
लन्डन । बेलायत निवासी साहित्यकार केदार सङ्केतको ‘अन्तिम साँझ’कथासङ्ग्रह विमोचन गरिएको छ ।
ललितपुर मानभवनको अइला लन्जमा आइतबार २८ डिसेम्बर २०२५ मा एक समारोहबीच सङ्केतको नवीनतम् कृति ‘अन्तिम साँझ’ नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार प्रगति राई, कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठलगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । मिलाप पब्लिकेसनले प्रकाशन गरेको कथासङ्ग्रह अन्तिम साँझमा पहिचानजनित कथासहित समसामायिक १५ वटा कथाहरु सङ्ग्रहित छन् । यो उहाँको सङ्केतको यो नवौं कृति हो ।

विमोचन समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले यो समय प्रविधिले साथ दिएको समय पनि हो कहिल्यै नसुनिएका, नचिनिएका साहित्यकारलाई अचानक एउटै कथाले सबै माझ चिनाउन सकिने तर त्यसको लागि अलिकति मिहिनेत र धैर्यता चाहिने बताउनुभयो । उहाँले संकेतका अन्तिम साँझ कथासङ्ग्रह प्रयोगवादी शैली, विषयवस्तुको विविधता, कथानकमा गम्भीरता जस्ता विशेषताले गर्दा अन्तिम साँझ जस्ता राम्रा कृतिका लागि हल्ला गरिरहनु नपर्ने धारणा राख्नुभयो ।
‘हल्ला खल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरुको अस्तित्व सदैव स्थिर हुन सक्दैन । काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा लगातार प्रवाहित भइरहने स्रष्टाहरुको सुदूर गन्तव्य सुनिश्चित छ । पुरस्कार, प्रतियोगिता र हल्लाखल्लाका भरमा स्थापित हुने रहर पाल्ने कतिपय सर्जकहरुको भीडमा केदार सङ्केत फरक छन्,’ उहाँले भन्नुभयो, ‘प्रयोगवादी शैली, विषयवस्तुको विविधता, कथानकमा गम्भीरता जस्ता विशेषताले गर्दा अन्तिम साँझजस्ता राम्रा कृतिका लागि हल्ला गरिरहनु पर्दैन । समयको प्रवाहले आफैं मूल्यांकनको कसीमा खरो उत्रिन्छ । सिर्जनशील कर्मको बलमा आफैँ चर्चाको सगरमाथाको शिखर चुम्छ । पक्कै पनि यो कथासङ्ग्रहले कथाकारलाई सम्मानित बनाउने छ।’

कथासङ्ग्रहको समालोचनात्मक चिरफार गर्नुहुँदै साहित्यकार प्रगति राईले कतिपय कथाहरु यदाकदा पढ्न पाइएको तर्फ इङ्गित गर्दै १२ वटा कथाहरु उस्तै उस्तै रहस्यमयी, एक कथामा आफैं कथाको पात्र भए जस्तो लागेको अनुभूति सुनाउनुभयो । ‘यस कथासङ्ग्रहमा सुनकोशीको कथा छ, जुन कथाले सुनुवार जातिको इतिहास उत्खनन मात्रै गरेको छैन आम नेपाली समाजमा भएको वास्ताविक घटना पनि पस्केको छ । सानो नातिले बाजेलाई प्रश्न गर्छ कि बुबा भन्नु हुन्छ अंग्रेजी पढ, अंग्रेजी भविष्य हो, तपाईं भन्नुहुन्छ हाम्रो संस्कृति बुझ यो भविष्ययमा तँलाई काम लाग्छ । मेरो सानो दिमागले यति धेरै कुरा कसरी एकै पटक गर्नसक्छु । तर बाजेले नातिलाई सजिलै चित्ता बुझाउँछ,’ उहाँले भन्नुभयो, ‘एक से एक कथा उत्कृष्ट फरक र चाखलाग्दा छन् । र शीर्ष कथा अन्तिम साँझ मार्मिक छ, युद्धले कसरी समाज पिल्सिएको छ भन्ने समसामायिक यथार्थ पस्किएको छ ।’
केदारका लेखन शिल्पसँग आफू परिचित रहेको र अन्तिम साँझका कथाहरु यथार्थवाद र प्रयोगवादलाई प्रश्रय दिएर यथेष्ट रुपमा परिमार्जित र अवस्था परिष्कृत रुपमा आएको भए पनि कथाकारले कथा भनिसकेपछि पनि कथालाई थप प्रस्ट्याउन खोजेर जबर्जस्ती कथा लम्ब्याउन खोजेको हो कि भन्ने औंल्याउँदै त्यसतर्फध्यान दिन सुझावसमेत दिनुभयो ।
त्यसैगरी कथासङ्ग्रहको समीक्षा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले भन्नुभयो, ‘साहित्यकारले कृति जन्माउनु र मानिसले बच्चा जन्माउनु उस्तै कुरा हो । अन्तिम साँझ कथासङ्ग्रहको १२ औं कथाले आध्यात्मिक चेतना जागृत भएर शान्तिको खोजी गरेको छ । कोलाहलबाट मुक्ति खोजेको देखिन्छ । उनको कथाले नेपाली साहित्यलाई विश्वव्यापी यात्रा गराउने छ । कथाहरु एकदमै श्रृङ्गारिक र रहस्यमय छन् ।’
उहाँले आकर्षक कलेवर र साजसज्जामा आएको कथासङ्ग्रहका बारेमा श्रीओम श्रेष्ठ ‘रोदन’, रोचक घिमिरे, प्रकाश सायमिजस्ता मूर्धन्य साहित्यकारहरुको भूमिका रहनुले कृतिको स्तरीयताको स्वत: मापन भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसके पनि कथाकार केदार सङ्केतले भिडियो कलमार्फत लेखकीय मन्तव्य व्यक्त गर्नुभएको थियो । आफ्नो कथाका सबै पात्रहरुसँग धेरै पटक कुरा गरेको र सबै पात्रहरुलाई आफ्नै जन्मभूमि फर्काएको बताउँदै लेखकका लागि पाठकहरुको प्रतिक्रिया नै पुरस्कारका रुपमा रहने र यथोचित प्रतिक्रियाका आधारमा आगामी लेखनकर्ममा परिमार्जन गर्दै अघि बढ्ने उहाँले वाचा गर्नुभयो । उहाँले पुस्तक प्रकाशनमा साथ सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो ।

लोकार्पण कार्यक्रमका सभाध्यक्ष वरिष्ठ साहित्यकार खेमनाथ दाहालले कथासङ्ग्रहको सबै कथाको शीर्षकगत छोटो समीक्षा गर्दै निस्कर्षमा “स्वन्त सुखयः” भने जस्तै अन्तत: मान्छेले अन्तिम सुख आफैंमा देख्ने रहेछ र आफूले भोगेको संस्कारमै फर्किने गरेको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो, ‘केदार संकेत पनि गीताको ‘स्वधर्म निधनम् परोधर्म भयवह’ कै बाटोमा हिँड्नुभएको सुनकोशीको कथाले प्रष्ट पार्छ । उहाँ विश्वको जुनसुकै कुनामा पुगे पनि, घुमे पनि आफ्नै संस्कार संस्कृति प्यारो लाग्छ भन्ने प्रमाणित उक्त कथाले गरेको छ ।’
‘रचना’ साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे, साहित्यकार तथा आदिवासी लेखक/साहित्यकार महासङ्घका उपाध्यक्ष उत्तमकुमार सुनुवार (कोइँच बु काःतिच)ले कथाकार सङ्केतको कथासङ्ग्रहले आम नेपाली कथा अनुरागीको मन जित्न सफल होस् भन्ने शुभकामना दिँदै आगमी दिनमा पनि नेपालीपनको मौलिक कथाको अपेक्षा गर्नुभयो ।
कथासङ्ग्रहका भाषा सम्पादक, साहित्यकार तथा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दहालले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रकाशक तथा सम्पादक गीता अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने