बेलायतमा गायनमा जम्दै गंगाराज

ganga raj rai

लण्डन । नेपाली गायन क्षेत्रमा प्रतिनिधि युवा गायकको नाम हो- गंगाराज राई ।
स्वरका धनी गंगाराजको गीतले दर्शक-स्रोताको मन जित्न सफल भएको छ ।
लोक, पप र आधुनिक सबै खाले गीतहरू गाउन सक्ने प्रतिभाशाली गायक गंगाराजको गीतहरूले स्टेज शोहरूमा दर्शकहरूलाई भरपूर मनोरञ्जन दिन सफल छन् भने उनको रेकर्ड गरिएका गीतहरू त अझ राम्रा हुने नै भए ।
गीत, संगीतप्रतिको रूचि, ज्ञान र कलाले गंगाराजको गायनले दिन प्रतिदिन लोकपि्रयताको शिखर चुमिरहेको छ । छोटो समयमा थुप्रै फुटकर गीतहरू गाइसकेका उनले आफ्नो एकल स्वर र गीतकार चन्द्रावती राईको शब्द रहेको आभास गीति एल्बम भरखर बजारमा ल्याएका छन् । ५ वटा आधुनिक गीतहरूको सङ्गालो आभास एल्बममा महेश खड्का, बि.सी राई र पावल चाम्लिङको संगीत रहेको छ ।
गीतकार राई व्यावसायिक गीतकार नभएता पनि सरल शब्दको चयन र गहन मानवीय सम्वेदनाका भावहरू व्यक्त गीतहरूले गर्दा सफल गीतकार बन्न सफल देखिन्छिन् । मानवीय जीवन भोगाइका उतार-चढावहरू गीतमार्फत् आम स्रोताहरू माझ आउनु गीतिकारिताको विशेषता पनि हो । आभास एल्बमका गीतहरू जति सुन्दै गयो उति नै आफ्नो जीवनप्रति मायामोह जगाउने खालको छ । यसमा शब्दहरूको वियोगान्त भाव र सुमधुर स्वरले गीतको गम्भीरता बढी झल्काउंछ । सस्तो लोकप्रियताभन्दा टाढा रहेर निर्माण गरिएको आभास एल्बमका गीतहरूले नेपाली सुगम संगीतको मर्मलाई समेट्ने प्रयास गरेको छ ।
उमेरले गंगाराज कलिलै भए पनि गायनमा उनको परिपक्वता भेटिन्छ । शब्दहरूको भावलाई बुझेर गीतलाई मीठो लयमा ढाल्न सक्ने उनको स्वरमा जादु रहेको छ । बाल्यकालदेखिको गीत संगीतप्रतिको रूचि र शास्त्रीय संगीतमा उच्चशिक्षा हासिल गरेका कुशल गायक गंगाराजको नेपाली म्यूजिक दुनियाँमा ठूलो सम्भावना रहेको छ ।
नेपालमा जस्तो गीत रेकडिङ गर्ने व्यवस्था बेलायतमा पनि हुने हो भने गंगाराजजस्ता धेरै गायक गायिकाहरूको स्वरले नेपाली गीत संगीतको विकासमा ठूलो भूमिका खेल्नसक्ने छ । यसका लागि बेलायतबासी नेपालीहरूको ध्यान जान आवश्यक छ ।

Gangaraj Album

प्रतिक्रिया

सम्बन्धित सामाग्री