
बर्सेनि नेपालमा मनसुन सक्रिय भएर आउँछ । यसले बाढी पहिरो निम्त्याउँछ र सयौं जनाको ज्यान लिन्छ, बस्तीहरु डुबानमा पार्छ, सडकहरू अवरुद्ध पार्छ, अर्बौंको भौतिक नोक्सानी गरेर जान्छ ।
यसै सिलसिलामा राजधानी काठमाडौँ पनि अछुतो रहन सक्दैन । मनसुन सिजनमा बागमती, मनोहरा, धोबी खोला, विष्णुमतीलगायत नदीका तटीय बस्ती डुबानमा पर्छन् । यी नदीमा खस्ने ढलको मुख बाढीले अवरुद्ध हुँदा तटीय क्षेत्रभन्दा अलि परका सडक तथा घरहरू पनि प्रभावित बन्छन् । फलस्वरुप तटीय क्षेत्रमा बस्ने सर्वसाधारणको जनजीवन कष्टपूर्ण बन्न जान्छ । दिनभर यातायातका साधन सञ्चालनमा आउन सक्दैनन् । कर्मचारी काममा जान बाधा पैदा हुन्छ । विद्यार्थी स्कुल जान पाउँदैनन् । व्यापार ठप्प हुन्छ ।
काठमाडौँका नदीका स्रोत हिमाल होइनन्, वरिपरिका पहाड र यसका जलाधार क्षेत्र हुन् । त्यसर्थ यहाँका नदीहरू सानादेखि मझौलास्तरका छन् । बागमतीलाई मझौला नदी र यसका सहायक नदीहरूलाई साना नदीमा वर्गीकरण गर्न सकिन्छ । यस्ता स-साना नदीमा बाढी आएर वरिपरिका बस्ती डुबानमा पर्दा सर्वसाधारणलाई अस्वाभाविक लाग्न सक्छ । आजकल यी नदीहरूमा ‘आकस्मिक बाढी’ (Flash Flood) देखिन थालेको छ । विशेषतः पछिल्लो दशकयता जल प्रणालीमा गरिएको व्यापक परिवर्तनले बाढीलाई झन्–झन् भीषण बनाइरहेको छ र चुनौतीहरू पनि क्रमश: थपिँदा छन् ।
साधारणतः बाढी पहिरो आउनुको प्रमुख कारण अतिवृष्टिलाई मानिन्छ । जलवायु परिवर्तनको प्रभावले गर्दा अतिवृष्टि हुन्छ भनेर त वैज्ञानिकहरू भनिरहेका छन् । यद्यपि काठमाडौँमा अतिवृष्टि नभएर मध्यमस्तरको वृष्टि हुँदा पनि नदीहरूमा बाढी आउँछ र सहर बजार डुबानमा पर्न थालेको छ ।
काठमाडौँमा आउने बाढीको प्रमुख कारण वर्षापात नै भए पनि त्यसका अन्य कारण पनि छन् । ती अतिरिक्त कारणमाथि सामान्य चर्चा गरिनु यस लेखको मुख्य आशय हो ।
काठमाडौंमा आउने यस्ता बाढीहरू मानव सिर्जित छन् । अव्यवस्थित विकास–निर्माण, अव्यवस्थित सहर विस्तार एवं जलविज्ञानको गम्भीरताप्रति बेवास्ताका कारण काठमाडौं बर्सेनि डुब्दै र उत्रँदै आएको देखिन्छ ।
काठमाडौँ वरिपरिका पहाडका भिरालो जग्गामा प्लटिङ गरिएका छन् । ती प्लटिङ नाङ्गै राखिएका छन् । डाँडाकाँडामा डोजरले खनेर सडक निर्माणका परियोजना पनि चलाई राखिएका छन् । ट्र्याक्टरले खनेर खेतीपाती गर्ने बानीको विकास तीव्ररूपमा भएको देखिन्छ । साथै, भवन निर्माण कार्य पनि युद्धस्तरमै चलेका छन् । यस्ता गतिविधिहरूमा गिट्टी, माटो, बालुवा उत्खनन गरिने, उदाङ्गै पारिने, थुपारिने र प्रयोग गर्ने गरिन्छ ।
काठमाडौं आज पनि नवनिर्माण एवं पुनर्निमाणकै चरणमा छ । भुइँचालोपश्चात् पुनर्निमाण तीव्र गतिमा भएका छन्, नदी करिडोरलाई हरियो बनाउने नाममा कंक्रिटका पार्कहरूको निर्माण पनि जोडतोडले बढेको छ । यी यस्ता संरचना निर्माण गर्दा उत्पन्न हुने इट्टा, कङ्क्रिट, माटो, ढुङ्गा जस्ता फोहोर पनि सिधै नदीमा या नदी किनारमा लगेर थुपारिएको पाइन्छ । यस्ता वस्तुबाट सिर्जित लेदो वर्षायाममा पानीले बगाएर नदीमा थुपारेको छ । जसको कारणले नदी गेग्र्यानीकरण (siltation) भएको छ । नदीको आयतन खुम्चिनुमा गेग्र्यानीकरणको मुख्य भूमिका हुन्छ ।
अर्कोतर्फ, तटीय क्षेत्र अतिक्रमण गरेर भवन निर्माण गरिनाले पनि नदीको आयतन दिनानुदिन साँघुरिँदै गएको छ । प्राय: काठमाडौँका सबै नदीमा तटबन्धन गरिएको छ र कतिमा गरिँदै छ । बाढी न्यूनीकरणका यस्ता इन्जिनियरिङ कार्य जलवायु परिवर्तनको जोखिम मूल्याङ्कन नगरीकन सम्पन्न गरिएको जस्तो देखिन्छ । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने मापदण्ड पुरा गरेर निर्माण गरिएको भए नदीका दुई किनारमा यति साँघुरा पर्खाल उठाइने थिएनन् होला ।
काठमाडौँको ढल सिधै नदीमा मिसाउनाले पनि नदीको आयतन घटनमा यसले भूमिका खेलेको छ। अप्रशोधित ढलमा तरलको साथै ठोस पदार्थ पनि अत्यधिक मात्रामा हुन्छ । यस्तो ढल नदीमा विसर्जन गरिदा ठोस मात्राको एकत्रीकरणले नदी विस्तारै पुरिँदै गएको छ ।
यसको साथै नदीमा प्लास्टिक तथा सिमेन्टका ब्याग, पुराना कपडा, गुट्का, सुर्ती, चाउचाउ, चिप्सका खोल, पानीका बोतल जस्ता फोहर पनि मिल्क्याइको पाइन्छ । यो पङ्क्तिकारले काठमाडौँ वरिपरिका डाँडाकाँडा र नदी किनार भएर केही पदयात्रा गरेको छ । सोही क्रममा सडकलाई कङ्क्रिटिङ गरेपछि सिमेन्टका खालि बोरा खोल्सातिर फालेको देखेको छ । यस्ता फोहरमैलाले पनि नदीको पिँधलाई पुर्ने काम गरेको हुन्छ ।
यसर्थ, जलवायु परिवर्तन मात्रै नभै स्थानीयस्तरमा माथि उल्लेखित मानव सिर्जित क्रियाकलापले पनि काठमाडौँ डुबानमा पर्ने गरेको छ । यसको निवारणको लागि तत्काल उचित कदम चालिहाल्नु पर्ने देखिन्छ । अन्यथा, यस्तो प्रकोप काठमाडौँमा आउँदा वर्षहरूमा पटकपटक दोहरिन सक्दछ । काठमाडौं, ललितपुर र भक्तपुरकाको मुख्य राजमार्ग एवम् सहायक राजमार्ग, गोरेटाहरू जलमग्न हुँदा घण्टौंसम्म सवारी आवागमन प्रभावित भइरहने घटनाहरूमा वृद्धि हुन् सक्दछ । नदी बग्ने जमीनमै भवन उभ्याइदा थप समस्याहरू निम्तिन सक्ने सूचकहरू प्रष्टै देखिन थालेका छन् ।
काठमाडौँमा बाढी र डुबानलाई न्यूनीकरण गर्न थुप्रै उपायहरू छन् । ढल प्रशोधन गरि त्यसमा भएको ठोस पदार्थलाई छानेर निकाल्ने र तरल पदार्थलाई मात्र नदीमा विसर्जन गर्नुपर्ने हुन्छ । गिट्टी, बालुवा, माटो जस्ता वस्तु नदीनालामा नपसुन् भनेर यसको स्रोतमै रोकथामका योजना कार्यान्वयनमा ल्याइनुपर्छ । निर्माणकार्यजन्य फोहरमैला विसर्जनको लागि पनि छुट्टै ल्याण्डफिल साइटको व्यवस्था गरिन पर्छ । नदीमा थुप्रिएको गेग्र्यानलाई बेलाबेलामा निकालेर फाल्ने (De-silting) पनि गर्नुपर्छ । यसका साथै जलवायु परिवर्तन र यसबाट सिर्जित बाढीको जोखिम मूल्याङ्कन गरेर तटबन्धन निर्माण गरिन पर्छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित