
जुनू दिव्या राना, साहित्य क्षेत्रमा एक चिरपरिचित नाम हो । उनी नारी आवाज र सामाजिक विकृति-विसंगति र भेद्भावविरुद्ध सशक्त रुपले कलम चलाउँछिन् । उनको पहिलो कविताकृति ‘रातो नदी’ भित्र नारी संवेदनासँग जोडेर लेखिएका थुप्रै कविताहरू पढ्न पाइन्छ । शीर्ष कविता रातो नदीमा पनि रजस्वलासम्बन्धी मर्मस्पर्शी कविता छ ।
रजस्वलालाई आ–आफ्नै संस्कार र संस्कृतिअनुसार फरक–फरक तरिकाले व्याख्या गरिन्छ तर वास्तवमा रजस्वला भनेको प्राकृतिक शारीरिक प्रक्रिया हो । जसले महिलाहरूलाई प्रजननको रुपमा तयार गराउँछ । मानवसृष्टिका लागि रजस्वलालाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
कवितासंग्रह रातो नदीको अपार सफलतापछि दोस्रो कृतिको रुपमा लाहुरेनी ‘लाहुरेनी सौन्दर्य’ पुस्तक लिएर साहित्य क्षेत्रमा अर्को साहसिक यात्रा सम्पन्न गरेकी छिन् उनले । उनले एउटा पुस्तकभित्र धेरै विषय समेटेर उदाहरणीय कार्य गरेकी छन् । पुस्तक निकाल्न एकै विधाका लेख रचना हुनु पर्छ भन्ने सोंचलाई उनले लाहुरेनी सौन्दर्य नामको आलेख पुस्तक ल्याएर चुनौती दिएकी छिन् । एक प्रकारले ठिक लागेको छ, किनकि एउटा किताबभित्र आफ्नै स्वादको अथवा आफ्नै इच्छा अनुसारको लेख रचना पढ्न पाउँछन् पाठकले ।
अहिले जमानै त्यस्तै छ ‘मिक्स एन्ड म्याच’ आफ्नै इच्छा अनुसारको लुगा, खाना र सामाजिक संजाल । अनेकतामा एकता, समयअनुसार चल्नु नै अहिलेको युगलाई स्वीकार्नु हो, अब त सबैले यो डिजिटल युगलाई नस्वीकारे अघिल्लो गन्तव्य पुग्नै नसक्ने भएका छौँ । रमिते मात्र बनेर बाँचेमा हाम्रो शेषपछि सन्तति रित्तै हुनेछन् । त्यसैले म त भन्छु, हामीले हाम्रो ‘जमाना’ लेखौँ र पुस्ता हस्तान्तरण गर्दै जाऔं । हामी सबैले भोगेको भोगाई अबका सन्ततिका निमित्त पिजा र बर्गरको सामू मिठो दाल भात जस्तै नौलो कथा बन्नेछ ।
उनको यो दोस्रो पुस्तक ‘लाहुरेनी सौन्दर्य’ भित्र थुप्रै फरकफरक विधामा लेखिएका कथा, निबन्ध, संस्मरण आदि पढ्न पाइन्छन् । मलाई त पुस्तक पढ्दै गर्दा थकाली खाना ‘थाली सेट’ याद आयो । हामीले घरमा खाने खानामा मात्र दाल भात तरकारी र हदै भए अचार हुन्छ । तर थकाली थालीसेटमा त अनेक खाले अचार, साग सब्जी मासु, घ्यू, गुन्द्रुक, सिन्की आदि-इत्यादि हुन्छन् । इच्छाअनुसार कुन कुन खाने आफैले तय गर्नु पर्छ । त्यसैगरी यो पुस्तकमा पनि आ–आफ्नै स्वादका रचनाहरू पढ्न पाइन्छन् ।
सम्भवत: यहाँ समेटिएका लेख, रचनाहरू पहिले नै पत्रपत्रिका र अनलाइनतिर प्रकाशित भैसकेका हुन् । तिनै छरिएका लेख, रचनाहरूलाई एकठाउँ समेटेर दस्तावेजको रुप दिएकी हुन् भनेर लेखकको भनाइमा पनि पढ्न सकिन्छ । कुरो मुनासिव लाग्यो, मैले पनि एक जमाना पूरै जोस् जाँगरकासाथ खुब लेख्ने गर्थें । कतिपय लेख, रचनाहरू बेलायतमा स्थापित एभरेष्ट टाइम्स, विनेपाली, गोर्खा मिडियातिर प्रकाशित भए । कतिपय त्यसै हराए । अहिले लाग्छ, मैले पनि यसरी एकैठाउँमा राखेकी भए आज ती लेख, रचनाहरू साथमा रहन्थे । कास ! मेरो पनि जुनू बहिनीको जस्तो सोंच पहिल्यै आएको भए …?
‘लाहुरेनी सौन्दर्य’ भित्र जम्मा ३४ वटा फरकफरक धारका लेख, रचनाहरू समेटिएका छन्, तीमध्ये मलाई ग्रामीण भेगका बालबालिकाहरूको संघर्षशील कथा बोकेको ‘कालीगण्डकीमा बगेको चप्पल र जिन्दगीको लय’ शीर्षकको संस्मरण खुब मन पर्यो । यो लेखले आफ्नै अतितसित साक्षात्कार गरायो । गाउँमा हुर्कंदै गरेकी एउटी छोरीले बाऊआमाप्रति निभाएको संघर्षको कथा छ । यो संस्मरण गाउँघरमा हुर्कने सबैको कथा हो । यो पढेर सबैले एकपटक आ–आफ्नै बाल्यकाल नियाल्ने छन् ।
मैले पनि सानो छँदा आमासित जाँतो पिस्दा निदाएर अँध्यारोमै झापट खाएको, स्कुल जान छाडेर ओखर खोज्न जाँदा कुटाई खाएको सबै,सबै उक्खुम्मै सम्झेँ । दोस्रो ‘उडान नम्बर चार सय नौ’ यो लेख पनि संस्मरण नै हो । यहाँ लेखिकाले आफ्ना पूज्यनीय बाबा गुमाएको खबर अचानक पाएर उड्नु पर्दाको पीडा पोखेकी छिन् । यो पनि हामी परदेशीहरूको साझा पीडा हो । जीवनमा एकपटक यो दु:ख सबैलाई आउने रहेछ । मैले पनि भर्खरै मात्र आमा गुमाएँ । बेलायत हुँदा बाबा गुमाएँ । वास्तवमा यो समय एकदम कठिन हुन्छ । त्यही माथि यात्रा गर्नु झन् कठिन हुन्छ तर यस्तो अवस्थामा पनि हिम्मत बटुलेर केही लेख्नु सक्नु झनै सहासिक कार्य हो ।
किताबभित्रका सबै शीर्षकहरूमा म पुग्न असम्भव छु किनकि हङकङमा समयसँग सम्झौता गर्न धेरै थोकको बलिदान दिनु पर्छ । मसित पनि समय नभएर आफैलाई राम्रो लागेका लेख, रचनाहरूको मात्र यहाँ थोरै थोरै पाठक प्रतिक्रिया दिने कोसिस गरेकी छु । त्यसो भन्दै गर्दा अरु शीर्षकका लेखहरू नराम्रा छन् भन्न खोजेको भन्ने नसोच्नु होला । मैले माथि पनि भनिसकेकी छु आ–आफ्नै स्वादका खाना खाए जस्तै हो भनेर । अर्को मलाई राम्रो लागेको लेख पेज नम्बर ८९ मा ‘म आफै मरेको सपना’ हो । यो लेखले हङकङमा मात्र होइन संसारमै मान्छे एक्लो हुँदै गएको र सुतेकै अवस्थामा मृत्युवरण गर्दा पनि कसैले थाहा नपाएर कोठामै सडिनु परेको डरलाग्दो तितो सत्यलाई उजागर गरेको छ । सुतेकै अवस्थामा मृत फेलापरेका थुप्रै समाचारहरू पढ्न पाइन्छ । यो एक डरलाग्दो सामाजिक बिखण्डता हो ।
अचेल मान्छे आफैले धेरै स्वतनत्र रहन चाहेएर हो या अरु नै कुनै कारण हो मान्छे एक्लै हुँदै गैरहेका छन् । धेरै त अचेल हामी सामाजिक संजालभित्र रमाउन चाहन्छौं । छिनभरको रमाइलोमा समय घण्टौं बितेको पत्तै पाउँदैनौं । छेउछाऊमा के भैरहेको छ एकछिन मोबाइलबाट आँखा हटाएर हेर्नेसम्म फुर्सद छैन । खाना मगाउने पनि मोबाइल, पैसा तिर्ने पनि मोबाइल । हातको सानो मोबाइलभित्र हामी आफैलाई अटाउने कोसिस गरिरहेका छौं । कसैलाई हेर्न परे मोबाइलमै सर्च गर्छौं, कसैसँग बोल्न परे नम्बर थिच्छौँ । यसरी हामी एक्लिँदै छौं । जुनूका लेखहरूले यिनै कुरोहरूमा सचेत गराएकी छिन् ।
अर्को छ ‘त्यो असहजता’ शीर्षकको लेख यो पनि राम्रो लाग्यो । दश वर्ष लामो जनयुद्धताका गाउँघरमा मानिसले कति त्रासदीपूर्ण समय बिताए भन्ने कुरोलाई आफ्नै भोगाईमार्फत बताएकी छिन् । सम्झन मन नलाग्ने त्यो दश वर्ष सायद हामी कहिल्यै बिर्सने छैनौं । जनयुद्धमा दुई जेठाजु, एक फुपाजु र अनगिन्ती आफन्त गुमाउनेमा म आफै पनि पर्छु ।
देशले दश वर्ष लामो गृहयुद्ध भोगेको त्यो समयले १७ हजार नेपालीको ज्यान लियो, कति लापत्ता पारिए, कतिले अंगभंग भएर बाँच्नु परेको छ । सारा नेपालीले मानसिक र शारीरिक कष्ट भोगे । तर देश अझै खण्डहर छ । उस्तै छ केही परिवर्तन छैन । बेरोजगारका कारण युवाहरू खाडीमा मरिरहेछन् । यो लेखले यिनै कुरोहरू खोतलेको छ ।
जीवन संघर्षशील छ । धेरैजसो लेखहरूले हङकङमा बसोबास गर्ने नेपालीहरूले भोगेका सामाजिक, आर्थिक र भाषाका कठिनाइहरू जस्ताको तस्तै वर्णन गरेको छ। अर्को ‘बाँच्दा नाबेले पनि मर्दा मलामी’मा जति ढिलो सुते पनि निद्रा त बिहानसम्म न हो ! जति छिट्टो हिँडे पनि यात्रा त चिहानसम्म न हो ! यो लाइनले मनै चस्स भयो । शीर्षक हेरेरै पढ्न बाध्य भएँ । यो घटना हुँदा म बेलायतमा थिएँ । सामाजिक संजाल र समाचारतिर छ्यापछ्याप् तीसमाचार हेरेको, पढेको थिएँ । त्यो बेला अत्यन्तै दु:ख लागेको थियो । एउटा जन्मदिनको कार्यक्रमले कत्रो जनधनको क्षति भयो । म कहिलेकाहीं सोच्थें, किन मैले मात्र नानीहरूको तामझामका साथ बर्थडे नमनाइदिएको होला ? तर त्यसदिनको घटनाले केही हदसम्म म ठिक रैछु जस्तो लाग्यो ।
मलाई यस्ता कुराहरूमा बिनासित्ती तामझाम गर्न उहिल्यैदेखि मन लाग्दैन । कहिल्यै मनाएकी छुइनँ पनि बर्थडे । थाहै हुँदैन कहिले आयो, कहिले गयो जन्म दिन । कहिलेकाहीं सम्झेछ्न् भने ‘विस’ गर्छन् परिवारले नत्र त्यत्तिकै । हुन त सबैको आ–आफ्नो सोंच हो । रहर र इच्छा हो । सबै म जस्तो हुनु पर्छ भन्ने छैन । तर पनि यसरी बर्थडे नमनाएको भए त्यो घटना हुने थिएन कि ! भन्ने एउटा चित्त नबुझ्ने कुरो मात्र हो ।
धेरै वर्षअघि भएको यो घटनाले लाग्छ केही त सिके होलान् हङकङका नेपालीहरूले ? बिर्सनै लागेको यो घटना यहाँ राखेर लेखिकाले एकपटक फेरि सचेत गराए झैं लाग्यो मलाई । यसरी खर्च गर्ने पैसाले त बरु समाजसेवा गरौँ भन्छु म त । नेपालमा कति छन् आश्रमतिर असहाय नानीहरू, आमाहरू उनीहरूलाई दान गरौँ त्यहाँबाट पुण्य मिल्छ बरु ।
अर्को एउटा शीर्षकमा टक्क आँखा अडियो ‘के घर के डेरा’ अघि भर्खरै बाटोमा साथीहरूसँग सरकारी घरको बारेमा कुरा भएको थियो । सरू भन्दै थिई, ‘ए सुन न त्यो ठूली कान्छीले पनि हामीले पाएकै ठाउँमा हाउजिङ्गको घर पाइछे, थाहा पायौ नि ? ‘ए लौ, भनेपछि कहिले तेरोमा, कहिले मेरोमा, कहिले उसकोमा दुःख सुखको गफ मार्न आउन मिल्ने भयो नि’ अर्कीले भनी ।
पेज नम्बर १२५ बाट साभारः– हङकङमा बसोबास गर्ने आम नेपालीको सपना हो यो । यो देश मेरो होइन, पैसा कमाएर आफ्नै देश जान्छु भन्ने मानसिकता हुँदा हुँदै पनि आज भन्दै भोलि भन्दै यहीं जीवन बितिजाने भएपछि अन्तिम विकल्प यहाँ एउटा घर भए राम्रो हुन्थ्यो भन्ने नै हो ।
हङकङमा सबैभन्दा धेरै पैसा जाने घरभाडामा हो । त्यसपछि बिजुलीको बिल, ग्यास आदिको । यहीं जन्मिएका बच्चाबच्ची नेपाल निस्कन मान्दैनन्, हामी उनीहरूलाई माया मारेर जान सक्दैनौं । छोराछोरी पछिका जेनेरेसन, नाता नातिनाका मायाले यहीं नै जीवनलीला समाप्त भएका थुप्रै बुवा आमाहरूको मलामी पुगिन्छ । कतिले म मरे भने मेरो शव नेपाल निकाली देऊ है भन्दै सन्ततिलाई खबर छाडेको कारुणिक भनाइहरू सुनिन्छ । विदेशमा लामो समय बस्ने हामी सबैको भविष्य हो यो ।
त्यस्तै ‘रुकू’ शीर्षकमा रुकू नाम गरेकी एक महिला पात्राले भोगेको दुखान्त कथा छ । रुकूको जस्तो जीवन कसैले भोग्न नपरोस् । सानो छँदा सौतेनी आमा भोगेकी उसले बिहेपछि सुत्केरी अवस्थामा आफ्नै साथी सौता भोगेपछिको दिनहरू कहिल्यै राम्रो हुँदैन । सानो काखे छोरोसित उसले मेलापात, घाँस, दाउरा गर्दागर्दै एकदिन घाँस काट्ने क्रममा लडेर मृत्युवरण गर्छिन् । यो कथा रियल घटना जस्तो पनि लाग्छ पढ्दा सायद लेखिकाले सानोमा देखेको कोही पात्रा हुन सक्छ ।
शीर्ष लेख ‘लाहुरेनी सौन्दर्य’लाई यहाँ उल्लेख नगरे मेरो पाठक प्रतिक्रिया नै अधुरो पो रहने हो कि ! तर यो शीर्षकलाई मैले जुन ढंगले बुझेँ त्यो भन्दा फरक रुपले ब्याख्या गरिएको थियो विज्ञहरूद्वारा विमोचनको दिन ।
सरसर्ती बुझ्दा यहाँ पात्र सयम्म एक साथीसँग लाहुरेनी भएपछिको सुखद पाटो भन्दा दुखद पाटोलाई बढी जोड दिएर गफ गरेकोले सौन्दर्य कसरी भनियो ? भन्ने प्रश्न थियो तर ‘लाहुरेनी सौन्दर्य भनेको बाहिरी सुख होइन, यसलाई ब्युटी अथवा सुन्दरता भनि बुझ्नु हुन्न भन्ने अनेक उदाहरणहरू प्रस्तुत भएपछि, मेरो बुझ्ने ढंग बेढंगको रैछ भन्ने लाग्यो ।
यस्तै थुप्रै राम्रा राम्रा भनाइ र भोगाईको संगालो हो यो ‘लाहुरेनी सौन्दर्य’ किताब पढ्नुस् तपाईंहरूलाई थाहा हुनेछ विदेश त्यसमा पनि हङकङको भोगाई, वातावरण, समाज र यहाँका रहनसहन जान्ने बुझ्ने मौका पाउनु हुनेछ । मैले सबै लेख रचनाको बयान गरे भने अन्याय हुनेछ किनकि सबैको सोचाई र बुझाई एकै खालको हुँदैन । त्यसैले किताब पढ्न आग्रह गर्दै बिदा चाहन्छु । कृति सफलताको शुभकामना दिँदै बहिनी जुनुलाई माया, आशीर्वादको साथमा धेरै धेरै बधाई।
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति