गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली गीतकार सङ्घले गीत, सङ्गीतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सात स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । अमेरिकाको पेन्सल्भेनियामा आयोजना हुने सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँहरूलाई सम्मान गरिने सङ्घका संस्थापक अध्यक्ष डा हरि उप्रेतीले जानकारी दिनुभयो ।

गीतकार एवं कवि दिनेश अधिकारीलाई ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ प्रदान गर्ने घोषणा गरिएको छ । बर्सेनि गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने एक जना स्रष्टा/कलाकारलाई उक्त सम्मान प्रदान गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो ।

संस्थापक अध्यक्ष डा उप्रेतीका अनुसार नेपालतर्फ पुरू लम्साललाई गीतकार सम्मान, तृप्ती खड्कालाई सङ्गीत सम्मान र यशोधा पराजुलीलाई गायन सम्मान प्रदान गरिने छ ।

डायसपोरातर्फ अमेरिकाका सबु गदाल कार्कीलाई डायसपोरा गीतकार सम्मान, डम्बर खापुङ सुब्बालाई डायसपोरा गायन सम्मान तथा अगम गुरुङलाई डायसपोरा लोक सङ्गीत सम्मान प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

संस्थापक अध्यक्ष उप्रेतीका अनुसार सम्मेलन नेपाली गीत, सङ्गीत, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राख्दै आयोजना हुन लागेको हो । सम्मेलनमार्फत विश्वभर छरिएर रहेका नेपाली सर्जकहरूलाई एउटै साझा मञ्चमा जोड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री