आङ्ल—गोरखा युद्धको कथा

(सन् १८१४ नोभेम्बर १ देखि १८१६ मार्च २ सम्म)

गोरखा साम्राज्यः
अठारौं शताब्दीको दोस्रो मध्यावधिबाट प्रारम्भ गरी उन्नाइसौं शताब्दीको दोस्रो दशक सम्ममा हिमवतखण्ड प्रदेशमा बृहत एवं विशाल गोरखा साम्राज्यको विधिवत स्थापना भइसकेको थियो । तैपनि काठमाडौँ राजदरबारका नायब बहादुर शाह तथा सेनापति अमर सिंह थापाको सरहद विस्तारको भोक मेटिएको थिएन । उनीहरू अन्य राजदरवारिया तथा सेनानायक गोरखा साम्राज्यको पश्चिम सरहद काश्मीर र अफगानिस्तानसम्म पुर्‍याउने सपना देखिराखेका थिए । हिमवतखण्डमा एउटा शक्तिशाली हिमाली राष्ट्रको निर्माण गर्ने कल्पना गरिराखेका थिए । सूर्य चन्द्र अङ्कित राष्ट्रिय झण्डा त्यस क्षेत्रमा फहराउन चाहन्थे ।
ईष्ट इण्डिया कम्पनीः
यो कम्पनी अङ्ग्रेज व्यापारीहरुको एउटा व्यापारिक संस्था थियो । बेलायत सरकारको अनुमतिबाट सन् १६०० को २४ अगष्टमा यस कम्पनीको पहिलो जहाज हिन्दुस्तानको गुजरात शहरको सुरत बन्दरगाहमा पुग्यो । क्याप्टेन हाकिन्सको कमाण्डमा सुरक्षाका लागि कम्पनीसंग आधुनिक हातहतियारका साथ प्रशिक्षित सैनिकहरु पनि थिए । १६ औं र १७ औं शताब्दीमा मसला, कपडा र रेशमको महत्वपूर्ण व्यापारिक केन्द्र सुरत शहर थियो । त्यस समयमा हिन्दुस्तानमा मुगलहरुको शासन व्यवस्था थियो । जस्को स्थापना १५२६ मा बादशाह बाबरले गरेका थिए । सन् १६१३ मा हिन्दुस्तानका बादशाह जहाँगिर थिए । त्यसै वर्ष उनले ईष्ट इण्डिया कम्पनीलाई सुरत शहरमा कारखाना खोल्न अनुमति दिए ।
सो कम्पनीले आफ्नो व्यापार प्रवर्धन र बिस्तार गर्नुका साथै सुरक्षाको नाममा सैन्य संगठनलाई सुदृढ पनि गर्दै थियो । त्यस समयमा मुगल शासकहरुको अवस्था ज्यादै कमजोर भैसकेको थियो । सन् १७५७ जुन २२ तारिखमा कम्पनी र पश्चिम बङ्गालको नवाबको फौजको बीचमा प्लासीको युद्ध मैदानमा घमासान लडाई भयो । त्यसपछि कम्पनीले हिन्दुस्तानको अधिकांश भूखण्डहरूमा आफ्नो व्यापार साम्राज्यवादी र औपनिवेशिक शासनको विस्तार गर्न सफलता प्राप्त गर्‍यो । उनीहरूको लक्ष्य हिमवतखण्ड प्रदेशको देवभूमिमा प्रवेश गर्नु थियो । त्यहाँबाट उनीहरू पनि काश्मीर र अफगानिस्तानसम्म आफ्नो राज्यको सरहद विस्तार गर्न इच्छुक थिए ।
तर त्यस समयमा हिमवतखण्ड प्रदेशको अधिकांश भूखण्डहरू माथि २५ वर्षदेखि गोरखा साम्राज्यको सशक्त सत्ता एवं आधिपत्य कायम थियो । यस देवभूमिको रक्षा र सुरक्षा गोरखा शासन व्यवस्थाले गरिराखेको थियो । यस्तो अवस्थामा अङ्ग्रेजहरूको विस्तार नीतिको अगाडि गोरखा साम्राज्य र गोरखा सैन्य संगठन एउटा अभेद्द र सुदृढ पर्खालको रूपमा उभिएको थियो । जसलाई सजिलैसँग भत्काउन अङ्ग्रेजहरूलाई ज्यादै गाह्रो थियो ।
अङ्ग्रेज फौजले भित्रभित्रै गोरखाको शासन सत्तालाई हिमवतखण्ड प्रदेशबाट विस्थापित गर्न युद्धको तयारी सुरु गरिसकेका थिए । त्यस्तै गोरखाली फौजले पनि हिमावतखण्ड प्रदेशको कतिपय सामरिक ठाउँहरूमा अङ्ग्रेज फौजको विरुद्ध लड्न मोर्चाबन्दी गर्न सुरु गरिसकेका थिए । तर अङ्ग्रेजहरूको फौजले यति छिटो गोरखाली साम्राज्य माथि हमला गर्नेछन् भन्ने सोचाई गोरखालीहरूको मनमा आएको थिएन । यसै पृष्ठभूमिमा आङ्ल गोरखा युद्ध भएको थियो । (सन् १८१४—१८१६)
युद्धको अवधिः
ईस्ट इन्डिया कम्पनी सरकारले युद्धको घोषणा नगर्दै जनरल जिलेस्पीको फौजले देहरादुन उपत्यकाको नजिक केरी घाँटीस्थित “गोरखा चौकी” माथि एक्कासी सन् १८१४ अक्टोबर २२ का दिन हमला गरिदिए । त्यस हमलाको १० दिन पछि सन् १८१४ नोभेम्बर १ को दिन बल्ल कम्पनीका गवर्नर जनरल लार्ड ह्यास्टिङले गोरखा साम्राज्य माथि हमला गर्ने विधिवत घोषणा गरे । जुन युद्धको प्रचलित नियम र नीतिको विरुद्ध थियो ।
आङ्ल—गोरखा युद्ध वास्तवमा दुई महाशक्तिहरूको महत्वाकांक्षीको लडाई थियो । दुवै महाशक्तिहरू आ—आफ्नो राज्यको सरहदको विस्तारका लागि परेका थिए । दुवै महाशक्तिहरूको बीचमा ठाउँ ठाउँमा घमासान एवं भीषण लडाई भयो तर कुनै पक्षको हार जित हुन सकेन । एउटा सन्धि सम्झौता भयो । भूराजनीति र केही आन्तरिक कारणले गर्दा नेपालले आफ्नो ठूलो भूभागहरु गुमाउनुपर्यो । भनिन्छ अमरसिंह थापा, रणजोर सिंह थापा र केही राजदरबारका भारदारहरू यस सन्धि सम्झौताको पक्षमा थिएनन् । तैपनि नेपाल सरकारको आधिकारिक दूत चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले लालमोहर सहितको स्वीकृत भएको सन्धिपत्र लिएर जनरल अक्टरलोनीलाई सन् १८१६ मार्च ३ तारिखमा बुझाइदिएका थिए ।
महत्वपूर्ण युद्धहरूः
अङग्रेज र गोरखाली फौजहरूको धेरै सामारिक ठाउँहरूमा भयङ्कर एवं भयावह लडाईहरु भए तर ती लडाईहरुमध्ये मुख्यत पाँच वटा लडाईहरूको निर्णायक भूमिका थियो । जुन यस प्रकार छन् ।

युद्ध क्षेत्रनेपाली कमाण्डरअंग्रेज कमाण्डर
पर्सा मकवानपुररणवीर सिंह थापाबेनट मार्ले
जितगढीउजीरसिंह थापाजोन सुलेमान उड
नालापानीबलभद्र कुँवररोलो जिलेस्पी
जैथकरणजोरसिंह थापाग्याब्रियल
मलाउँ, देउथलभक्ति थापाडेभिड अक्टरलोनी

अङ्ग्रेज गोरखा युद्धमा अङ्ग्रेजहरूको पाँच डिभिजन फौजहरू मध्ये तीन डिभिजन फौजलाई गोरखाली फौजले नराम्रोसँग तहसनहस पारिदिएको थियो । फलस्वरूप गोरखाली फौजले आफूलाई कहिले पनि हरुवा वा पराजित शक्ति ठान्दैन थिए । वास्तवमा एउटा सानो साधारण पहाडी राज्यको फौजले विश्वको शक्तिशाली साधन सम्पन्न तथा आधुनिक हातहतियारहरूबाट लैस र प्रशिक्षित अङ्ग्रेजहरूको फौजसँग एक्लै लड्नु भिड्नु ठूलो आँट साहस र हिम्मतको कुरा थियो ।
सैन्य सामग्रीहरूः
गोरखाली फौजलाई सीमित स्रोत साधनको भरमा लडाई लडनु पर्दथ्यो । हरेक कुरामा मितव्ययिता अपनाउनु पर्दथ्यो । उनीहरुसँग आधुनिक हातहतियारहरूको अभाव हुन्थ्यो । अतः पारम्परिक र घरेलु हात हतियारहरूको भरमा प्रायः उनीहरू युद्धस्थलमा लडाई गर्दथिए । समय समयमा गोरखा फौजले युद्धस्थलमा नयाँ नयाँ प्रयोग पनि गर्दथिए । एक पटक अरिङ्गालको गोला (विषालु किरा) माथि ढुंगा हानेर शत्रुलाई युद्धस्थलबाट धपाउन सफल भएका थिए । त्यस्तै एकपटक पहाडको टाकुराबाट ठूला ठूला ढुङ्गाहरू गुडाएर शत्रुलाई अघि बढ्नबाट रोकिदिएका थिए । तोपको पार्ट पुर्जाहरू डोकोमा बोकेर गोरखा सैनिकहरू रणभूमिमा पुग्दथिए । त्यही सो पार्ट पुर्जाहरू जोडेर तोप तयार गर्दथे । सोही तोपहरू चलाएर शत्रु माथि गोला हानेर कायल पार्दथिए । गोरखाली फौजसँग प्राय भरुवा बन्दुकहरू हुन्थ्यो । सो बन्दुकमा शीशा, बारुद गन्धक र कपासलाई खाँदेर भर्नु पर्दथियो । कपासले बारुदलाई सुरक्षित राख्दथ्यो । शीशाले गोलीको काम गर्दथ्यो । भरुवा बन्दुक पड्काए पछि रणस्थलमा सितिमिति दुश्मन बाँच्दैन थिए । त्यसैले युद्धभूमिमा गोरखालीको भरुवा बन्दुक देखेपछि दुश्मनहरु भागम भाग गर्ने गर्दथे ।
सैनिक पोशाकः
गोरखाली फौजसँग आधुनिक सैनिक पोशाकको ज्यादै अभाव थियो । जुत्ता, मोजा, बेल्ट पेटी, फेटा पगडी, टोपी आदिको अभाव हुन्थ्यो । कतिपय सैनिक रणस्थलमा नाङ्गै खुट्टा पनि लडाई गर्न पुग्दथे । सन् १८२५ मा जेम्स बेली फ्रेजरले गोरखा सैनिकको पोशाकको चित्र कोरेका थिए । हातहतियार अड्काउन दौरा, उकाली ओराली दौड्न सुरुवाल, खुकुरी, बारुद गोलीको थैली झुन्ड्याउन पटुका र टाउको छोप्न टोपी र फेटाको चित्र कोरेका थिए ।
ढुवानीः
गोरखाली फौजले प्रायः आफ्नो सैन्य सामग्रीहरू आफै बोकेर युद्धस्थलमा पुर्‍याउने गर्दथिए । तर स्थानीय गाउँलेहरूले पनि ढुवानी गरेर सहयोग र सहायता गर्ने गर्दथिए । जसलाई बेठ बेगार पनि भन्ने चलन थियो । रणस्थलबाट गोरखाली फौजले मागे जति सैन्य सामग्री प्रायः सैनिक सचिवालय काठमाडौँबाट समयमा र यथेस्ट मात्रामा आपूर्ति हुंदैन थियो भनेर गुनासो गर्दथे । अङ्ग्रेज फौजसँग सैन्य सामग्रीहरूको कुनै अभाव हुँदैन थियो । मागे जति सैन्य सामग्री र खाद्यान्न समयमा युद्धस्थलमा आपूर्ति गरिने व्यवस्था थियो । रङ्गी बिरङ्गी पोशाक, आकर्षक टोपी, जुत्ता, मोजा, स्कार्फ र फेटाहरूको कुनै कमी हुँदैनथ्यो । शक्तिशाली तोप, आधुनिक बन्दुक, तरवार, भाला, बन्चरो, गैंती बेल्चा, कोदालो र हथौडा आदि विभिन्न शहरहरुबाट झिकाएर अङ्ग्रेज फौजले जम्मा पार्दथिए ।
हल्का सैन्य सामग्री, खाद्यान्न, बाँसको भर्‍याङ (सिंढी) आदि भरियाहरूले बोकेर रणस्थलमा पुर्‍याई दिन्थ्यो । तोप र भारी भरकम सैन्य सामाग्रीहरु हात्तीले बोकेर युद्धस्थलमा लैजाने गर्दथियो । घोडसवार सैनिक दल, भान्से (कुक), सुचिकार (दर्जी), सार्की (जुत्ता सिलाउने), चिकित्सक टोली तथा भर्‍याङ्ग (सिंढी) आदि बोक्ने पाइनियर दल अङ्ग्रेज फौज सँगसँगै हुन्थ्यो । अङ्ग्रेज सरकारको फौज स्रोत साधन सम्पन्न तथा विशाल थियो । तर उनीहरू भन्दा गोरखाली फौजको मनोबल, ईच्छा शक्ति, साहस, आँट तथा धैर्यता धेरै माथि थियो । यसै सन्दर्भमा केही अङ्ग्रेज ईतिहासकारहरुले गोरखाली सैनिकहरूको युद्ध कला बारे यसरी लेखेको पाइन्छ ।

लेखक त्रिलोकसिंह थापामगर


युद्ध कलाः
गोरखाली सैनिकहरु पर्वतीय युद्धकलामा ज्यादै निपुण, कुशल र अनुभवी थिए । कप्तान हेरशीले गोरखाली सैनिकहरुको बारेमा यसरी टिप्पणी गरेको पाइन्छ । “गोरखाली फौज निडर र शत्रुको परवाह गर्दैनन् उनिहरु संधै प्रसन्न र हंसिलो रहन्छन् । उनिहरु कहिले पनि थाकेको वा विचलित भएको महसुस गर्दैनन् ।” वी.डी. सनवालले “नेपाल एण्ड ईस्ट इन्डिया कम्पनी“ भाग ५ मा गोरखालीहरुको शौर्यता बारे यसरी वर्णण गरेका छन् । “जनरल बेनर्टमाटले गोरखालीको खुकुरीको भयंकर मारकाट नहेरी सक्दा भयले युद्धभूमि देखि भागिकन लापता भए । एकजना अङ्ग्रेज इतिहासकारको भनाइ छ, कि ’अहिलेसम्म सुनेको थिएन । एउटा सेना नायक (जनरल) आफ्नो सैनिकहरुलाई युद्ध भूमिमा छाडीकन भागे तर यो पहिलो चोटी हो ।” (कर्नेल शमशेर बहादुर थापा, एैजन र पृष्ठ ४९)
ईष्ट इन्डिया कम्पनी सरकारको विशाल र साधन स्रोत सम्पन्न आधुनिक फौजलाई गोरखाली फौजको विरुद्ध लड्न ज्यादै हम्मेहम्मे पर्दथियो । अतः उनिहरुले समय समयमा छलकपट र कुटनीतिको सहारा लिएर गोरखाली फौजलाई पराजित गर्ने प्रयास गर्दथिए ।
धर्म युद्धः
गोरखाली फौजले पूर्णरुपमा युद्धका प्रचलित नियम र मान्यताहरुको पालना गर्दथिए । युद्धमा अनैतिक ढंगले शत्रुमाथि विजय गर्ने प्रयास गर्दैनथिए । युद्धस्थलबाट केही कमजोर मुटुका पलायन हुने भगौडा सिपाहीहरु माथि पछाडीबाट प्रहार गर्दैन थिए । घायल शत्रुको प्राथमिक उपचारमा सक्दो सहयोग र सहायता गर्ने गर्दथे । युद्धस्थलमा मृत्यु भएको शत्रुलाई ससम्मान सम्बन्धित निकायमा हस्तान्तरण गर्दथे । वास्तवमा गोरखाली फौज “धर्मयुद्ध” माथि प्रगाढ, अटल विश्वास र आस्था राख्दथे ।
यसै सन्दर्भमा युद्धका प्रत्यक्षदर्शी अङ्ग्रेज इतिहासकार जेम्स फ्रेजरले आफ्नो संस्मरणमा गोरखाली सैनिकहरूको बारे यसरी टिप्पणी गरेका छन् । “no cruelty to wounded or prisoners, no poison arrows were used, no sprit of revenge seemed to animate them, they fought us in fair conflict” (सन् १८२०)
अभिलेखहरुः
युद्धस्थलमा अङ्ग्रेज फौजसँग एकजना लेखक र एक जना चित्रकार सँगसँगै हुन्थ्यो । लेखकको काम युद्धस्थलको सम्पूर्ण घटनाहरूको बारेमा सूचना संकलन गर्नु पर्दथियो । सोही आधारमा अङ्ग्रेज इतिहासकारले दस्तावेज, गजेट, सरकारी राजपत्र, संस्मरण, डायरी, प्रतिवेदन र पुस्तक समेत तयार गर्ने गर्दथे । चित्रकारले युद्धको महत्वपूर्ण घटनाहरू बारेमा चित्रहरू कोर्ने काम गर्दथे । गोरखाली सैन्य संगठनमा युद्धस्थलको बारेमा जाहेरी, प्रतिवेदन, दस्तावेज, राजदरबारको आदेश, निर्देशन, विदेशीहरू सँगको चिठीपत्रको आदानप्रदान, ताम्रपत्र, स्मृति स्मारक, शिलालेख दन्त कथा र बुढापाकाहरूको मौखिक विवरणहरूमा आङ्ल—गोरखा युद्धको ऐतिहासिक दस्तावेजहरू तयार गर्ने चलन थियो । नेपाली लेखक र इतिहासकारहरूले सो युद्धको बारेमा सय वर्षपछि लेख्न सुरु गरेका थिए भनेर केही विद्वानहरूको भनाइ पाइन्छ । सन् १८१४ देखि १८१६ को आङ्ल—गोरखा युद्धको बारेमा अङ्ग्रेज, विदेशी इतिहासकार र लेखकहरूले रचना गरेको ऐतिहासिक साहित्यमा प्रायः औपनिवेशिक छाप देखिन्छ । उनीहरूको दृष्टिकोणको मात्र झलक पाइन्छ ।
आर्की फोर्ट (सन् १८०६)ः
बडाकाजी जनरल अमर सिंह थापा एक कुशल दूरदर्शी, अनुभवी सेनापति र प्रशासक थिए । राजदरवारले उनलाई महाकालीदेखि सतलज नदी पारीसम्म बिजित प्रदेशहरुका सर्वोच्च सैन्याधीश तथा प्रमुख प्रशासकीय पदमा नियूक्ति गरेको थियो (सन् १८०६ — १८१५) । सो अवधिमा उनि सपरिवार हिमाञ्चल प्रदेश, सोलन जिल्ला स्थित आर्की किल्लामा बसेका थिए । यो किल्ला सन् १७९५ देखि १७०० सम्मको बीचमा स्थानीय राजा पृथ्वी सिंहले निर्माण गर्न लगाएका थिए । त्यस समयमा यो किल्ला ज्यादै प्रसिद्ध थियो । सो किल्ला माथी सन् १८०६मा गोरखाली फौजले आफ्नो अधिपत्य कायम गर्न सफल भएको थियो । फलस्वरुप जनरल अमर सिंह थापाले यस किल्लामा आफ्नो सैन्य र प्रशासकीय सचिवालय स्थापना गरे । यसै किल्लाबाट कांगडा, गढवाल, कुमायू, अलमोडा र देहरादुन राज्यहरुमा सुरक्षा प्रबन्ध, प्रशासन र राज्यकार्य संचालन गर्दथिए ।
आज भोलि पनि सो किल्लाको घर धनीले जनरल अमर सिंह थापाको नाममा एउटा कोठा छुट्याएर राखेको छ । सो कोठाको नाम “अमर सिंह थापा कोठा” राखिएको छ । त्यस कोठामा अमर सिंह थापाको केही हात हतियार, केही ऐतिहासिक मालसामानहरुको प्रदर्शन पनि गरिएको पाइन्छ । यसरी जनरल अमर सिंह थापाको सम्मान र सस्मरण गरिएको बुझिन्छ ।
वास्तवमा त्यस समय र भेगमा जनरल अमर सिंह थापा “मुकुट बिहिन राजा” को नामले प्रख्यात थिए । स्थानीय जनताले उनलाई आफ्नो सच्चा हितैषी, सरंक्षक र राजाको रुपमा मान्दथिए । आज पनि केही स्थानीय बुडापाकाहरुले हाम्रो राजा जनरल अमर सिंह थापा थिए भनेर भन्न संकोच मान्दैन । गर्वका साथ भन्दछन् । वडाकाजी अमर सिंह थापाले आर्की फोर्टको प्राङ्गणमा एउटा टक्सार खोेलेर श्री ५ गीर्वाण युद्धको नाममा चाँदीको टकहरु (रुपैयाँ) ढाल्ने प्रयास गरेका थिए । तर प्रधानमन्त्री भिमसेन थापाले रोकी दिए । सम्भवत आर्थिक अभावले गर्दा यो निर्णय लिनु परेको थियो ।
आर्की किल्लाबाट सेनापति अमर सिंह थापाले किल्ला काँगडालाई चार वर्ष (सन् १८०५—१८०९) सम्म आफ्नो घेराबन्दीमा राख्न सफल भएका थिए । सो किल्ला माथि विजय प्राप्त गर्न सकियो भने सजिलैसंग काश्मीर राज्यमा नेपाली झण्डा फहराउन सकिन्छ भन्ने उनको विश्वास थियो ।
दुवै फौजको शक्तिः
नालापानी खलंगाको युद्धको समयमा गोरखाली सैनिक, उनका परिवार र बालबालिका गरी जम्मा ६०० जना जति मात्र थिए । अङ्ग्रेजहरुको संख्या झण्डै ३५०० जति थियो । अनुभवी र लडाका गोरखाली सैनिकहरु हिमवत खण्ड प्रदेशका विभिन्न सामरिक र सुरक्षा चेकपोष्टहरुमा खटिएका थिए । यसरी गोरखाली फौजको रक्षा शक्ति चारैतिर छरिएको थियो । अङ्ग्रेज फौजसंग शक्तिशाली तोप, आधुनिक बन्दुक, गोलीगट्ठा, बारुद, हाती, घोडसवार सैनिकहरु थिए । गोरखाली फौजलाई घरेलु हातहतियारहरु चलाएर युद्ध गर्नु पर्दथियो । उनिहरुसंग अङ्ग्रेज फौजको तुलनामा ज्यादै सीमित श्रोत र साधनहरु थिए ।
अतः देहरादुनका समतल र मैदानी युद्ध भूमिमा लडाई गरेर अङ्ग्रेज फौजलाई जित्न ज्यादै गाह्रो हुन्छ भन्ने सोचाई अमर सिंह थापाको थियो । तर पर्वतीय भूमिमा अङ्ग्रेज फौजले गोरखाली फौजको मुकाबिला गर्न सक्दैन भन्ने उन्को ठम्याई थियो । गोरखाली फौज पर्वतीय युद्ध, छापामार युद्ध, पासो थाप्ने कलामा ज्यादै शिपालु र पोख्त थिए । आमने सामनेको लडाईँमा पनि गोरखालीलाई अङ्ग्रेजले कायल पार्न सक्दैन थिए । यसै कारणले गर्दा अङ्ग्रेज फौजलाई युद्ध गर्नका लागि पहाडी युद्ध स्थलमा ल्याउनु पर्छ भन्ने उनको रणनीति थियो ।
नालापानी गढीः
जनरल अमर सिंह थापाले आदिवासी मगर जनजातीको पल्टन श्री पुरानो गोरख गणको गणपति (कमाण्डर) कप्तान बलभद्र कुंवरलाई खलंगा गाऊंमा स्थित एउटा पुरानो भत्केको ऐतिहासिक गढीलाई गोरखा किल्लामा परिवर्तन र निर्माण गर्न जिम्मा लगाए । गोरखाली फौजले हतार हतारमा सो किल्लाको निर्माण कार्य सम्पन्न गरे । सोही किल्लाबाट अङ्ग्रेज फौजको विरुद्ध मोर्चाबन्दी गर्न कप्तान बलभद्र कुंवरलाई आदेश पनि दिए ।
मोर्चाबन्दी गर्ने पल्टनहरुः
त्यसबेला कप्तान बलभद्र कुंवरको कमाण्डमा श्री पुरानो गोरख गण, बरख, काली दल तथा शार्दुल जंग कम्पनीका सैनिकहरु किल्लाका सुरक्षाका लागि खटिएका थिए । सो मध्ये श्री पुरानो गोरख गण पल्टनको मगर सैनिकहरुको संख्या तुलनात्मक रुपमा बढी थिए । सन् १७६३ (वि.सं. १८१५ फागुन १० गते) पृथ्वीनारायण शाहले गोरखा राज्यको एकीकरण अभियानमा यस मगर पल्टनको स्थापना गरेका थिए । नाथ सम्प्रदायका महागुरु बाबा गोरखनाथको सम्मानमा यस पल्टनको नामाकरण गरिएको थियो । नालापानी युद्धका प्रत्यक्षदर्शी इतिहासकार बैनिस्ट्रार्टले आफ्नो संस्मरणमा यसरी उल्लेख गरेको छ । (“यसमा अधिकांश सैनिक श्री पुरानो गोरख गण पल्टनका मगरहरु थिए ।” पृष्ठ ३२, बालचन्द्र शर्मा “नेपालको ऐतिहासिक रुपरेखा” पृष्ठ २५६, वाराणसी (बि.सं. २००८/ई.सं. १९५२)
हिमवत खण्ड प्रदेशमा कम्पनी सरकार (सन् १८१४)ः
ईष्ट इण्डिया कम्पनी सरकार अब हिमवत खण्ड प्रदेशमा आफ्नो व्यापार र शासनको बिस्तार गर्न गराउन ईच्छुक थियो । यसै क्रममा सबभन्दा पहिले नेपालको व्यापारिक बाटोघाटो भएर उनिहरु तिब्बत, भोट र चीन सम्म पुग्न चाहन्थे । त्यहाँ नुन, सुन, ऊन र जडिबुटीको व्यापार गरेर नाफा कमाउन चाहन्थे । तर चलाख, चतुर र बाठा अङ्ग्रेज व्यापारीलाई नेपालको बाटो भएर तिब्बत, भोट र चीन व्यापार गर्न जाने अनुमति दिन राजदरवारले आलटाल गर्न थाल्यो । अनि उनिहरु नेपाल सरकार संग ज्यादै रिसाएका थिए ।
बैकल्पिक बाटोः
त्यसपछि अङ्ग्रेज व्यापारीहरुले तिब्बत, भोट र चीनसम्म पुग्नको लागि बैकल्पिक बाटोघाटोहरुको खोजी गर्न थाले । यसै क्रममा सन् १८१४ को अक्टुवर महिनामा देहरादुन राज्यको दक्षिण सरहदमा केही अङ्ग्रेज सैन्य अधिकारी र गुप्तचरहरु संदिग्ध अवस्थामा देखा परे । उनीहरु देहरादुन, कुमायू, गढवाल र अलमोडा राज्यहरुको भौगोलिक, सामरिक, राजनितिक, सामाजिक र साँस्कृतिक वस्तुस्थिति बारेमा सूचना संकलन गर्दै थिए । साथै गोरखा शासन सत्ताको बारेमा पनि जानकारीहरु बटुल्दै थिए । गोरखाली फौजका बारेमा सोधखोज गर्दै थिए ।
त्यस समय त्यस भेगका स्थानीय व्यापारीहरु तिब्बत, भोट र चीनसम्म व्यापार गर्न जानका लागि कुमायू, गढवाल अलमोडा भएर जाने गर्दथिए । बाटो घाटो पनि सुगम र फराकिलो थियो । अतः अङ्ग्रेज व्यापारीहरुले पनि सोही व्यापारिक मार्गहरुबाट आवतजावत गर्ने निधो गरे ।
गोरखा शासनः
कुमाऊ, गढवाल र देहरादुनको अधिकांश भूभागहरुमा बृहद एवं विशाल गोरखा साम्राज्यको सुदृढ एवं शक्तिशाली शासन व्यवस्था थियो । अतः यो देवभूमिमा अङ्ग्रेज सरकारको अनाधिकृत अतिक्रमण, प्रवेश र बिस्तार कुनै पनि अवस्थामा गोरखा साम्राज्य र शासन व्यवस्थालाई मान्य थिएन । यस देवभूमिमा अङ्ग्रेजहरुको प्रवेशलाई रोक्न उनिहरु दृढ संकल्प थिए । साथै सम्पूर्ण भारतीय भूमिबाट पनि अङ्ग्रेजहरुलाई लखेट्न गोरखाली सेनाका सेना नायकहरुको दूरगामी रणनीति थियो । सधैंको लागि यस भूमिबाट अङ्ग्रेजहरुलाई धपाउन चाहन्थे । उता हिमवत खण्ड प्रदेशबाट जब सम्म गोरखालीहरुको शासन सत्ता र अधिपत्यलाई हटाउन सकिदैन तबसम्म तिब्बत, भोट र चीन सम्म पुग्न सकिदैन । साथै उनिहरु संग व्यापार गरेर नाफा कमाउन पनि सकिदैन । अङ्ग्रेज व्यापारीहरुको यस्तो सोचाई थियो । वास्तवमा गोरखालीहरु अङ्ग्रेजहरुको पहिलो दुश्मन थिए । फलस्वरुप गोरखालीहरुलाई हिमवतखण्ड प्रदेशबाट बिस्थापित गर्ने योजना बनाउन थाले ।
हिमवत खण्डको आकर्षण :
कम्पनी सरकारका निजामती र सैन्य अधिकारीहरुलाई तराई, मैदानी इलाकाका गर्मी, तातो हावापानी, मौसम र औलो मलेरियाको प्रकोपले गर्दा जीवनको आयू छोटो हुन सक्छ भन्ने त्रास, भय, डरले पनि सताई राखेको थियो । उनिहरुलाई यस प्रदेशको बेलायत जस्तै शीतल हावापानी, मौसम, शान्त, सुन्दर प्राकृतिक सौन्दर्यता र आकर्षक पर्यावरणले मोहनी लगाई सकेको थियो । उनीहरु यस भूमिमा सकेसम्म छिटो आफ्नो पाइला राख्न ईच्छुक थिए ।
यस प्रदेशको बहुमुल्य प्राकृतिक सम्पदाहरु जस्तो खनिज पदार्थ, बाक्लो घना जंगल, दुर्लभ र उपयोगी जडिबुटी, जंगली हिंस्रक जनावरहरुको बथान तथा खोलानाला छहराबाट उनिहरु ज्यादै आकर्षित थिए । यस प्राकृतिक सम्पदाको उपयोग गरेर आर्थिक लाभ उठाउन सकिन्छ भन्ने उनीहरुको सोचाई थियो । यस्का साथै यस प्रदेशका सोझा, सिधा, सादा, मेहनती, बहादुर र हँसिलो चम्किलो अनुहार भएका पहाडी समुदायबाट अंग्रेजहरु ज्यादै प्रभावित थिए ।
शासनको विस्तार :
यस प्रदेशमा आफ्नो शासन कायम गरेपछि सम्पूर्ण हिमवत खण्डमा आफ्नो व्यापार र शासन सत्ता फैलाउन सकिन्छ । साथै यो भूमिमा टेकेर पंजाव हुंदै काश्मीर र अफगानिस्तान सम्म यूनियन जैकको झण्डा (बेलायत सरकारको झण्डा) फहराउन सकिन्छ भन्ने अङ्ग्रेज शासक र सैन्य अधिकारीहरुको निष्कर्श थियो ।
त्यसै समयमा गोरखाली शासकहरुले अङ्ग्रेज साम्राज्यको विरुद्ध विरोध गर्न स्थानीय राजा र रजवाडाहरुलाई एकतावद्ध र संगठित गर्ने पहल गर्दै थिए । यस पहलबाट उनिहरु गोरखालीहरुको गतिविधीबाट ज्यादै संशकित थ्एि । समयमा यस्तो पहल र गतिविधीहरुलाई रोक्न सकिएन भने अङ्ग्रेज सरकारलाई ठूलो हानी नोक्सानी हुन सक्छ भन्ने उनिहरुको विश्लेषण थियो ।
अङ्ग्रेजको कुटनैतिक पहल :
सबभन्दा पहिले अङ्ग्रेज सैन्य अधिकारीहरुले कुमाऊ र गढवाल राज्यका पूर्व राजवंश र दरवारियाहरुको केही उत्तराधिकारी सन्ततीहरुसंग गोप्य सम्पर्क र सम्बन्ध कायम गर्न थाले । उनिहरुसंग गोरखाली शासन व्यवस्थालाई हटाउन मद्दत र सहयोग माग्न थाले । पूर्व राजवंशका सन्तति र उत्तराधिकारीहरुले पनि फेरि राज्य सत्ताको सुखचैन, मौजमस्ती र सत्ताको उपभोग गर्न पाइन्छ भन्ने आशामा अङ्ग्रेजहरुलाई गोरखा राज्य माथि हमला गर्न उक्साउन थाले ।
पानीको लडाईं :
यसै पृष्ठभूमिमा अङ्ग्रेज र गोरखाली फौजको बीचमा देहरादुन खलंंगा गाऊंंको नालापानी स्थलमा भयावह र भयङकर लडाई भयो । सो युद्धमा गोरखालीहरुको शौर्यता, साहस र बीरताको गाथा र कथा विश्वभरि फैलियो । अङ्ग्रेज—गोरखा युद्धको यो सबभन्दा लामो युद्ध थियो । जुन सन् १८१४ अक्टुवर ३१ देखि नोभेम्बर ३० तारिख सम्म जम्मा १ महिनासम्म चल्यो । तैपनि दुवै पक्षको हारजीत हुन सकेन । न त गोरखाली हारे न त अङ्ग्रेजले नै जिते ।
वास्तवमा यो आमने सामने र हात हतियारको लडाई भन्दा पनि पानीको लडाई थियो । खानेपानी नपाएर गोरखालीहरु नालापानी किल्लालाई आफै छोडेर जानु पर्‍यो । किल्लालाई खाली गरे । तव मात्र अङ्ग्रेजहरु यस किल्ला भित्र पस्न पाए ।
निष्कर्शः

युवा लेखकहरुले गोरखालीको २५० वर्ष पहिलेको पुर्वजहरुको गाथा र कथाहरुको बारेमा फेरि एक पटक पुर्नलेखन गर्नुपर्ने प्रयास गर्नु पर्दछ । अनि भावी पुस्तालाई हाम्रो पुर्खाको बारेमा जानकारी हुनेछ ।

त्रिलोकसिंह थापामगर

नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री