बुधबार, मंसिर १० २०७७ | Wed, November 25, 2020
नेपालको समय: १९:१२ | UK Time: 13:27

बढ्दैछ हृदयघातको पिरलो

वीनेपाली
२०७१ पुष ३ गते २३:२५

265417_10150241950363963_541360_o

हालै संचारकर्मी सन्जिब घिमिरेको ३८ बर्षको उमेरमा, लण्डनमा अनिलजंग थापाको ३४ बर्षको उमेरमा, लण्डनमा नै आषिस मिश्रको २२ बर्षको उमेरमा ह्रदयघातको कारणले निधन भएको दुखद समाचारले स्तब्ध बनायो। अहिलेको बढ्दो सहरीकरण र अस्वस्थकर जीबनशैली कारणले युवा अबस्थामा नै धेरै मानिसहरु कोरोनरि मुटुरोगबाट पीडित हुने क्रम जारी छ । म स्वयम् यसको शिकार भएकोले ह्रदयघात सम्बन्धि के कस्तो हुने मलाई प्रत्यक्ष अनुभव छ । हुन त प्रत्येक मानिस पिच्छे फरक फरक अनुभूति हुनसक्छ । म आफूलाई त्यो अबस्थाबाट गुज्रेको हुनाले अरुलाई चेतना होस भन्ने मेरो अभिप्रायले मैले मुटुरोग सम्बम्धि थप अध्यन गरे। मेरो निस्कर्ष के छ भने अरु रोग जस्तै मुटुरोग लाग्ने प्रमुख कारणहरु मध्ये मानिसको अज्ञानता नै एक हो। समयमा सजकता अपनाई जीवनशैली परिबर्तन गरे मुटु रोगबाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्छ। “म त निरोगी छु”, “मलाइ के हुन्छ र” भन्ने जस्ता हट त्याग्नु नै उपयुक्त हुन्छ। आफ्नो स्वास्थको बारे आफै चासो राखी सतर्कता अपनाउनु बुद्दिमानी हुन्छ।

जैलेपनि मैले “आफ्नो स्वास्थ्यको नम्बर जानौ” भन्ने आग्रह गर्दछु। आफ्नो नाम, ठेगाना, उमेर आदि थाहा भए जस्तै आफ्नो रक्तचाप, कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा थाहा पाउनु जरुरी छ। घटीमा बर्षमा एकपल्ट रगत जचाउनु आवश्यक हुन्छ। यस अनुरुप जीवनशैली परिवर्तन गर्न सजिलो हुन्छ। स्वथ्यकर जीवनशैलीको न्यूनतम ज्ञान लिनु पनि आवश्यक हुन्छ।

आफ्नो परिवारको इतिहासमा मुटुरोग छ भने त्यस्तो व्यक्तिमा समयमा अरु सावधानी हुनु पर्छ। रगतको नाता भएका जस्तै बाबु, आमा, काका, मामा ,फुपु लाइ मुटुरोग लागेको छ भने यसको जोखिम अरु बढ्छ। यसैले मुटुरोग लाग्न नदिन सतर्कता अपनाउनु महत्वपूर्ण कदम हुन्छ।

ह्रदयघात बारे जानकारी
मुटुले शरीरमा रगत पम्प गर्दछ यद्यपि मुटुको मांसपेशी आफैलाई रगतको आपूर्ति चाहिन्छ । स्पेसल रगतको भेसल (Blood vessels) को नेटवर्क लाई कोरोनरी आर्टरी भनिन्छ । यहाँ दुईवटा शाखा हुन्छन् जुन मुटुको सतहमा रहन्छ र ३–४ mm फराकिलो हुन्छ, यिनीहरू सानो सानो भेसलमा विभाजन भई नेटवर्क बनाइन्छ जसले मुटुमा अक्सिजन आपूर्ति गर्दछ ।

कोरोनरी आर्टरीहरूको काम रगत र अक्सिजन मुटुको मांसपेशी (Heart muscle) लाई आपूर्ति गर्नु हो । कोरोनरी मुटुरोग तब हुन्छ जब कोरोनरी आर्टरीहरूका भित्ताहरूमा विस्तार विस्तार चिल्लो जम्मा भइ साँघुरो बनाइन्छ । यो अवस्थालाई आर्थलोसोलोशिस (Atherosclerosis) भनिन्छ र चिल्लो जम्मा भएकोलाई आर्थोरोमा (Atheroma) भनिन्छ ।

समयमा आर्टरी यति साँघुरो बन्छ कि यसले चाहिएको बेलामा मुटुको मांसपेसीमा अक्सिजनयुक्त रगत (जस्तो व्यायाम गर्दा) पठाउन सक्दैन । यस्तो अवस्थामा मुटुमा पीडा हुन्छ । यही दुखाइ या असजिलो हुनुको कारणलाई एन्जाइना (Angina) भनिन्छ ।

जव आर्थोरोमा अस्थिर बन्न पुग्छ, यो टुट्न सक्छ र रगत जम्ने (Blood clot) हुनसक्ने बनाउन सक्छ । यदि रगत जमेको (Blood clot) ले कोटोनरी आर्टरी बन्द (Block) गर्छ भने मुटुको मांसपेशी अक्सिजन र रगत नपाएर त्यसै रहन्छ (strave) र सधैको लागि नोक्सान हुन सक्छ, यसलाई हृदयघात भनिन्छ । हृदयघातको अवधिमा जीबन नै जोखिम हुन मुटुका रिदमहरु को विकास हुन सक्छ । त्यसैकारणले हृदयघातलाई मेडिकल अकास्मात को रूपमा उपचार गरिन्छ ।

हृदयघातको लक्षण छातीको बीच भागमा एकदम दुख्ने देखी छातीमा साधारण असुविधा हुन्छ जसले बिरामी जस्तो अनुभव गर्दछ । दुखाई चाहिँ एकदम गरुङ्गो या कसिंएको जुन दुखाइ पाखुरा, घाटी, गर्धन, पछाडि या भुडीमा पनि सर्न सक्दछ । घाटी, बंगारा, पाखुरा या भुडीमा मात्रै असर गर्न सक्छ । हृदयघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मान्छेहरू हृदयघात हुँदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् । हृदयघातले मुटुको रिदम लाई गडबड हुने कारण पनि हुन सक्छ ।

कहिलेकाहिँ हृदयघात ‘शान्त’ (Silent) हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । जस्तै कोही मान्छेहरूलाई छाती दुख्न यति कम हुन्छ कि डाक्टरकहाँ जाँदैनन् । अरू मेडिकल टेष्ट गर्दामा धेरै समय पछि थाहा हुन सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्र हृदयघात भएको भन्ने पत्ता लाग्दछ ।
“कसैलाई हृदयघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स या अस्पताल पुग्नुपर्दछ । धेरै मान्छेहरू एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरेर जीवनलाई जोखिममा राख्दछन । यसर्थ सकेको चाडै अस्पताल पुग्नुपर्दछ यसले जीवन बचाउन सक्दछ ।”
हृदयघात दिन, रात जुनसुकै बेलामा पनि हुनसक्छ काम गरिरहेको बेलामा या त्यसै आराम गरेको बेलामा पनि । कहिलेकाहिँ हृदयघात अति शारीरिक क्रियाकलाप गरेकोजुन अक्सर गर्ने वानी नभएकोको बेलामा पनि हुन सक्छ ।
अहिलेसम्म निश्चित रूपमा थाह छैन कि किन हृदयघात वा अस्थिर इन्जाइनाको कहिले हुन्छ भनेर । तर यिनीहरू धेरै वर्षको प्रोसेस को परिणाम प्राय:: हुन्छ ।

हृदयघात भएपछि मुटुलाई के हुन्छ ?
हृदयघात भएपछि तपाईंको शरीरले नोक्सान भएको मुटुको मसल ठाउँमा खत (scar Tissue) आउछ। यो गर्नलाई केही दिन देखि महिनौँ लाग्दछ ।
दुई तीन महिनाभित्रमा हृदयघात भएका बिरामीहरूको मुटुले हृदयघात हुनुभन्दा पहिलेको जस्तै गरी काम गर्दछ, तर कोही बिरामीहरूको मुटुको मसल यति धेरै बिग्रेको हुन सक्छ कि मुटुले पहिलाको जस्तो गरी राम्रोसँग पम्प गर्न सक्दैन । यसले श्वास फेर्न गाह्रो, थकाइ लाग्ने र गोलिगाँठा सुन्निने हुन सक्छ । यस्तो अवस्थालाई हार्ट फेलियर भनिन्छ ।

हृदयघातलाई आत्मसात गर्दै
हृदयघात एउटा डरलाग्दो अनुभव हुन सक्दछ । यदि तपाईंलाई अहिलेसम्म भन्दा पहिले एकदम राम्रो स्वास्थ्य थियो भने यसले अरू भय पैदा गर्न सक्दछ । अस्पतालमा हुँदामा धेरै मान्छेहरूले डर को प्रतिक्रिया निकाल्दछन । अनि मेसिनहरू र अस्पतालको नचिनिदो वातावरणले अरू दु:ख र दर्द बढाउन सक्छ । प्राय:मान्छेहरूलाई जीवनको जोखिम हृदयघात भएको केही घण्टाहरूमा हुन्छ । जव शुरुका केही घण्टाहरू बित्दछन् ।
हृदयघात भएपछि भय र परिवर्तित भावनाहरु आउनु साधारण हुने कुरा हो । हृदयघातपछि यो अनुभव आउन सक्छ कि:
–फेरि अर्को हृदयघात हुन्छ कि भन्ने डर
–मर्न देखि डराउनु, अथवा
–पहिलाको जस्तै सक्षम हुन सक्दिन भन्ने पिर

फेरि हुन सक्छ ?
धेरै मान्छेहरू फेरि अर्को हृदयघात हुने पो हो कि भन्ने चिन्ता गर्दछन् । एउटा हृदयघात भइसकेपछि अर्को हुने जोखिम बढ्छ तर डाक्टरले दिएका औषधीहरू खाने र स्वस्थ्यकर जीवनयापन गर्ने हो भने जोखिमलाई धेरै कम गर्न सकिन्छ । धेरै बिरामीहरू र उसका परिवारहरू हृदयरोग पुनस्थापनामा गएपछि स्वस्थ्यकर जीवनशैली बारे धेरै कुराहरू सिक्ने मौका पाउँदछन् ।
यो स्वभाविक रूपमा हो कि हृदयघात भएपछि व्यायाम गर्नलाई अलि नर्भस बनाउँदछ, तर मुटु एउटा मांशपेशी हो र शरीरका अरू मांशपेशी जस्तै मुटुलाई राम्रो अवस्थामा राख्न व्यायाम गर्नुपर्दछ । डाक्टर, नर्सहरूले सल्लाह दिन्छन् कस्तो किसिमको शारीरिक क्रियाकलाप तपाईको लागि ठिक हुन्छ भनेर ।
सुरुमा उनीहरूले कम क्रियाकलाप गर्ने सुझाव दिन्छन् र बिस्तार बिस्तारै जब तपाईं बलियो र निर्धक्क हुनुहुन्छ तब व्यायाम बढाउने पनि भन्छन । एकजना विरामीलाई दिइएको सुझाव अरूलाई फरक हुन सक्छ किनभने प्रत्येक बिरामी फरक फरक हुन्छन् । अस्पतालबाट घर गएपछि व्यायाम सुचारु रूपमा राख्नु महत्त्वपूर्ण कुरा हो । दिइएको सल्लाहअनुरुप चल्नुपर्छ । विस्तारै व्यायामको बिस्तार रफ्तार बढाउनुपर्दछ ।

भविष्यको सामना गर्ने
हृदयघातपछि अस्पतालमा रहँदा, घरमा बस्दा तपाईंले आफ्नो जीवनशैली परिवर्तन गरे विचार गर्ने मौका पाइन्छ । कुनै क्षेत्रमा परिवर्तन गरे हृदयघातलाई फेरि हुने सम्भावनालाई कम गर्न सकिन्छ । जीवनशैली परिवर्तन बारे सकारात्मक सोच बनाउनु पर्दछ । धेरै बिरामीहरूलाई हृदयघात पछि पहिलाको भन्दा राम्रो हुन्छ ।

काममा फर्कने
प्राय: मान्छेहरू हृदयघात भएपछि आफ्नो पुरानै काममा फर्कने गर्दछन् । यदि काम धेरै शारीरिक छैन भन्ने अथवा हलुंगो किसिमको काम भएमा हृदयघात भएको छ हप्तापछि हुनसक्छ । अरू मान्छेलाई आफ्नो कामको प्रकृतिमा परपर्दछ । डाक्टर या नर्ससँग यो सम्बन्धी सुझाव लिनु उपयुक्त हुन्छ । आफ्नो काम गर्ने ठाउँमा पनि भन्नुपर्दछ र सकेको सहयोग उनीहरूले पनि गर्नेछन् । हृदयरोग पुनर्रस्थापना गरे काममा चाडै फर्कन मद्दत पुग्दछ । आफ्नो अवस्थाबारे रुपले काम लगाउने ठाउँमा भन्नु पर्दछ ।

यौन
हृदयरोग लागेका मान्छेका श्रीमान् श्रीमतीमा यौनबारे प्राय: अन्योल भएको बुझ्न सकिन्छ । हृदयघात भइसकेपछि प्राय मान्छेहरू पुरानै यौन क्रियाकलापमा फर्कन सक्दछन् । अरू शारीरिक क्रियाकलाप जस्तै यौन क्रियाकलापले मुटुको धड्कन र रक्तचाप बढाउँदछ । यसले मुटुको कार्य बढाउँदछ र कोरोनरी मुटुरोग भएको मान्छेलाई श्वास फेर्न गाह्रो भई छाती दुख्ने हुनसक्छ तर शारीरिक सम्पर्क अरू शारीरिक क्रियाकलाप या व्यायाम गरे जति नै सुरक्षित हुन्छ ।
हृदयघात भएको मान्छेले यदि जटिलता विना नै निको भएको छ भने हृदयघात भएको २/३ हप्ता पछि यौन सम्पर्क गर्न सक्छन् ।

मुटुरोगका जोखिमका तत्वहरू र जीवनशैली
मुटुको रोग लाग्ने कुनै एउटा मात्र कारण छैन तर हामीलाई थाह छ कि केही तत्वहरूले मुटुको रोग लाग्ने सम्भावना बढाउँदछ । तल भनिएका विभिन्न जोखिमहरूले नै मुटुरोग लाग्छ । यसबाट बच्न आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ ।
धूमपान : कोरोनरी मुटु रोग (CHD) लाग्नुका प्रमुख कारणमध्ये धूमपान एक हो, यसले हृदयघात हुने जोखिमलाई बढाउँछ । हृदयघात भइसकेको मान्छेले धूमपान छोडे अर्को हृदयघात भई मर्ने जोखिम कम गर्दछ ।
परिवारमा कोरोनरी मुटुरोगको इतिहास: कोरोनरी मुटुरोग परिवारमा सर्न सक्दछ । आफ्नो परिवारको सदस्य जस्तो बाबु आमा, दाजु, भाइ, दिदि बाहिनी फुपु, मामा, सानीआमा , ठुलीआमालाई यस्तो रोग लागेको छ भने यसका जोखिमका तत्वहरूलाई निवारण गर्न के गरिएको छ, यो पनि महत्त्वपूर्ण कदम हो ।

उच्च रक्तचाप: उच्च रक्तचापले हृदयघात र स्ट्रोक हुने जोखिम बढाउँदछ र यसले गर्दा मुटुका मांसपेशी लाई क्षति हुन्छ । त्यसकारण समयमा उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्दछ । यदि तपाईंलाई हृदयघात भएको छ भने तपाईंको रक्तचाप १३०/८० भन्दा मुनि हुने उद्देश्य राख्नु पर्दछ।
वजन बढी हुनु: स्वस्थ्यकर वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउँदछ, यसले कोलेस्ट्रोल घटाउँदछ र मधुमेयको विकास हुने जोखिमलाई कम गराउँदछ । आफ्नो उचाई अनुरुपको वजन हुनुपर्दछ, भुँडीवरिपरि ३४’ भन्दा कम भएमा जोखिम घट्न सक्छ । यदि तपाई मदिरा सेवन गर्नु हुन्छ भने पुरुषले ३/४ युनिट र महिलाले २/३ युनिट भन्दा बढी सेवन गर्नु हुदैँन । अत्यधिक मदिरा सेवनले खास गरी रक्तचापलाई अधिक असर गर्दछ ।
(१ युनिट= 25 ml Sprit, Half pint Beer, 125ml wine)

चिन्ता: चिन्ताको प्रकृति र अर्थ हरेक मानिसमा फरक हुन सक्छ । एउटा व्यक्तिलाई भएको चिन्ता अर्को व्यक्तिलाई नहुन सक्छ । केही निश्चित मात्रामा चिन्ता हुनु आवश्यक हुन्छ, यसले हाम्रो जीवनमा काम गर्न हौसला र मद्धत पुर्‍याउँदछ । तब समस्या पैदा हुन्छ जव चिन्ता हाम्रो वशबाट बाहिर जान्छ । दैनिक बोझपूर्ण क्रियाकलापले दिमागलाई शिथिल बनाई मानिस संयमबाट दूर भएको अवस्था विशेष नै चिन्ताग्रस्त परिवेश हो । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । यसले गलत क्रियाकलाप लाइ उक्साहित गर्न सक्छ। जस्तै टेन्सन भयो भनि धुम्रपान गर्नु, बोर लाग्यो भनि रक्सी पिउनु, अल्छी लाग्यो भनेर सुत्नु आदि।

व्यायामको कमी: मुटु मांसपेशी भएकोले यसलाई स्वस्थ्य राख्न ब्यायामको जरुरि पर्दछ। जो मानिस शारीरिक हिसाबमा क्रियाशील छैन उसलाई क्रियाशील भएको मान्छे भन्दा दुई गुना बढी मुटुरोग लाग्ने हुनसक्छ । हृदयघात भइसकेको मान्छेलाई क्रियाशील जीवनले बचाउन सक्दछ।

उच्च रगत कोलेस्ट्रोल (रगतमा बढी चिल्लो, (Hyperlipidaemia हुनु): रगतमा धेरै कोलेस्ट्रोल भएमा यसले मुटुरोग लाग्ने जोखिम बढाउँदछ । कोलेस्ट्रोल बढाउने मुख्य काम चिल्लो (बोसो) खासगरी जनावरबाट पाइने चिल्लो ले अत्यधिक गर्छ । हृदयघात भएको या कोरोनरी मुटुरोगीको कोलेस्ट्रोर mmoill (mmoi/1 means milliomols per litre) हुनुपर्दछ ।

अस्वस्थ्यकर खाना: राम्रो प्रमाण देखिएको छ कि फलफूल र सब्जीले मुटुलाई राम्रो गर्दछ । विभिन्न किसिमका फलफूल र तरकारी दिनको घटीमा ५ पोर्सन खानुपर्दछ । तेलयुक्त माछा र ओमोगा (Omega-3 fats) सधै खाएमा कोरोनरी मुटु रोगलाई कम गर्न सकिन्छ र हृदयघात भएका मान्छेलाई बचाउन सहयोग गर्दछ । तेलयुक्त माछामा खास गरी ओमेगा ३ पोलीअनस्याचुरेटेट फ्याट (Omega-3 Polyunsaturated fat) पाइन्छ । हप्ताको दुई पोर्सन यी माछा खाने उद्देश्य राख्नुपर्दछ । तेलायुक्त माछाहरु जस्तै साल्मन, माकेरेल, ट्राउट, सार्डिन आदि (१ पोर्सन माछा = १४२ ग्राम)

मधुमेय: मधुमेयले कोरोनरी मुटुरोग लाग्ने जोखिम प्रबल रूपले बढाउँछ । यदि तपाईं पुरुष हुनुहुन्छ र Type-2 मधुमेय छ भने मधुमेय नभएको मानिसलाई भन्दा तपाईंलाई २/४ गुना बढी मुटुरोग लाग्ने सम्भावना बढ्छ। यदि तपाई महिला हुनुहुन्छ र Type-2 मधुमेय छ भने जोखिम अरू बढी हुन्छ । तपाईंलाई ३–५ गुना बढी मुटुरोग लाग्ने जोखिम हुन्छ । मधुमेयले कोलेस्ट्रोल लेभल बढाउने र उच्च रक्तचाप हुने आदि अरू जोखिमका तत्वहरूलाई बढाउन सक्छ ।

छाती दुखेको बेवास्ता नगरौं, मुटुरोग जोखिमका तत्वहरुमाथि ध्यान दियौ। मुटुरोगबाट आफूपनि बचौ, अरुलाई पनि बचायौ । मुटुरोगबाट पीडित मानिसहरुलाई सतर्कता अपनाउन लगाउदै सामान्य जीवनयापन गर्न उक्साहित गरौं ।

हृदयघात भए तल भनिएका लक्षण देखिन्छ :
– छाती एकदम दुख्ने, एकदम समातिएको जस्तो हुने र एकदम गर्हुंगो हुनसक्छ
– दुखाई छाती, घाँटी, पाखुरा, गर्धन, पछाडि भुंडीमा हुनसक्छ
तपाईंलाई पसिना आउने, टाउको हलुंगो हुने, बान्ता आउने र श्वास लिन गाह्रो हुन सक्छ
के गर्ने त ?
१) जे काम गरिरहनु भएको छ, रोक्किने
२) बस्ने र आराम गर्ने,
३) यदि GTN Spray छ भने भनिए बमोजिम लिने । यति गर्दा १५ मिनेट भित्रमा पनि दुखाइ नरोकिएमा तुरुन्त एम्बुलेन्स बोलाउने अरू नकुर्ने ।
यदि GTN Spray छैन भने शान्त भएर १०/१५ मिनेट बस्ने र दुखाइ भइरहेमा तुरुन्त एम्बुलेन्स बोलाइहाल्ने
४) यदि Aspirin मा एलर्जी छैन भने पाइएको खण्डमा Aspirin Tablet 930 mg चपाउने, Aspirin नभएमा नपाइएमा एम्बुलेन्स नआउन्जेल आरामले बस्ने ।

हृदयघात भएमा तपाईं दुईवटा महत्त्वपूर्ण काम गर्न सक्नुहुन्छ:
‘एम्बुलेन्स बोलाउने र आरामसँग बस्ने’

(आचार्य कोरोनरी मुटुरोग २०१० का लेखक र नेप्लिज हार्ट फाउन्डेसन, युके अध्यक्ष हुन् ) 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक