काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ

काठमाडौं । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८औं मिस तामाङको ताज पहिरिनु भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यसपटकको ताज साम्राज्ञीले पहिरिन सफल हुनुभएको हो ।

विजेता मोक्तानलाई १७ मिस तामाङ अन्जु थोकरले ताज पहिर्‍याइदिनुभएको थियो । मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पार्नुभयो । मिस कन्फिडेन्ट, भ्युअर चोइस टाइटलसमेत हात पारेकी मोक्तानले नेपाललाई सांस्कृतिक रुपमा संसारमा चिनाउन चाहनुहुन्छ भने के के गर्नुहुन्छ? भन्ने प्रश्नमा मोक्तानले निर्णायकको मन जित्नुभएको थियो । उहाँले नेपाल विविधतायुक्त देश भए पनि एकताको धनी देश भएको बताउनुभएको थियो ।

‘म नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकको रुपमा प्रस्तुत गर्छु। हाम्रो विविधताभित्रको एकता र धर्मनिरपेक्षताले हामीलाई निकै गर्व महसुस गराउँछ। हाम्रो सेलोको धड्कन र साकेलाको धुनले एक बनाएको छ। १२० भन्दा बढी भाषाहरु बिना कुनै अवरोध बोलिन्छ। हामी एकअर्कालाई माया आदरसाथ बोल्छौं । हाम्रो पहिरनको सुन्दरता र लालित्यले सांस्कृतिक महत्त्व बोकेको छ,’ मोक्तानले जवाफमा भन्नुभएको थियो,’यसै विषयलाई प्रस्तुत गरी नेपाललाई संसारमा चिनाउन चाहन्छु।’

इन्जिनियर बन्ने सपना बोकेकी १८ वर्षीया मोक्तानले परिवारको माया र साथले यो सफलता पाएको र अबका दिन महिला सशक्तीकरणमा काम गर्ने बताउनुभयो। ‘समुदायका महिला सशक्तीकरणका लागि शिक्षामार्फत सेवामा लाग्छु,’ उहाँले भन्नुभयो ।

प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप बन्नुभयो भने सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप बन्नुभयो । त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनर अप बन्नुभयो । फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले बताउनुभयो। विजेताहरुलाई प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ र नायक अमिर दोङले टाइटल तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनलिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पुजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले हात पार्नुभएको थियो ।

निर्णायक मण्डलमा सफलता थिङ, शेषराज भट्टराई, लेक योञ्जन र प्रदीप बम्जन हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री