सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०३:०७ | UK Time: 22:22

नयाँ सम्वतसितको अपेक्षा

वीनेपाली
२०७१ पुष १७ गते २१:३४

Shashi-Poudel
सन् २०१४ को अन्त्य भएर २०१५ लाग्दै गर्दा हरेक क्षेत्रबाट २०१५ साल फलदायी होस् भन्ने शुभकामनाहरु प्राप्त भैरहेका थिए तर म भने २०१४ लाई कहाँबाट र कसरी शुरु गर्ने भनेर पिरोलिई रहेको थिएँ । किनभने २०१४ कुनै सजिलो वर्ष थिएन । यो वर्ष प्यार र ममताको वर्ष थिएन । सद्भाव र मित्रताको वर्ष थिएन । यो वर्ष भयानक डरलाग्दो, तर्साउने खालको वर्ष थियो । दुर्घटनाग्रस्त जहाज सुइँको नपाउने गरी हराउने कलंकको वर्ष रहृयो । कतिपय मुलुकहरुमा त यो आतंकपूर्ण वर्ष रहृयो । युद्ध, आतंक, मारकाट र लुटपाटको वर्ष रहृयो । युरोपको युक्रेन, एसियामा इराक, सिरिया, टर्कीको सिमाना कुर्दीस्तानहरुमा युद्ध छेंडिए । भारत, इन्डोनेसिया र युरोपबाट हजारौं युवाहरु इस्लामिक राज्यका नाममा युद्ध गर्न खाडीक्षेत्र हुम्मिए । मैले यी पंक्तिहरु लेखिरहेको ठाउाबाट झण्डै ६ हजार किलोमिटर दक्षिण पश्चिममा इबोला नामक भाइरसले हजारौं अफ्रिकनहरुको ज्यान लिएको छ भने यी घटनाहरुले दशौं लाख मानिसहरुलाई घरबारविहीन बनाएको छ । र, विश्वलाई कम्पायमान बनाएको छ । शान्तिका प्रतीक गौतम बुद्ध जन्मेको देशमा पनि शान्ति छाउन सकेको छैन । विदेशी कुलंगारहरुले धर्मका नाममा बुद्धको शान्ति सन्देशमाथि हिलो छ्याप्ने प्रयत्न गरिरहेका छन् ।
सन् २०१४ का यी घटनाक्रमलाई सम्झिँदै जाँदा मलाइ एकक्षण मेरा आँखा बन्द गर्न मन लाग्यो । मेरा कान थुन्न मन लाग्यो । मुख बन्द गरेर यो संसारबाट भाग्न मन लाग्यो । तर हामीलाई थाहा भएको के हो भने एक वा दुई व्यक्ति भाग्दैमा र एक वा दुई व्यक्तिले आँखा, कान र मुख थुन्दैमा समस्याको समाधान हुने वाला छैन । जतिसुकै टाढा भागे पनि एकदिन फेरि यही विश्वमा फर्किनुपर्ने छ । र, यिनै र यस्तै दुखद समाचारहरु देख्नु, पढ्नु र सुन्नु पर्ने छ ।
गर्मीयाम २०१४ को कुरा हो । म पूरा एकदिन फुर्सद लिएर बर्लिन गएको थिएँ । त्यहाँ एउटा पुराना पुस्तक, पत्रपत्रिका र म्यागाजिनहरुको पसल छ । जहाँ विगत १०० वर्ष पुराना म्यागाजिन पनि पाइन्छ । र, त्यसैको नजिक एउटा पुराना पत्रपत्रिका र म्यागाजिनको अर्को पसल पनि छ । जसको नाम हो डु यु रिड मी ? जो यसभित्र प्रवेश गर्छ त्यसले तालु खुइलिएका र विभिन्न प्रकारका मान्छेहरु भेट्ने छ । किनभने यहाँ किनेर ल्याउनेहरुको भन्दा पनि त्यही बसेर पढ्नेहरुको संख्या धेरै पस्छन् । मैले भने त्यहाँवटा तीनवटा म्यागाजिन किनेर ल्याउने विचार गरेर त्यहीको जुटबाट बुनेको झोलामा हालें । ती म्यागाजिनको नाम थियो ओआक, सिरेआल र वीकइन्डर । यी तीनवटै म्यागाजिनले झण्डै एकै प्रकारका सन्देश दिन्थे । यिनले जीवनका सामान्यभन्दा सामान्य कुराहरुको सन्देश दिन्थे । जीवनको महत्व दर्साउँथे । मोडर्न र इलेक्ट्रोनिक विकासका कारणले हामीले बिर्सेका पुराना कागजका फूलहरु, पुतलीका पखेटाबाट ध्यान गर्न सिकाउने कुराहरुका सन्देश दिन्थे । तर यी कुनै पनि म्यागाजिनहरुले राजनीति, अर्थशास्त्र वा कुनै अरु कुनै विरोधाभाषका कुराहरुको सन्देश दिंदैनथे । गरीब र धनीबीचको लडाइँ पनि खाँदिएको थिएन यी म्यागाजिनहरुमा । हातहतियारसहितको लडाइँको कुरा टाढै छोडौं । यद्यपि यो संसारमा मानव जातिको उत्पत्ति भएदेखि युद्ध, लडाइँ हुँदै आइरहेको छ । फरक के मात्र हो भने कुनै वर्ष धेरै र कुनै वर्ष थोरै ।
म्यागाजिनको मुल्य चुकाउन म बिक्रेतातर्फ मोडिएँ । एक सुन्दर युवतीले भन्दै गइन् । अबदेखि हामीकहाँ संसारभरका पत्रपत्रिका पसलहरुमा जस्तै हरेक हप्ता नयाँ म्यागाजिनहरु आउने गर्छन् । उनले युरोपका विभिन्न मुलुकहरुका नामसंगै भारत र चीनको नाम पनि लिइन् । म बिलखबन्दमा परें । लगभग १५ वर्षअघि म पछिल्लो पटक यो “डु यु रिड मि ?” पसलमा पुगेको थिएँ । त्यतिबेला यो मोडर्न मेघा ट्रेण्डको संकेत थिएन ।
म पसलबाट बाहिर निस्कंदै थिएँ । कसैले पछाडिबाट बोलायो । म टक्क उभिएँ । उ मेरो नजिक आएर तपाईको नाम के भनेर सोधें । मैले प्रतिप्रश्न गर्दै भनें तपाइँले मलाई बोलाउनु भयो पहिले तपाई को हो बताउनुस् अनि आवश्यक ठहरे मेरो परिचय दिउँला । उनले हतार हतार गर्दै आफ्नो परिचय दिए । उनी समाजशास्त्री रहेछन् तर पछिल्लो एकदशकदेखि एउटा युवा म्यागाजिनको प्रधान सम्पादकका रुपमा काम गर्दा रहेछन् ।
युवा युवतीहरु एकतर्फ धेरै मोडर्न र अर्कोतिर ठूला संख्यामा युवा युवतीहरु निराशा भएको अवस्था पनि छ । त्यसैले तपाईको काम त निकै चाखलाग्दो हुनु पर्छ होइन ? मैले सोधें । उनले सपाट उत्तर दिए “यदि हामीले युवा युवतीहरुलाई तिम्रो भविष्यको चाहना के छ भनेर सोध्यौं भने मैले भविष्यमा एउटा गार्डेनसहितको घर बनाउने छु र त्यहाँ मेरो एउटा सानो परिवार हुर्कने छ भन्ने उत्तर पाउने छौं । युवाहरुको यो चाहनाबाट तपाईले आफ्नो प्रश्नको उत्तर पाउनु हुनेछ ।”
उनको यो उत्तरले मलाई एउटा सानो घटना सम्झना गरायो । जर्मनीको कोलनमा केही समयअघि मनोवैज्ञानिकहरुको एउटा समूहले एकसय युवा युवतीहरुलाई जम्मा गरी दुई/दुई घण्टे अन्तर्वार्ता लिएर तपाईको भविष्यको चाहना के ? भनेर सोधेको थियो । अधिकांशको उत्तर थियो स्थायित्व, आर्थिक, सामाजिक सुरक्षा, आतंकविहीन विश्व र स्ट्रेसविहीन जब (काम) ।
हुनपनि हो अहिलेको मोडर्न इलेक्ट्रोनिक मेडियासंगै हुर्केका युवा युवतीहरुको जीउने तरिका र जीउने चाहना नितान्त फरक देखिन्छ । हिजोको विश्व एक अर्कामा जोडिएको ठोक्किएको र बाँधिएको थियो भने अहिलेको विश्वमा अस्थिरता र अधैर्यताको विकाश भएको छ । युवा युवती मात्र होइन कि ४० देखि ६० वर्षका अर्धवैसेहरुमा पनि वर्तमान डरलाग्दो विश्वब्यापीकरणबाट अत्तालिएको बुझ्न कठिन पर्दैन ।
मैले मेरो परिचय नदिई सुखै पाइनँ । उनले हात अघि सार्दै भने । खुसी लाग्यो । तपाईसंग केही समय छ ? उनले सोधे । मेरो उत्तर नखस्दै उनले भने फुर्सद छ भने उ त्यहाँ गएर एक कप कफी पिउँ न है । उसंग एउटी महिला पनि थिइन् । तीनै जना नजिकैको चिया पसलमा गएर बस्यौं । मैले संगै भएकी महिलाको परिचय मागें । यस्तै ४०/ ४५ वर्षकी देखिने उनले जीवनमा निकै धेरै पापड बेलेकी रहिछन् । क्यानाडामा राजनीतिक शास्त्र पढेकी ती महिलाले ट्रान्सपरेन्सी इन्टरनेशनलमा काम गरेकी रहिछन् । उनी खासगरी भ्रष्टाचारका विरुद्ध लागेकी रहिछन् । तर अहिले उनी नितान्त भिन्न काम गर्छिन् । उनले अहिले बालबच्चाहरुलाइ कपडा सिउन, स्वीटर बुन्न र टेबुलपोस, पर्दा बुन्न सिकाउँछिन् । उनले त्यहाँ उनको क्यारीकुलम भीट देखाउँदै भनिन् मैले विभिन्न पत्र पत्रिका र मिडियामा काम गरें । मलाई त्यहाँ स्ट्रेश र बर्न आउट बाहेक अरु केही भएन । म धेरै पटक मनोवैज्ञानिककहाँ गएँ । मनोवैज्ञानिकले मलाई हातले गर्ने काम गर्ने सल्लाह दिए । त्यसैले मैले यो काम थालेकी हुँ । यो काम सुरु गरेपछि म बिरामी परेकी छैन । उनले अगाडि भन्दै गइन् मैले यो नयाँ काम थालेपछि मलाई घाउमा लगाउने मल्हमपट्टी नै बनेको छ ।
कतिपय पेशाले युवा युवतीहरुलाई अझ बढी दुबिधा र असुरक्षित गराउँछ । अहिलेका युवापिंढीलाई निकै असजिलो अवस्था श्रृजना हुदै गइरहेको छ । चाहे पढाइमै होउन् चाहे कामधन्दा सुरु गरिसकेका होउन्, चाहे विवाहपछि बच्चाबच्चीको बाबु आमा बनेपछि होस् । हरेक पाइला पाइलामा च्यालेन्ज उभिएको हुन्छ र त्यहाँ उनीहरुले आफ्नो बौद्धिक शक्ति प्रदर्शन गर्नु पर्ने हुन्छ । युवाहरुबाट पटक पटक सुनिने गर्छ कि यदि मैले पेशा र ब्यक्तिगत एवं पारिवारिक जीवनलाई अलग्याइनँ भने म ४० वर्ष नपुग्दै बुढो बन्ने छु ।
केही क्षणको बसाइपछि ती महिलाले आफूले सिउन र बुन्न सिकाउने ठाउँ हामीलाई देखाउने चाहना गरिन् । हामी दुवै उत्साहित भयौं । त्यहाँ हामी पुग्दा तीनजना महिला भेंडाको छालामा बसेका र लामो स्वास लिदै एकतारमा छोड्दै गरेका । मैले उनलाई सोधें के योगा पनि सिकाउनुहुन्छ ? उनले भनिन् होइन, यो त सावधानी (माइण्डफुलनेश) हो । मैले सोधें यी तपाईका कामदारहरु हुन् ? उनले हुन् भनिन् । अनि यसरी माइण्डफुलनेश गर्दा तपाईको ब्यवसायमा नोक्सान हुँदैन ? उनले भनिन् हुदैन यसले कामका लागि अरु शक्ति प्रदान गर्छ । धेरैजसो मालिकहरुले यी कुराहरुमा ध्यान नपुर्याएर आफ्ना कामदारहरुलाई बिरामी गराउँछन् । म स्वयं यसको उदाहरण हुँ ।
यसैले होला अहिले अमेरिकी सेनामा माइण्डफुलनेश गराउने गरिन्छ । आधाघण्टासम्म एकचित्त भै स्वासप्रस्वास क्रिया गर्ने । यो माइण्डफुलनेशको झुकाव युरोपमा पनि आएको छ । यो हाम्रा पुर्खा र ऋषिमुनीहरुले हामीलाई सिकाएको योग विद्याकै एक अंश हो । योग विद्याले माइण्ड र शरीरलाई जोड्ने काम गर्छ र अगाडि काम गर्न उर्जा प्रदान गर्छ । सन् २०१५ सालमा संसारका मानव जातिमा यो सद्बुद्धि पलाओस् र अरु बढी काम गर्ने उर्जा मिलोस् । त्यसो भयो भने न कही युद्ध गर्नु पर्ने छ न कही अस्थिर र असुरक्षित महसुस गर्नु पर्ने छ ।

पौडेलका विचारहरु www.theglobal.co.uk मा पढ्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक