अहिले पुन: एकपटक बुर्किना फासो अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बनेको छ। सैन्य शासन, आतंकवाद, चरम हिंसा, मानव अधिकार उल्लंघन र विदेशी कूटनीतिक सन्तुलनका कारण समग्रमा यो देश अहिले बहुआयामिक संकटको सामना गर्दैछ। यी समस्याबाट मुक्त हुने सम्भावना अहिले राष्ट्रप्रमुख राष्ट्रपति इब्राहिम ट्राओरेसँग जोडिएको छ। फ्रान्सको प्रभाव हटाउने, रूससँग सहकार्य गर्ने र क्षेत्रीय सहयोगलाई नयाँ ढाँचामा विकास गर्ने राष्ट्रपति ट्राओरेको कदमहरूले बुर्किना फासोको भविष्यका दिशा तय गर्ने संकेत दिइरहेका छन्। यी विषयहरूको परिणामले यहाँको भविष्य निर्धारण गर्नेछ।
११औं शताब्दीदेखि यहाँ मोस्सी साम्राज्य स्थापित थियो। उनीहरूले सैन्य शक्ति, प्रशासकीय संरचना र परम्परागत नेतृत्व प्रणालीमा आधारित शासन गरेका थिए। तर फ्रेन्च उपनिवेशवादले १८९६ मा मोस्सी साम्राज्यलाई हराएर उक्त क्षेत्रलाई आफ्नो अधीनमा लियो र “फ्रेन्च अपर भोल्टा” (French Upper Volta)को नाममा शासन गर्यो। सन् १९६० मा देशले स्वतन्त्रता प्राप्त गर्यो र मौरिस यामेओगो पहिलो राष्ट्रपति बने। तर सैन्य शासन, भ्रष्टाचार र राजनीतिक अस्थिरताले देश दीर्घकालीन समस्यामा फस्यो। सन् १९८३ मा थोमस साङ्काराले सत्ता सम्हाले। उनले राष्ट्रियकरण, महिला अधिकार, शिक्षा, स्वास्थ्य र किसान सुधारजस्ता ऐतिहासिक निर्णयहरू गरे। उनले नै सन् १९८४ मा देशको नाम “अपर भोल्टा”बाट “बुर्किना फासो” राखेका थिए । बुर्किना फासो भन्ने नाम दुई फरक अफ्रिकी भाषाबाट बनेको हो र यसको अर्थ हो “ईमानदार मानिसहरूको देश” वा “निष्ठावान् जनताको मातृभूमि”। यो नामको पहिलो भाग “बुर्किना” मुरे (Mòoré) भाषाबाट आएको हो, जुन बुर्किना फासोका सबैभन्दा ठूलो जातीय समूह मोसी (Mossi) समुदायद्वारा बोलिन्छ। मुरे भाषामा “बुर्किना” को अर्थ “ईमानदार,” “सच्चा” वा “निष्ठावान्” हुन्छ। दोस्रो भाग “फासो” भने डिउला (Dioula वा Jula) भाषाबाट आएको हो, जसको अर्थ “पिता भूमि” वा “मातृभूमि” हुन्छ।
नयाँ नामले उपनिवेशवादको प्रभाव मेटाउँदै राष्ट्रिय गौरव, आत्मसम्मान र जातीय एकताको सन्देश दिन खोजिएको थियो। मुरे र डिउला दुवै भाषाबाट शब्द लिइनुले बुर्किना फासोको विविध जातीय संरचनालाई समेट्ने प्रयास गरेको देखिन्छ।
साङ्कारालाई “अफ्रिकाको चेग्वेभेरा”को प्रतीकको रूपमा सम्मान गरिन्छ। तर १९८७ मा साङ्काराको आफ्नै सहयोगी ब्लेज कम्पाओरेले उनलाई सैनिक कू गरेर सत्ताच्युत गरे। कम्पाओरेले २७ वर्षसम्म शासन गरे र २०१४ मा संविधान संशोधन गरेर सत्ता विस्तार गर्ने प्रयास गरेपछि जनविद्रोहका कारण सत्ताबाट हटाइए। त्यसपछि देशमा अस्थिरता बढ्दै गयो।
सन् २०१५ मा लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेले सत्ता सम्हाले। तर उनले सुरक्षा अवस्था सुधार गर्न नसकेको आरोपमा सन् २०२२ को जनवरीमा सेनाले कू गर्यो। कूको नेतृत्व लेफ्टिनेन्ट कर्नेल पॉल-हेन्री डामिबाले गरे। तर उनको शासनले पनि अपेक्षित सुधार ल्याउन नसकेको भन्दै सेप्टेम्बर २०२२ मा पुनः अर्को सैनिक कू भयो र यसपटक सत्ता कप्तान इब्राहिम ट्राओरेले सम्हाले।
इब्राहिम ट्राओरेको जन्म सन् १९८८ मा बुर्किना फासोको कोडौगू भन्ने स्थानमा भएको थियो। कोडौगू राजधानी औगाडोगूबाट लगभग १०० किलोमिटर पश्चिममा पर्दछ। यो शहर बुर्किना फासोका महत्वपूर्ण सहरहरूमध्ये एक हो र सांस्कृतिक र व्यापारिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। उनले औगाडोगू विश्वविद्यालयबाट भूगर्भशास्त्र (geology) अध्ययन गरे। विश्वविद्यालय जीवनमा उनी वामपन्थी विद्यार्थी आन्दोलनमा सक्रिय थिए। सन् २००९ मा उनले सैनिक सेवा सुरु गरे। आतंकवादविरुद्धको अभियानमा सक्रिय रहेपछि उनलाई सेनामा राम्रो प्रतिष्ठा प्राप्त भयो। ३४ वर्षको उमेरमा सत्ता सम्हालेपछि उनी विश्वकै सबैभन्दा कान्छा राष्ट्रपतिको रूपमा चर्चित भए। उनका विचारहरू थोमस साङ्कारासँग मिल्दोजुल्दो छन्—राष्ट्रवाद, आत्मनिर्भरता, भ्रष्टाचारविरोधी अभियान, विदेशी हस्तक्षेपको विरोध र प्यान-अफ्रिकन एकता। ट्राओरेले सामाजिक सञ्जालमा निकै प्रभावशाली उपस्थिति बनाएका छन् र युवामाझ लोकप्रिय छन्।
बुर्किना फासो पश्चिम अफ्रिकाको एक भूपरिबेष्ठित राष्ट्र हो। यसको क्षेत्रफल करिब २ लाख ७४ हजार २०० वर्ग किलोमिटर छ र जनसंख्या २ करोड २० लाखभन्दा बढी (२०२३ को अनुमान अनुसार) रहेको छ। यसको राजधानी औगाडोगू (Ouagadougou) हो। यो देश ऐतिहासिक रूपमा समृद्ध, सांस्कृतिक रूपमा विविध तर राजनीतिक अस्थिरता र सुरक्षासम्बन्धी समस्याबाट ग्रस्त राष्ट्र हो।
बुर्किना फासोमा करिब ६० जातीय समूह रहेका छन्, जसमा मोस्सी (४०%), फुलानी, गुरुन्सी, बिसा, र लोबी प्रमुख छन्। यी जातीय समूहहरूको आफ्नै भाषा, धर्म, संगीत, कला र परम्परा छन्। धार्मिक दृष्टिकोणबाट यहाँ करिब ६०% मुस्लिम, २५% क्रिश्चियन (प्रोटेस्टेन्ट र क्याथोलिक), र बाँकी परम्परागत धर्मका अनुयायी छन्। सांस्कृतिक गतिविधिहरूमा नृत्य, मुखौटा-नाटक, हस्तकला र संगीतको प्रमुख स्थान छ। परम्परागत वाद्ययन्त्रहरूमा डजेम्बे, बलाफोन र कोरा लोकप्रिय छन्। राजधानी औगाडोगू र सहर बोबो-डियुलासो अफ्रिकी कला र चलचित्रको केन्द्र मानिन्छ। विशेषगरी, प्रत्येक दुई वर्षमा आयोजना हुने FESPACO (Pan-African Film and Television Festival of Ouagadougou) अफ्रिकाको सबैभन्दा ठूलो चलचित्र महोत्सव हो जसले बुर्किना फासोलाई “अफ्रिकन सिनेमा”को राजधानीको रूपमा स्थापित गरेको छ।
राष्ट्रपति ट्राओरेको सरकारले वैदेशिक नीतिमा नाटकीय परिवर्तन गरेको छ। फ्रान्ससँगको ऐतिहासिक सैन्य सम्बन्ध अन्त्य गर्दै, ट्राओरेले फ्रान्सेली सेना देशबाट निकालेर रूससँग सुरक्षा सहकार्य बढाएका छन्। यस परिवर्तनले अफ्रिकामा चलिरहेको भूराजनीतिक प्रतिस्पर्धालाई थप चर्काएको छ। फ्रान्स, अमेरिका र अन्य पश्चिमी मुलुकहरू चिन्तित छन् कि बुर्किना फासोजस्ता देशहरूमा रूसले (वा वाग्नर समूहले) आफ्नो प्रभाव बढाउँदैछ।
सन् २०२४ को जनवरीमा बुर्किना फासो, माली र नाइजरले संयुक्त रूपमा ECOWAS (पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदाय) छोड्ने घोषणा गरे। उनीहरूले “Alliance of Sahel States (AES)” नामक नयाँ क्षेत्रीय गठबन्धन स्थापना गरे जसले पश्चिम अफ्रिकी राजनीतिक संरचनामा ठूलो परिवर्तन ल्याएको छ। ECOWAS को चेतावनी र प्रतिबन्धहरूलाई चुनौती दिँदै तीनै देश सैनिक शासनको मार्गमा अघि बढिरहेका छन्, जुन अन्तर्राष्ट्रिय स्थायित्वको दृष्टिकोणले गम्भीर चुनौती हो।
ट्राओरे सरकारमाथि प्रेस स्वतन्त्रताको हनन्, राजनीतिक विरोध दमन, र मानव अधिकार उल्लंघनको आरोप पनि लागिरहेको छ। धेरै पत्रकारहरूलाई गिरफ्तार गरिएको छ र केही विदेशी सञ्चारमाध्यमहरू प्रतिबन्धित भएका छन्। यो सबै घटनाले बुर्किना फासोको वर्तमान स्थिति केवल राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय सरोकारको विषय बनेको छ।
बुर्किना फासो अहिले पश्चिम अफ्रिकाको सबैभन्दा हिंसाग्रस्त देशहरू मध्ये पर्छ। अल-कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित आतङ्ककारी समूहहरूले देशको उत्तरी र पूर्वी भागमा निरन्तर हमला गरिरहेका छन्। २०२३ को अन्त्यसम्म देशभर २० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्। धेरै विद्यालय, अस्पताल र बजार बन्द छन्। हजारौं नागरिक मारिएका छन्। ट्राओरे सरकारले स्थानीय नागरिक स्वयंसेवकहरू (Volunteers for the Defence of the Homeland – VDP) को समूह बनाएर सेनाको सहयोग गरिरहेको छ तर यसलाई मानव अधिकार उल्लंघनको आरोप लागेको छ। अन्तर्राष्ट्रिय समुदाय विशेषगरी संयुक्त राष्ट्रसंघ, फ्रान्स र ECOWAS ले बुर्किना फासोको सैन्य शासन र मानव अधिकारको स्थितिप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरुले यहाँको अवस्थालाई विनाशकारी भनेका छन्।
बुर्किना फासो अफ्रिकाको एक गरिब र विकासोन्मुख देश हो। जसको अर्थतन्त्र मुख्यत: कृषि र खनिज उत्खननमा आधारित छ। करिब ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर छन्। देशको जीडीपीमा सबैभन्दा ठूलो योगदान खनिज क्षेत्रबाट आउने गर्छ। विशेषगरी सुन प्रमुख निर्यात वस्तु हो। बुर्किना फासो पश्चिम अफ्रिकाको शीर्ष ५ सुन उत्पादकहरूमध्ये पर्छ। सुनपछि जस्ता र म्याङ्गानिज अन्य महत्वपूर्ण खनिज हुन्। हालसालै तामा र लिथियमजस्ता खनिजहरूको खोज र उत्खननमा पनि चासो बढेको छ। जसले देशको भविष्यको आर्थिक सम्भावना बढाएको छ। तर खनिज उत्खननबाट प्राप्त आम्दानी देशका सबै जनतामा समानरूपमा नपुगेको, विदेशी कम्पनीहरूको प्रभाव बढी भएको र उत्खनन हुने स्थानहरूमा वातावरणीय र सामाजिक समस्या देखिएको पाइन्छ।
बुर्किना फासोको सरकारले देशको आर्थिक चुनौतीहरूलाई समाधान गर्न र विकासलाई प्रवर्धन गर्नका लागि केही प्रमुख नीतिहरू लागू गरेको छ। तीमध्ये एक हो राज्य स्वामित्वका व्यवसायहरूको निजीकरण, जसले प्रतिस्पर्धा बढाउन, दक्षता सुधार गर्न र निजी क्षेत्रको विकासलाई प्रवर्धन गर्ने उद्देश्य राख्छ। सरकारले पूर्वाधारको विकासमा पनि ध्यान दिएको छ, जसमा सडक, पानी, सरसफाइ, ऊर्जा र सञ्चार जस्ता क्षेत्रहरूमा सुधार ल्याउनका लागि विभिन्न योजनाहरू र परियोजनाहरू अघि बढाइएका छन्। यसले दीर्घकालीन आर्थिक वृद्धिका लागि आधार तयार पार्ने अपेक्षा गरिएको छ। साथै, सरकारले विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले खानी र ऊर्जा क्षेत्रको लागि नियम र प्रक्रियाहरूलाई सरल बनाएको छ। यसले देशको खानी र ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
कृषिको उत्पादन क्षमता सुधार गर्नका लागि सरकारले कृषि क्षेत्रमा सुधार गर्दै कृषकहरूलाई नयाँ प्रविधि र पुँजी उपलब्ध गराउने काम गर्दैछ। कृषकहरूलाई सस्तो ऋण र कृषि उत्पादनको बजार पहुँच सुधार गर्नका लागि विभिन्न योजनाहरू लागू गरिएको छ। सरकारले विशेषगरी ग्रामीण क्षेत्रका मानिसहरूको लागि शिक्षा र सीप विकासमा लगानी गरिरहेको छ। जसले जनशक्तिको दक्षता र उत्पादन क्षमता बढाउने लक्ष्य राखेको छ। मुद्रास्फीति र मूल्य वृद्धिलाई नियन्त्रण गर्नका लागि, सरकारले मौद्रिक र वित्तीय नीतिहरूमा सुधार गर्दै महंगाइको दरलाई नियन्त्रणमा राख्नका लागि विभिन्न उपायहरू अपनाएको छ। साथै, गरीबी न्यूनीकरण र सामाजिक सुरक्षाका लागि सरकारले विभिन्न राहत र कल्याणकारी योजनाहरू पनि अघि बढाएको छ। जसले स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा सुधार ल्याउने प्रयास गरेको छ। यी सुधारहरूले दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ तर तिनको सफल कार्यान्वयन भने राजनीतिक स्थिरता र सामाजिक-आर्थिक सन्दर्भमा चुनौतिहरूसँग जुद्नु पर्छ।
स्वदेशमा बेरोजगारीको संख्या वृद्धि भएको कारण बुर्किना फासोका नागरिकहरू विदेशमा रोजगारको खोजीमा जाने गरेका छन्। तिनीहरू प्रायः पश्चिमी अफ्रिकाका अन्य देशहरू, खाडी मुलुकहरू जस्तै साउदी अरेबिया, कतार, युएई, र युरोपका देशहरू जान्छन्। यहाँका नागरिकहरू प्रायः निर्माण कार्य, घरेलु सेवा, र सेवा उद्योग जस्ता क्षेत्रमा काम गर्दछन्। युरोपमा विशेषगरी फ्रान्समा बुर्किना फासोका नागरिकहरूको ठूलो समुदाय बसोबास गर्दैछन्, जहाँ तिनीहरूले रोजगारका अवसर र स्थायी बसोबासका लागि अवसर पाएका छन्।बिदेशमा जानेहरुको क्रम बढेसंगै यहाँको सरकारले सन् २००० देखि दोहोरो नागरिकताको नीति अबलम्बन गरेको छ। कानुनले निर्धारण गरे अनुसारको अधिकार प्राप्त गर्न यहाको नागरिक अन्यत्र जहाँ बसे पनि उपभोग गर्न पाएका छन्।
बुर्किना फासोका राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरेलाई पनि सत्ताबाट हटाउने प्रयास गरिएको थियो। यो षड्यन्त्र २०२५ अप्रिल १६ मा राष्ट्रपतिको निवासमा आक्रमण गर्ने योजना सहितको थियो। जसमा केही पूर्व सैनिकहरू र आतंकवादी समूहहरू संलग्न थिए। सरकारले यो योजना असफल पारिएको घोषणा गरेको थियो ।यस षड्यन्त्रमा संलग्न व्यक्तिहरूले छिमेकी देश आइभोरी कोस्ट (Côte d’Ivoire) मा बसेर योजना बनाएको बताइएको छ। सरकारले केही पूर्व सैनिकहरूलाई षड्यन्त्रको मास्टरमाइन्डको रुपमा कमाण्डर जोआनी कम्पाओरे र लेफ्टिनेन्ट अब्द्रामाने बारी प्रमुख भूमिका रहेको बताएका छन् । यी व्यक्तिहरूले आतंकवादी समूहहरूसँग मिलेर सैनिकहरूलाई विद्रोह गर्न उक्साउने प्रयास गरेको आरोप लगाइएको छ। सरकारले षड्यन्त्रको सूचना प्राप्त गरेपछि केही सैनिक अधिकारीहरूलाई पक्राउ गरेको छ। यस घटनापछि राजधानी उआगाडुगु (Ouagadougou) मा हजारौं नागरिकहरूले राष्ट्रपति ट्राओरेको समर्थनमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीहरूले ट्राओरेको नेतृत्वको समर्थन गर्दै विदेशी हस्तक्षेपको विरोध गरेका थिए। राष्ट्रपतिले षड्यन्त्रमा संलग्न भनिएका उच्च सैनिक अधिकारीहरूलाई पक्राउ वा बर्खास्त गरेर सेनाभित्र आफ्नो नियन्त्रण बलियो बनाए। यस कदमले गुटबन्दी र असन्तुष्टि हटाउँदै वफादार सैनिकहरूलाई अगाडि ल्याउने बाटो खोल्यो। अहिले रास्ट्रपति युवापुस्ता र देशभक्त समूहहरूमा निकै लोकप्रिय हुँदै गएका छन् । उनले यो देशलाई कुन अवस्थामा पुर्याउने हो भविष्यले देखाउनेछ।
तर उनले हालै संसारलाई अफ्रिकाको बास्तबिकता बारे दिएको करिब नौ मिनेटको सन्देशलाई सुन्दा यसले परम्परागत विश्व राजनीतिमा उथलपुथल आउने बलियो संकेत भने स्पष्ट रुपमा देखिन्छ।
बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।