
लन्डन । समाजसेवी डा.सुमाया राईको जीवनयात्रामा आधारित कृति ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन गरिएको छ ।
नेपाली महिला समाज बेलायतले १६ मे २०२६ मा लन्डनको साउथ ह्यारोमा आयोजना गरेको पुस्तक विमोचन तथा विमर्श कार्यक्रम वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले उक्त पुस्तक विमोचन गर्नुभएको हो । डा.राईको यो पाँचौं कृति हो ।
वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिएकी डा.राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक तथा किरात राई यायोक्खाकी पहिलो महिला अध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका अनुभव समेटेर ‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सिर्जना गर्नुभएको हो ।
साढे पाँच सय पृष्ठमा विस्तारित उक्त कृतिभित्र प्रथम चरण, मध्य चरण र उत्तर चरण गरी १ सय १३ शीर्षकका लेखहरू समेटिएका छन् । साथै, लेखकको वंशवृक्ष, चिनारुहरूको दृष्टिकोण, अनुसूची तथा तस्बिरहरू पनि समावेश गरिएका छन् ।
यसअघि उनका ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ (कविता सङ्ग्रह, २०७२), ‘छाम सुनाखरी’ (गीत सङ्ग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता तथा गीत सङ्ग्रह, २०७५) प्रकाशित भइसकेका छन् । यी कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, किराती इतिहास तथा पहिचानलाई उजागर गरेका छन् ।

कार्यक्रममा पुस्तकमाथि बहस तथा समीक्षासमेत गरिएको थियो । कृतिमाथि साहित्यकार विजय हितान, समाजसेवी सुमित्रा राई, सञ्चारकर्मी तथा पत्रकार विमला सेने, साहित्यकार विश्वासदीप तिगेला र साहित्यकार डा.रूपक श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । बहसको सहजीकरण कवि तथा साहित्यकार शशी सुब्बा थापाले गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा उद्घाटन तथा शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा साहित्यकारहरू दुर्गाप्रसाद पोखरेल, राज श्रेष्ठ, देवेन्द्र खेरेस, निर्भीकजंग रायमाझी र खुपेन मगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पहिलो चरणको कार्यक्रम नेपाली महिला समाज बेलायतकी सचिव रिना पाम्फुले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा कुमारी निरौलाले कविता वाचनसमेत गर्नुभयो । कार्यक्रममा पुस्तकको समीक्षा गर्दै अतिथिहरूले प्रसंगगत रूपमा अध्यायहरूलाई अझ समृद्ध बनाउन सुझाव दिएका थिए भने बाँकी लेखन यात्राको सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, टिप्पणीकारहरू साहित्यकार विजय हितान, समाजसेवी सुमित्रा राई, सञ्चारकर्मी तथा पत्रकार विमला सेने, समाजसेवी तथा सञ्चारकर्मी विश्वासदीप तिगेला र साहित्यकार डा. रूपक श्रेष्ठलाई दोसल्ला तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । नेपाली महिला समाज बेलायतकी अध्यक्ष विमलाकुमारी राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा