बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन

तस्वीरहरू लण्डन नेपाल न्यूज

लन्डन । यूकेस्थित नेपाली दूतावासले ब्रिटेन नेपाल सोसाइटीसँगको सहकार्यमा “युकेमा रहेका नेपाली विद्यार्थीका चासो” विषयमा पहिलोपटक एक दिवसीय सम्मेलन दूतावास परिसरमा सम्पन्न गरेको छ ।

यूकेका विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीको संख्या तीव्र रूपमा बढिरहेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै उपनियोग प्रमुख बिपिन दुवाडीले यूकेका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीले हासिल गरेको उल्लेखनीय शैक्षिक उपलब्धि र अनुभवप्रति खुशी व्यक्त गरे । उनले दूतावासमा आएका विद्यार्थीका चुनौती र समस्याबारे जानकारी दिँदै दूतावासले गर्दै आएको सहयोगका पहलहरू सार्वजनिक गरे । साथै, अभिभावक, शिक्षा परामर्शदाता, विश्वविद्यालय, समुदायका अगुवा तथा नेपाल–यूके दुवै सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा उनले जोड दिए ।

ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टनले सम्मेलनले यूकेमा रहेका विद्यार्थीको यात्रालाई सहज बनाउने महत्वपूर्ण कदम भएको बताए । उनले सोसाइटी समुदाय र दूतावाससँग सहकार्य गर्दै आवश्यक जानकारी, नीतिगत अद्यावधिक तथा अनौपचारिक सहयोग प्रदान गर्न तयार रहेको उल्लेख गरे।

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले भर्चुअल रूपमा सम्बोधन गर्दै उच्च शिक्षासम्बन्धी कानुन तथा नियम पुनरावलोकन गर्न, नियमनकारी निकायहरूलाई सुदृढ बनाउन तथा संकटमा परेका विद्यार्थीका लागि सहयोग संयन्त्रबारे छलफल गर्न मन्त्रालय तयार रहेको बताए ।

ब्रिटिश दूतावास काठमाडौँका निर्देशक डिएगो मोरोसोले अन्तर्राष्ट्रिय विद्यार्थीको हित संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै समन्वय र सहकार्यको महत्त्व औंल्याए । ब्रिटिश काउन्सिल काठमाडौँका निर्देशक रुस्तम मोडीले पनि नेपाली नेपाली विद्यार्थीका लागि काउन्सिलले गर्दै आएको सहयोगबारे जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे।

सम्मेलनमा विभिन्न प्रस्तुति तथा प्यानल छलफलहरू समावेश थिए । छलफलको निष्कर्षस्वरूप नेपाली विद्यार्थीले सामना गर्ने चुनौतीबारे साझा बुझाइ विकास गर्न तथा दीर्घकालीन समाधान खोज्न सबै सरोकारवालाबीच बलियो सहकार्य आवश्यक रहेको निष्कर्ष निकालियो। सम्मेलनले सरोकारवालासहितको अनलाइन विशेषज्ञ मञ्च गठन गर्ने, बहुपक्षीय परिषद् स्थापना गरी समन्वय तथा नयाँ पहलहरू अघि बढाउने, तथा दुवै देशका नियमकानुनसम्बन्धी सुधार सुझाव तयार पार्ने कार्यसमूह गठन गर्ने निर्णय गर्यो ।

नेपाल हाल यूकेमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो मुलुक बनेको छ । पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेका छन् । २०२५ मा मात्र करिब २० हजार विद्यार्थीले यस्तो सर्टिफिकेट लिएका थिए । यसै सन्दर्भमा सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याई नियमित संवाद सुरु गर्नु आवश्यक रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा यूकेका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, गृह मन्त्रालय, विदेश मन्त्रालय,शिक्षा मन्त्रालय, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स, सेन्टर फर नेपाल स्टडिज यूके, मर्जिङ नेपसक्स, एनआरएनए यूके, पूर्वविद्यार्थी, प्राध्यापक, शिक्षा परामर्शदाता तथा सञ्चारकर्मी गरी ६० भन्दा बढी सहभागी उपस्थित थिए । नेपालस्थित शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, ब्रिटिश दूतावास र ब्रिटिश काउन्सिलका अधिकारीहरूले भर्चुअल रूपमा सहभागिता जनाए।

सम्मेलनले यूकेमा रहेका नेपाली विद्यार्थीको हित, सुरक्षा र शैक्षिक सफलताका लागि निरन्तर संवाद र सहकार्य जारी राख्ने साझा प्रतिवद्धतासहित समापन गरियो । कार्यक्रम दिवसभर सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री