स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न

लन्डन । स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

यही २० जुनमा समाजकी अध्यक्ष रुपा गुरुङको अध्यक्षता, लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आले एमभिओ, एमबिईको प्रमुख आतिथ्यतामा वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा तमु धीं यूके, तमु प्ये ल्हु संघ यूके, मगर संघ यूकेलगायत स्याङ्जा जिल्लाभित्रका १२ वटा संस्थाका अधिकांश अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बेलायतस्थित स्याङ्जावासीहरुको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण र सफल बनाएको अध्यक्ष रुपा गुरुङले बताउनुभयो ।

कार्यक्रममा स्याङ्जाकी चेली तथा नृत्य कलाकार आस्मिता रानाको आकर्षक नृत्य प्रस्तुति, एलेक्स थापा, निता गुरुङ तथा नेपालकी चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङको सांगीतिक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । यसले बेलायतमा रहेका स्याङ्जावासी समुदायका लागि कार्यक्रमलाई अविस्मरणीय बनाएको बताइएको छ।

कार्यक्रमको सुरुवातमा समाजकी अध्यक्ष रुपा गुरुङ, आमा अध्यक्ष पार्वती गुरुङ तथा कार्यसमितिलाई भेटघाट भब्यताका साथ समापन गरेकोमा, समाजका संरक्षक मेजर कुमार गुरुङ एमभिओले विशेष धन्यवाद अर्पण गर्नु भएको थियो । साथै उहाँले उपस्थित सम्पूर्ण अतिथिगण तथा स्याङ्जावासीलाई स्वागत गर्दै संस्थाको स्थापना, उद्देश्य र भावी योजनाबारे जानकारी गराउनुभयो। उहाँले सन् २०२० मा स्थापना भएको स्याङ्जा समाज यूकेको मुख्य उद्देश्य जैविक तथा प्राकृतिक प्रकोपबाट प्रभावित जिल्लावासीलाई आपतकालीन सहयोग पुर्‍याउनु रहेको स्पष्ट पार्नुभयो। उहाँले भूकम्प, बाढी, पहिरो, कोभिड, डेंगु, हैजा, जापानी इन्सेफ्लाइटिस, स्क्रब टाइफसजस्ता जैविक तथा प्राकृतिक प्रकोपका बेला जिल्लावासीलाई राहत, स्वास्थ्य सेवा तथा आवश्यक परे अस्थायी आवास व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य समाजले लिएको जानकारी गराउनुभयो। साथै दीर्घकालीन रूपमा आधुनिक कृषि विकास, शिक्षा प्रवर्द्धन, विद्यालयबीच अन्तर्राष्ट्रिय सहकार्य तथा विपन्न बालबालिका र ज्येष्ठ नागरिकको सहयोगमा समाजले विशेष ध्यान दिने जनाएको छ।

कार्यक्रममा समाजले हालसम्म हासिल गरेका उपलब्धिहरू पनि प्रस्तुत गरिएको थियो। कोभिड–१९ महामारीका बेला जिल्लाका ६ वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको, कोल्मामा निर्माणाधीन जिल्लाकै पहिलो गुम्बालाई स्याङ्जावासीहरुले सहयोग गरिएको तथा हालै तमु धीं यूकेद्वारा आयोजित प्रतिष्ठित गोर्खा कप र भलिबल प्रतियोगितामा विजयी हुँदै नयाँ कीर्तिमान कायम गरिएको जानकारी दिइयो। त्यसैगरी, ब्रिगेड अफ गोर्खाजको इतिहासमा हालसम्म नौ जना मात्र लेफ्टिनेन्ट कर्नेल पुगेका व्यक्तिमध्ये तीन जना स्याङ्जाका रहेको र ती तीनै जना कार्यक्रममा उपस्थित रहेको जानकारीले सहभागीहरूलाई गौरवान्वित बनाएको थियो।

संस्थाले आगामी दिनमा विधानलाई पूर्णता दिने, च्यारिटी दर्ता प्रक्रिया अगाडि बढाउने, सदस्यता विस्तार गर्ने, बेलायतस्थित स्याङ्जावासीहरुका लागी सामाजिक सेवा तथा कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने र जिल्लाभित्रका विभिन्न संस्थासँग दीर्घकालीन सहकार्य बढाउने योजना सार्वजनिक गरेको छ। मेजर कुमार गुरुङले संस्थाको प्रारम्भिक यात्रामा विभिन्न चुनौती र अवरोधहरू सामना गर्नुपरेको स्मरण गर्दै समुदायको एकता, सकारात्मक सोच र निस्वार्थ सेवाभावले नै संस्थालाई आजको अवस्थामा पुर्‍याएको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूलाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने सुझाव दिँदै नेतृत्व हस्तान्तरणको संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष रुपा गुरुङले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वहरूलाई फेटा, खादा, फूल तथा पछ्यौरीद्वारा सम्मान गर्नुभयो । उहाँले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने कार्यसमिति, सहयोगी हातहरु, अतिथिगण तथा सम्पूर्ण स्याङ्जावासी समुदायप्रति आभार व्यक्त गर्दै आफ्नो जिल्ला र समुदायप्रति गर्वका साथ एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री