स्कटलैण्डको जनमतसंग्रहले सिकाएको पाठ

Shashi-Poudel

राष्ट्रियता र राष्ट्रिय एकता भनेको के हो भन्ने कुराको अस्ति विहिबार सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालमा भएको जनमत संग्रहले राम्रो पाठ सिकाएको छ । स्कटलैण्ड स्वतन्त्र राज्य हुनुपर्छ भन्ने विवाद जब बेलायतले आफ्ना विभिन्न कोलनी छोड्न थाल्यो त्यतिबेलादेखि नै उठेको हो । तर यस सवालमा सक्रिय हुने व्यक्तिको अभाव थियो । त्यो अभावको पूर्ति त्यहाँका मुख्यमन्त्री एवं स्कटिश नेशनल पार्टीका नेता अलेक्स सालमण्डले गरेका थिए । संयुक्त अधिराज्य बेलायतको विगत तीनसय सात वर्षदेखिको एकतामाथि प्रश्न उठाएर स्कटलैण्डलाई स्वतन्त्र राज्य बनाउनु पर्छ भन्ने सवालमा त्यहाँका मुख्यमन्त्री सक्रिय भएपछि बेलायती सरकारले जनमतसंग्रह गराउने भनी सम्झौता गरेको थियो । सोही सम्झौताअनुरुप जनमत संग्रहमा स्कटलैण्ड स्वतन्त्र राज्य हुने कि बेलायतकै एउटा राज्यका रुपमा रहिरहने भन्ने प्रश्न माथि जनमतसंग्रह गरिएको थियो । जनमत संग्रहले स्कटलैण्ड बेलायतकै एक भाग रहिरहनुपर्छ भन्ने पक्षमा बहुमत प्राप्त गरी बेलायतको राष्ट्रिय एकतामा बलियो खम्बा गाडेको छ ।
लण्डनमा जन्मे पनि स्कटलैण्डको आबर्डिन विश्वविद्यालयमा अध्ययन गरेका भूतपूर्व चान्सलर आलिस्टर डार्लिंगलाई बेलायत एकताको पक्षमा निर्वाचन प्रचार प्रसारका प्रमुख बनाएर जिम्मेवारी दिइयो । उनी एडिनबरा दक्षिणका साँसद पनि भएकाले बेलायतका तीनवटै ठूला पार्टीहरुले उनलाई यो जिम्मेवारी दिएका थिए । दुवै पक्ष विगत एक वर्षदेखि नै सक्रिय प्रचार प्रसारमा लागे । यहाँसम्मकी संचारसाधनहरुले अलेक्स सालमण्ड भर्सेज आलिस्टर डार्लिंग भनेर प्रचार प्रसार समेत गरे । प्रचार प्रसार क्रममा अगस्तको पहिलो हप्तासम्म आइपुग्दा स्कटलैण्ड स्वतन्त्रताको पक्षमा पल्ला गह्रुँगो हुनपुग्यो । बेलायतका प्रधानमन्त्री एवं कन्जरभेटिभ पार्टीका नेता डेबिड क्यामरुन आफैँ सक्रिय प्रचार प्रसारमा लागे । यस्तै लेबर पार्टीका नेता एवं विपक्षी दलका नेता एड मिलिब्याण्ड पनि सक्रिय भए तर पनि स्कटलैण्डका जनताको मनोविज्ञानमा परिवर्तन ल्याउन सकेनन् । यहाँ सम्मकि प्रधानमन्त्री डेबिड क्यामरुनले “यदि तपाईहरुले म प्रधानमन्त्री भएको मन पराउनुहुन्न र त्यसकारणले स्कटलैण्ड स्वतन्त्र राज्य हुनुपर्छ भन्नुभएको हो भने म पद छोड्न तयार छु” सम्म भने । तर पनि अवस्थामा सुधार आएन । बेलायत एकताको पक्षमा अवस्था झिनो देखिएपछि बेलायतको सत्ताधारी कन्जभेटिभ पार्टी, सरकार साझेदार लिबडेम पार्टी र प्रमुख प्रतिपक्षी लेबर पार्टीको संयुक्त चाहनामा पूर्व प्रधानमन्त्री गोर्डोन ब्राउनलाई जनमतसंग्रह निर्वाचनमा सक्रिय गराउने निर्णय गरी सेप्टेम्बरको पहिलो हप्तादेखि गोर्डोन ब्राउन सक्रिय भए । जनमतसंग्रहमा थोरै प्रतिशतको फरक भएपनि बेलायत एकताको पक्षमा बहुमत आयो । यो जनमतसंग्रहमा पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र वर्तमान उपप्रधानमन्त्री निक क्लेग र उनको पार्टी खासै संलग्न भएनन् । यद्दपि टोनी ब्लेयर स्कटलैण्डकै एडिनबरामा जन्मेका हुन् । किनभनेे टोनी ब्लेयर स्कटलैण्डका जनताबीच प्रिय छैनन् । निक क्लेग यसै पनि स्कटलैण्डमा अप्रिय छन् ।
हो बेलायतको इतिहासलाई कोट्याउने हो भने, विश्वका अन्य मुलुक जहाँ जहाँ बेलायतको साम्राज्य अर्थात कोलनी थियो त्यहाँ त्यहाँ बेलायतले ठूलो अन्याय गरेको छ । यस्ता मुलुक कमै छन् जहाँ बेलायतले राज्य गरेको थियो, त्यो मुलुक छोड्नु पर्दा त्यो मुलुकलाई टुक्रा नपारेको होस् । यदि टुक्रा पारेको छैन भने त्यहाँ जातिय, धार्मिक र रंगभेदको बिषालु द्वन्द्व घुसाएर छोडेकाले कतिपय मुलुकहरु आज पनि द्वन्द्वरत छन् । र, आफ्नै रगतका भाइ-भाइबीच काटमार भैरहेको छ । बेलायतले रोपेको रंगभेदको बिउको कारणले दक्षिण अफ्रिकामा रंगभेद विरुद्धको आन्दोलन गर्दा नेल्शन मण्डेलाले झण्डै तीन दशक जेलजीवन बिताउनु परेको थियो । भारत हामीले देखिरहेका छौं, तीन टुक्रा पारेर छोड्यो । आजको पाकिस्तान, बंगलादेश र भारत बेलायती साम्राज्य त्यहाँ आउनुअघि र बेलायतले त्यहाँ राज्य गर्दासम्म एउटै मुलुक थिए । १९४७ मा बेलायतले भारतको कोलनी छोड्दा एउटै भारतलाई तीन टुक्रामा विभाजन गरेर छोडेको हो ।
अरुलाई टुक्रा टुक्रा पार्दा कस्ता पीडा हुँदोरहेछ भन्ने कुरा बेलायती साम्राज्यले अहिले आफैँ भोगिरहेको छ । विगत दुई वर्षअघि फकलैण्डको विवादले पनि कम पीडा दिएन । र, अहिले स्कटलैण्डको स्वतन्त्रताको प्रश्नमा गरिएको जनमतसंग्रहमा पनि ।
ग्लोबलाइजेशनले संसारका भौगोलिक सीमाहरु पार गरेर एकै ठाउँमा ल्याइरहेको वर्तमान अवस्थामा मुलुक छुट्याएर राज गर्न चाहने अलेक्स सालमोन्ड जस्ता संकुचित विचार भएका व्यक्तिहरुका लागि स्कटलैण्ड स्वतन्त्रताका सवालमा गरिएको जनमत संग्रहले एक चुनौती दिएको छ । साथै बेलायती र पश्चिमेली साम्राज्य जसले दुईचार सय डलरको चेक लेखेर गरिब समुदायबीच बाँडेर धर्म परिवर्तन गराउँछन् र समाज फुटाउने काम गरिरहेका छन् उनिहरुका लागि पनि यो एक चुनौती हुने छ ।
शशी पौडेलका विचारहरु www.theglobal.co.uk  मा पढ्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री