
लन्डन । नेपाली दूतावास लन्डनले अल्डरसटमा नेपाली वृद्धवृद्धामाथि भएको अमानवीय घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ।
दूतावासले बिहीबार १८ जुनमा जारी गरेको विज्ञप्तिमार्फत अल्डरसटस्थित म्युनिसिपल पार्कमा गत मंगलबार साँझ नेपाली वृद्ध नागरिकहरुमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न र सबै पक्षलाई संयमित रहन आग्रह गरेको हो ।
‘बेलायतको अल्डरसटस्थित म्युनिसिपल पार्कमा गत मंगलबार साँझ नेपाली वृद्ध नागरिकहरुप्रति भएको अमानवीय घटनाप्रति यस राजदूतावास गहिरो दुःख व्यक्त गर्दछ। उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा सबै पक्षलाई संयमित रहन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
दूतावासले पीडित नागरिकहरुप्रति ऐक्यबद्धता जनाउँदै साथ र समर्थन व्यक्त गर्ने सबैप्रति धन्यवादसमेत ज्ञापन गरेको छ।