मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: ०९:३५ | UK Time: 04:50

उच्च रक्तचाप, उच्च जोखिम

वीनेपाली
२०७१ पुष २० गते १५:१३

265417_10150241950363963_541360_o

रक्तचाप भनेको के हो ?
मुटुले रगत पम्प गरी शरीरभरि पठाउँदछ । रक्तचापले हाम्रो ब्लड भेसलमा बल उत्पादन गर्दछ । हाम्रो मुटुले आर्टरीहरु मार्फत सम्पर्क गरि बल पैदा गर्छ अनि हाम्रो रक्तचाप बढ्छ, जसलाई सिस्टोलिक प्रेसर भनिन्छ । जब मुटु आराम गर्दछ र हाम्रो रक्तचाप कम हुन्छ, यसलाई डायस्टोलिक प्रेसर भनिन्छ । रक्तचाप प्राय: सिस्टोलिक प्रेसर माथि डायस्टोलिक प्रेसर लेखिन्छ, जस्तै ११०/७५ (एमएमएचजी) या मिलिमिटर्स अफ मर्करी (एमएमएचजी) चाहिँ रक्तचाप नाप्ने युनिट हो । सिस्टोलिक प्रेसर ९० देखि २४० मा रहन्छ भने डायस्टोलिक प्रेसर ६० देखि १४० मा रहन्छ । प्रत्येक व्यक्तिको फरक रक्तचाप हुन्छ र उही व्यक्तिमा पनि दिनमा र रातमा फरक हुन सक्छ । साथै धेरै आतुरी गर्दा वा व्यायाम गर्दा अस्थायी रूपमा रक्तचाप बढ्न सक्छ ।

उच्च रक्तचाप रोकथाम किन महत्त्वपूर्ण छ ?

उच्च रक्तचापले भविष्यमा हुन सक्ने स्ट्रोक, हृदयघातलाई बढाउँछ । उच्च रक्तचापले होस हराउने रोग (डिमेन्सिया) , मृगौला रोग र रक्त कोषिकाको रोग लाग्ने जोखिमको महत्त्वपूर्ण भूमिका खेल्छ । यदि तपाईंलाई उच्च रक्तचाप छ भने त्यसलाई कम गर्न जीवनशैली परिवर्तन गरी औषधी सेवन गर्नुपर्छ, जसले गर्दा माथि भनिएका रोगका जोखिमलाई कम गर्दछ । तर, सुरुमा नै उच्च रक्तचापको विकास हुन नदिनु बुद्धिमानी हुन्छ । यदि तपाईंलाई उच्च रक्तचाप छैन तर अली बढी रक्तचाप छ भने भविष्यमा स्ट्रोक या मुटुरोगको जोखिम बढ्ने सम्भावना प्रबल रहन्छ । उदाहरणको लागि कसैको रक्तचाप १३५/८५ छ भने दुई गुना बढी स्ट्रोक या हृदयघात हुने सम्भावना रहन्छ,  रक्तचाप ११५/७५ हुनेको भन्दा  । यद्यपी दुवैलाई अहिले उच्च रक्तचाप भएको भन्ने छैन । यसको मतलव के हो भने जति कम रक्तचाप छ, कम नै जोखिम हुन्छ अर्थात् मुटुरोग, स्ट्रोक र अरू रोग लाग्ने सम्भावना कम हुन्छ । जति उमेर बढ्दै जान्छ उति नै उच्च रक्तचाप हुने र उपर्युक्त रोगको जोखिम पनि बढ्छ ।

अहिले कम रक्तचाप छ भने भविष्यमा उच्च रक्तचाप हुने सम्भावना कम हुन्छ । जस्तै बेलायतमा ५ मध्ये १ जनालाई बीस वर्षको उमेर समूहमा उच्च रक्तचाप छ, जव उनीहरू ४० वर्षको उमेर समूहमा पुग्दछन्, प्रत्येक पाँच जनामा दुई जनालाई उच्च रक्तचाप हुन्छ र साठीको उमेर समूहमा पुग्दा पाँच जना मध्ये तीन जनालाई उच्च रक्तचाप हुन्छ । अहिले रक्तचाप कम गर्न पहल गरेमा, उमेर बढ्दै जाँदा उच्च रक्तचाप हुने सम्भावना कम हुन्छ । यसको मतलब समयमा विचार पुर्‍याउन सके न उच्च रक्तचापको सामना गर्नुपर्छ न त औषधी खानुपर्ने जरुरी हुन्छ । परिवारको इतिहासमा रक्तचाप उच्च छ भने पनि उच्च रक्तचापको विकास हुने नै भन्ने चाहिँ होइन । जुन मान्छेलाई उच्च रक्तचाप छैन भने कम गर्ने औषधी खाएर साधारणया रक्तचाप कम गर्न कुनै फाइदा हुदैन । यदि मधुमेह, मुटु तथा मृगौलाको रोग छ या स्ट्रोक भएको छ भने औषधी खानुपर्ने हुनसक्छ यद्यपि उच्च रक्तचाप छैन भने पनि किनभने रक्तचाप संभव भए सम्म कम हुनुपर्ने महत्त्वपूर्ण कुरा हो ।
रक्तचाप कम गर्ने कुनै परिवर्तन गर्न कहिल्यै पनि चाडै या ढिलो हुदैन–खानामा ध्यान र जीवनशैली परिवर्तन गरेर उच्च रक्तचाप र अरू रोगको जोखिमलाई कम गर्न सकिन्छ ।

कसलाई उच्च रक्तचापको जोखिम बढी हुन सक्छ ?

रक्तचाप उमेरअनुसार बढ्ने हुन्छ, त्यसैले जति उमेर बढी भयो उति नै बढी उच्च रक्तचाप हुन सक्छ । केही जातीय समुदायका मान्छेहरूमा खास गरी एफ्रो क्यारेबियन र दक्षिण एशियालीलाई स्ट्रोक र हृदयघात हुने जोखिम बढी रहन्छ । त्यसैकारणले एफ्रो क्यारिवियन र दक्षिण एशियाका मान्छेहरूले उच्च रक्तचाप कम गर्न सम्भव भएसम्म कम उमेरदेखि उपायहरू अपनाउनु पर्दछ ।
यदि तपाईंलाई मधुमेह या मृगौला सम्बन्धी रोग, स्ट्रोक या हृदयघात भएको छ भने रक्तचाप कम गर्ने उपाय जानकारी राख्नु महत्त्वपूर्ण हुन्छ, यसको लागि रक्तचापको नम्बर थाह पाउनु पर्दछ र सम्भव भएसम्म रक्तचाप कम हुनुपर्दछ ।

रक्तचाप कति हुनु पर्दछ ?
तलको तालिकामा रक्तचाप, यसको मानेर के गर्नु पर्छ भन्ने देखाइएको छ । अनुसन्धानबाट प्रष्टिएको छ कि उपयुक्त उक्तचाप ११५/७५ या कमको लेभलमा हुनुपर्दछ । उच्च रक्तचाप (जसलाई हाइपरटेन्सन पनि भनिन्छ) भएको मानिन्छ जसको रक्तचाप विभिन्न समयहरूमा रक्तचाप नाप गर्दा १४०/९० या यो भन्दा बढी भएमा ।
यसको मतलव हुन्छ कि या सिस्टोलिक प्रेसर सवै १४० मा बढी रहन्छ अथवा डायस्टोलिक प्रेसर सधै ९० मा बढी रहन्छ । यो लेभलमा बढेको छ भने उच्च रक्तचापले शरीरका धमनी हरु र ब्लड भेसल लाई नोक्सान पुर्‍याउँदछ । यिनीहरू साँघुरो बन्दछन् र यसले मुटु र दिमाग लाई नोक्सान पुर्‍याउछ । उच्च रक्तचाप होस या नहोस् रक्तचाप जति कम गर्न सकिन्छ उति नै नोक्सान हुने जोखिम कम हुन्छ ।

 उच्च रक्तचापलाई कसरी रोकथाम गर्ने ?

१) आफ्नो नम्बर थाह पाऔं: बेलायतमा ३ जना मध्ये १ जनालाई उच्च रक्तचाप छ तर तिनीहरूमध्ये ३३% लाई उच्च रक्तचाप भएको थाहै छैन किनभने रक्तचाप बढेको धेरै मान्छेहरुमा कुनै लक्षणहरू हुँदैन (ज्यादै धेरै भएमा मात्रै थाहा हुन्छ), यसकारण यो “मौन घातक” भनेर परिचित छ । उच्च रक्तचाप हँदा मान्छेहरू बिरामी हुदैनन् । उनीहरूको दिनचर्या वर्षौसम्म उस्तै रहिरहन्छ र पत्तै नपाइकन बसिरहन्छन् जब स्ट्रोक या हृदयघात हुन्छ तब परिणाम देख्दछन् । त्यसबाट आफ्नो रक्तचापको नम्बर थाहा पाउनु जरुरी छ । आफ्नो शरीरको वजन उचाइ र रक्तचाप जान्नु महत्त्वपूर्ण हुन्छ । ४० वर्ष भन्दा माथिको मान्छेले प्रत्येक वर्ष रक्तचाप नाप्नु आवश्यक हुन्छ । आफ्नो रक्तचापको रेकर्ड राख्ने गरेमा तुलना गरी हेर्न सकिन्छ । आफ्नो साथीभाइ र परिवारका सदस्यलाई पनि रक्तचाप नाप्न उत्साहित गराउनु उपयुक्त हुन्छ ।

२) खाना र जीवनशैली सुधारौँ
भविष्यमा उच्च रक्तचाप कम गर्नलाई तल भनिएका मुख्य ५ वटा खाना र जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ । यसले उच्च रक्तचाप भइसकेका मान्छेहरूलाई पनि कम गराउँदछ ।
अ) नुन कम खाऔँ: बढी नुनको सेवन नै उच्च रक्तचापको कारण हो । प्राय: मान्छेहरू दिनमा १०–१२ ग्राम नुन खान्छन् तर ६ ग्राम भन्दा बढी नुन खानु हुँदैन । अझ यो भन्दा पनि कम नुन खानु राम्रो हुन्छ । मुख्य बुझ्नुपर्ने कुराचाहिँ जति धेरै तयारि खाना खाइन्छ, उति नै नुनको मात्रा यसमा धेरै हुन्छ । त्यसैले तयारि खाना एकदम कम खानुपर्दछ र पकाउँदा नुनमा सावधानी रहनुपर्दछ ।
आ) बढी फलफूल र सब्जी खाऔं: फलफूल र सब्जी पोटासियम पाइने उत्तम श्रोत हो जसले रक्तचापलाई कम गर्दछ । विभिन्न किसिमका फलफूल र सब्जी धटीमा दिनको ५ पोर्सन या बढी खानुपर्दछ ।
इ) सकेसम्म क्रियाशील होऔं : संभव भएसम्म तन्दुरुस्ती हुने कोसिस गर्नुपर्दछ । यसले लामो समय अवधिमा रक्तचाप कम गर्नुको साथै स्वस्थकर वजन राख्न मद्दत गर्दछ । हप्ताको ५ दिन दिनको घटीमा ३० मिनेट व्यायाम गर्ने उद्देश्य राख्नु पर्दछ । यसको लागि जिममा गएर कडा व्यायाम गर्न जरुरी पर्दैन, खालि सधै सडक वा पेटीमा हिड्ने बानी, बसाले हुन्छ ।
ई) मदिरा सेवन कम गर्ने: यदि तपाई मदिरा सेवन गर्नु हुन्छ भने पुरुषले ३/४ युनिट र महिलाले २/३ युनिट भन्दा बढी सेवन गर्नु हुदैँन । अत्यधिक मदिरा सेवनले खास गरी रक्तचापलाई अधिक असर गर्दछ र यसले स्ट्रोक हुने जोखिमलाई धेरै बढाउँदछ ।
(१ युनिट = 25 ml Sprit, Half pint Beer, 125ml wine)

उ) बढी वजन छ भने कम गरौँ: यदि तपाई बढी वजनको हुनुहुन्छ भने रक्तचाप बढी हुन्छ । यदि तपाई आफ्नो उचाई अनुरूप ठिक वजनको हुनुहुन्छ भने उच्च रक्तचाप हुने कम सम्भावना हुन्छ । वजन कम गर्न स्वस्थ्यकर खाना र व्यायाम बढी गर्नु पर्दछ । बढी वजन हुनेलाई अरू रोग लाग्ने सम्भावना बढ्छ ।
यी माथि भनिएका मुख्य पाँच किसिमका परिवर्तनले उच्च रक्तचाप कम गर्न ठूलो सहयोग मिल्छ । उच्च रक्तचापबाट हुने ठूला जोखिमलाई कम गर्दछ । स्वस्थ्कर खाना र व्यायामले शक्ति को लेबल बढाउदछ र शरीरमा फूर्ति आउनाको साथै राम्रो अनुभव हुन्छ ।

३) अरू तरिका जसले स्ट्रोक र हृदयघात हुने जोखिमलाई कम गर्दछ: रक्तचाप बढेको खण्डमा स्ट्रोक र हृदयघात हुने जोखिमलाई बढाउँदछ । अरू कुराहरूले पनि यी रोग लाग्ने सम्भावना बढाउँदछ जस्तै उमेर, उच्च कोलेस्ट्रोल, मधुमेह या पारिवारिक इतिहासमा स्ट्रोक या हृदयघात । केही यी कुराहरू परिवर्तन गर्न सक्दैनौ तर माथि बताइएको पाँचवटा उपाय अपनाएमा अनि तल भनिए बमोजिम गरेमा भविष्यमा स्ट्रोक या हृदयघात हुने जोखिम कम हुन्छ ।
अ) धूमपान छोडौँ: रक्तचाप बढेपछि ब्लड भेसल साँघुरिन्छ, धूमपानले यही गर्दछ । यदि तपाईं धूमपान गर्नुहुन्छ र उच्च रक्तचाप छ भने तपाईंको आर्टरीहरु धेरै चाडै साघुरिन सक्छ जसले गर्दा स्ट्रोक र हृदयघातको जोखिम अत्यधिक हुन्छ । ब्लड भेसल साँघुरिएपछि कोही पुरुषहरू नपुंसक पनि बन्दछन् ।

आ) कम चिल्लो खाऔँ: आफूले खाने चिल्लो कम गर्नुपर्दछ । सम्भव भएसम्म स्याचुरेटेट फ्याट खानु हुँदैन, स्याचुरेटेट फ्याट पाइने खानाहरूमा: मासु, कुखुराको छाला, चिज, केक, विष्कुट, तयारी खाना आदि पर्दछन् । यसले कोलेस्ट्रोल बढाउँदछ जुन स्ट्रोक र हृदयघात हुने अर्को जोखिम हो । वास्तवमा अरू किसिमको मोनोअनस्याचुरेटेट र पोलीअनस्याचुरेटेट चिल्लो खान हुन्छ । यसले शरीरलाई चाहिने आवश्यक चिल्लो प्रदान गर्दछ, यद्यपि यो कम परिणाम खानुपर्दछ, नभए शरीरको वजन बढ्दछ । यी चिल्लो पाइने खानाहरू जस्तै तोरीको तेल, सूर्यमुखी तेल, ओलिभ, तोफु, तेलयुक्त माछाहरु जस्तै साल्मन, ट्राउट, सार्डिन आदि ।
इ) चिन्तालाई कम गरौं: यो विचार गरिन्छ कि चिन्ताले रक्तचाप बढाउँदछ । यो सत्य हो कि चिन्तिन मनले अस्थायी रूपमा रक्तचाप बढाउँदछ तर वैज्ञानिक हिसाबले प्रमाण गरिएको छैन कि चिन्ताले स्थायी रक्तचाप बढाउँदछ भनेर ।
चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । यसले गलत क्रियाकलाप लाइ उक्साहित गर्न सक्छ। जस्तै टेन्सन भयो भनि धुम्रपान गर्नु, बोर लाग्यो भनि रक्सी पिउनु, अल्छी लाग्यो भनेर सुत्नु आदि । व्यायाम गरेमा चिन्ता केही हदसम्म दुर गर्न सकिन्छ अनि रक्तचाप पनि कम हुन्छ ।

यदि रक्तचाप बढे के गर्ने ?

खाना र जीवनशैलीले रक्तचाप ठिक गर्न महत्त्वपूर्ण भूमिका खेल्छ तर कोही मानिसहरूलाई माथि भनिएका क्रियाकलाप गर्दागर्दै पनि पर्याप्त नहुन सक्छ । उदारहणको लागि कसैको परिवारको इतिहासमा धेरै उच्च रक्तचाप छ भने अरू खाना र जीवनशैली परिवर्तन गर्नाको साथ साथै डाक्टरको सल्लाह लिनु पर्दछ । यदि रक्तचाप १४०/९० भन्दा बढी भएमा डाक्टरले औषधी दिन सक्छन् । अहिले रक्तचापको औषधीले रक्तचाप सुरक्षित तवरले कम गराउँदछ । वैज्ञानिक प्रमाणले देखाएको छ कि रक्तचापको औषधिले स्ट्रेक र हृदयघात हुने जोखिमलाई कम गर्दछ । औषधिको साथ साथै खाना र जीवनशैली सुधार्नु नितान्त आवश्यक हुन्छ ।
सारांश तल भनिएका बुँदाहरूले उच्च रक्तचापलाई कम गर्न र यसबाट लाग्ने अरू रोगको जोखिमलाई कम गर्न सकिन्छ ।

– आफ्नो रक्तचापको नम्बर जानौँ, त्यहि अनुरुप जीवनशैली बदलौ
– दिनमा ६ ग्राम भन्दा कम नुन खाऔं ।
– धूमपान त्यागौँ
– चिन्तालाई समयमा कम गरौँ ।
– मधुमेयको नियन्त्रण गरौ
– यदि रक्तचाप बढ्छ भने अरू जीवनशैली र खानामा प्रयत्न गरौ र डाक्टरलाई भेटौँ ।

E-mail: [email protected]
(आचार्य “कोरोनरी मुटुरोग”- २०१० पुस्तकका लेखक तथा नेप्लिग हार्ट फ़ाउण्डेशन बेलायतका अध्यक्ष हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक