बेन्चमै बसिराख्नुस्, उभिनुपर्दैन
खोल्नुपर्दैन किताब
बुझाउनुपर्दैन होमवर्क
बनाउँदिनँ तपाईंलाई मुर्गा म
गराउँदिनँ उठ्बस्
बस्, आज म तपाईंको क्लास लिन्छु सर
सोध्दिनँ म वाहियात प्रश्नहरू
कसले गर्यो आधुनिक नेपालको एकीकरण ?
पहिलोचोटि कसले फत्ते गर्यो सगरमाथा ?
कसरी भयो श्री ३ जङ्गबहादुरको उदय ?
पाइथागोरसको साध्यले के भन्छ ?
जलस्रोतमा कतिऔँ धनी मुलुक हो नेपाल ?
हाइड्रोजन र अक्सिजन मिलेर के बन्छ ?
बुद्धलाई किन भनिन्छ एसियाको प्रकाश ?
ह्वाट डू यू वान्ट टू बी इन द फ्युचर ?
गर्दिन म यस्ता अर्थ न बर्थका सवालहरू
तर बताउनेछु तपाईंलाई मेरा आफ्ना…
नितान्त आफ्ना केही कुरा
ध्यान दिएर सुन्नुहोला सर
(यो स्कुलको इतिहासमा
आज केही अनौठो भइरहेको छ)
भारी बोक्दाबोक्दै रगत छादेर बितेका थिए मेरा बा
र, तपाईं मलाई घोकाइरहनुभएको छ
कालिजको हाड अड्किएर श्री ३ के जातिको मृत्यु भयो
आङ खसेकी मेरी आमा
हरेक दिन भीर–बेसी गरिरहेकी छिन्
र, तपाईं मलाई रटाइरहनुभएको छ
महारानी के जाति राजपाठमा खोइ कुन्नि के नमिलेर काशी गइन्
मेरा साना भाइबहिनी बुढी औँला चुसिरहेछन्
मरुभूमि पल्टिएका तिनका आँखामा
म दुःखका ऊँटहरू लस्करै हिँडिरहेको देख्छु
र, तपाईं मलाई कण्ठ गराइरहनुभएको छ
इन्द्रेनी पर्दा नाच्ने मुजुरका गीतहरू
म बहिष्कार गर्छु तपाईंका कक्षाहरू
जबसम्म यो कक्षाकोठामा प्रवेश गर्नेछैनन्
बाढीले खाने खेत र पहिरोले लाने बारीको ज्यामिती
झुपडीको अर्थशास्त्र
दुःखको समाजशास्त्र
पीडाको वास्तुशास्त्र
आँशुको रसायनशास्त्र
तबसम्म म बहिष्कार गर्छु तपाईंका कक्षाहरू
चूक घोप्टिएजस्तो अँध्यारो जिन्दगीमा
तपाईंको शिक्षा
जुनकिरीले पिँधमा बोक्ने
लुसिफेरिन जति पनि उज्यालो नभएपछि
मलाई
अपठित या अशिक्षित या औँठाछाप नै रहनुमा
आपत्ति छैन
दुःख छैन
पछुतो त झन् छँदै छैन
ल अब घर जानुस्, सर
क्लास सकियो
सदाका निम्ति ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार