छरिनु वा तितरबितर हुनु भन्ने अर्थ प्रदान गर्छ । एक ठाउँबाट अर्को ठाउँमा छरिने प्रक्रियालाई जनाउँछ । हिजो आज डायस्पोरा (Diaspora ) शब्द निकै प्रचलनमा छ । यसको अर्थ हुन्छ – आफ्नो देश वा सांस्कृतिक समूहबाट टाढिएर बसेको समुदाय । यस्तो समुदायको मन एकातिर हुन्छ, शरीर अर्कोतिर ( भट्टराई , २०६८ भूमिका ) हुन्छ । उद्गम भूमिको मूल सांस्कृतिक पहिचान कायम राखी क्रियाशील अन्तरसम्पर्कमा रहेका अनौपचारिक आप्रवासीहरुको समुदायलाई डायस्पोरा भनिन्छ । त्यसैले सामान्य ढंगले सांस्कृतिक पहिचान + आप्रवासी + परादेशीय समुदाय = डायस्पोरा भन्न सकिन्छ (एटम, २०६८ : १०) । यसरी आफ्नो थातथलो छाडेर नयाँ ठाउँमा स्थायी रुपले बसोबास गर्ने मानव समुदायलाई डायस्पोरा भनिन्छ । यसको पुरानो अर्थ छर्नु वा बाहिर निकाल्नु भए पनि त्यसको अर्थ विस्तार भएर आज अर्कै रुपमा बुझिन्छ (भट्टराई, २०६९ :  VIII ) ।

पहिले ग्रीक शब्द डायस्पोरा यहुदीहरुको पलायन सँग सम्बन्धित थियो । राजनीति, जातीयता, युद्द आदि कारणले यहुदीहरू आफ्नो मातृभूमि छाड्न बाध्य भए । यहुदीहरू पलायन भएर चौतर्फी फैलिए । चौतर्फी फैलिएका यहुदीहरुलाई तत्कालीन समयमा डायस्पोरा भन्न थालियो । अहिले सबै आप्रवासीलाई चिनाउन डायस्पोरा शब्दको प्रयोग गर्न थलिएको पाईन्छ । डायस्पोरा शब्दको अर्थ पनि व्यापक भएको देखिन्छ । घर देशबाट छुट्टिएर परदेशमा बसोबास गर्ने बाध्य ( रहर पनि हुन् सक्छ ) जनताको समुदायलाई शब्दले व्यापक अर्थ प्रदान गर्दछ (लामिछाने, २०७० : भूमिका ) । यसरी जुन देशबाट भए पनि आफ्नो मातृभूमिलाई छाडेर विदेशमा बसाई सरेको मानव समुदायलाई डायस्पोरा भनिन्छ ।

अविकसित देशका नागरिकहरु विकसित देशमा पुग्ने सपना देखिरहेका हुन्छन् । युरोप अमेरिका पुग्ने उनीहरुको ठुलो धोको हुन्छ । आर्थिक उन्नति हुने र कुनै अवसर पाउने बित्तिकै विदेश पस्छन् मानिसहरु । जतिसुकै धनि देशमा गए पनि मानिसहरुलाई मातृभूमिको मायाले सताउँछ । विदेश गए पनि स्वदेश फर्केर आउन चाहन्छन् तर सजिलैसंग स्वदेश फर्केर आउन सक्दैनन् । मातृभूमिको माया जति भए पनि विदेशी संस्कृतिमा नै विलय हुनुपर्ने अवस्था आउँछ । कर र रहर दुवै कारणले विदेशमा नै स्थायी रुपले बसोवास गरी डायस्पोरा बन्न पुग्छन । प्रारम्भमा निर्वार्सित र विस्थापित भनिए पनि आफ्नो अस्थित्वको बोध गरी निर्माण गरिएको समुदाय विशेषलाई डायस्पोरा भनिएको पाईन्छ (लामिछाने, २०७० : भूमिका ) ।

मानिसको शरीर विदेश पुगे पनि मन भने स्वदेशमा नै हुन्छ । विदेशमा भय, त्रास, असुरक्षा, मानसिक द्धन्द्ध, विरानोपन आदिका कारण संकटग्रस्त जीवन विताउनु पर्छ । आफ्नो थातथलो छाडेका मानिसको आधा मन स्वदेश र आधा मन विदेशमा हुन्छ । यता न उताको दोधारको स्थिति देखिन्छ । आफ्नो मूल थलोबाट अलग हुन् पुग्नु तर त्यस थलोमा पुन : पुग्न कठिन हुनु डायस्पोराका आफ्नै पीडा मानिन्छन ( लामिछाने, २०११ : १२१ ) ।

वास्तवमा परदेश भासिएपछि मानिस घर न घाटको हुन्छ । मातृभूमि बाट टाढा भएका द्दैध संस्कृति अंगालेका मानवहरु आफू पुगेको नयाँ भूमिमा सानो नयाँ समाज निर्माण गर्छन्,  जसलाई डायस्पोरा भनिन्छ । जुन माटोमा जन्मिएको छ, हुर्किएको छ शरीर परदेशमा भए पनि मन त्यहि जन्मस्थल हुनु, त्यहिको सपना देख्नु, बाल्यकालको स्मरण हुनु, संस्कार र संस्कृतिले आफूतिर तान्नु र आय तथा प्रतिष्ठा आर्जन पछि गृहभूमि फर्कने तीव्र आकांक्षा राख्नु डायस्पोराका मूलभूत पक्ष मानिन्छन् । ( लामिछाने,२०७० : भूमिका )

(त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा एम एडका विद्यार्थी रामकृष्ण आचार्यले अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान अध्यक्ष विकल चन्द्र आचार्यको प्रकाशित कृतिहरु माथि रिसर्च गरेर तयार गरेको थेसिसबाट साभार )

सन्दर्भ सामाग्री :

डायास्पोरिक कोणमा विकलका कृति

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक