बेलायतमा एउटा बेग्लै कन्सर्ट

Situ Kharel
लन्डन  । सुस्त मनस्थितिकी आफ्नी जेष्ठ सुपुत्री स्मारिकाको असहज जीवनशैलीले गायिका सितु खरेल र जीवनसाथी सञ्चारकर्मी सुमन खरेललाई पक्कै पीडावोध हुंदो हो । तर, आफ्नो पीडाभन्दा स्मारिका जस्ता नेपालका हजारौं वालवालिकाको कारुणिक अवस्थाले यी दम्पत्तिलाई अरु पिरल्यो र परिकल्पना गरे सितु सांझ लाइभ कन्सर्ट । नेपालका अपाङ्ग वालवालिकालाई सहयोग गर्ने कन्सर्ट उद्देश्य ।

गत सप्ताहन्त लन्डनबाटै स्थापित गायिका सितुले दशकपछि अल्डरसट र लन्डन शहरमा आफ्नो एकल कन्सर्ट गरिन् भिन्न शैलीमा । विदेशी वाद्यवादकहरु सम्मिलित क्रस् कल्चरल ग्लोवल म्यूजिकल ग्रुपको लाइभ म्यूजिक अनि तीन घण्टा निरन्तर गायन । संगीतका चारै विद्या पप, लोक, आधुनिक र शास्त्रीय शैलीका गीतको समिश्रण, प्रत्येक शोमा बीस भन्दा बढि गीत अनि १५ मिनेट शास्त्रीय बीट प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिइन् सितुले ।
त्यस सांझ सितुले संगीत धरोहर शान्ति ठटाल, तारा देवी, अरुणा लामा, उषा मंगेशकर, न्हू बज्राचार्य आदिका गीत सुनाइन् । आफ्ना बाबु आमा कल्याण रिमाल र बिजु रिमालका गीत नगाउने त कुरै भएन । संगीत अध्ययनका लागि विश्वप्रसिद्ध लन्डनस्थित ट्रिनिटी कलेज अफ म्युजिकबाट गायनमा चार वर्षको बीम्यूज (अनर्स डिग्री) गरेकी सितुले कन्सर्ट अवधिमा बडो उत्कृष्ट शास्त्रीय गीत प्रस्तुत गरेर आफू गायनमा निखारिंदै गएको उदाहरण देखाइदिन् ।
‘बेलायतमा म धेरै कन्सर्टमा सहभागी भएं तर सबैभन्दा उत्कृष्ट लाइभ कन्सर्ट सितु सांझ लाग्यो’, एकजना समाजसेवी रिटायर्ड मेजर डमर घलेले कार्यक्रमपछि प्रतिक्रिया दिए, ‘नेपालका अपांग वालवालिकाको सहयोगका लागि निस्वार्थ आयोजित कार्यक्रम ज्यादै प्रशंसनीय छ ।’
अर्का दर्शक डा. विनोद ढुंगानाले पनि कन्सर्टको खुलेरै तारिफ गरे । भने, ‘सितु सांझले बेलायतमा कन्सर्टका सवालमा नयां आयाम थपिदिएको छ ।’ हुन पनि यो कन्सर्ट धेरै सवालमा पृथक थियो । दम्पत्तिको संयुक्त प्रस्तुति, बेलायतको नेपाली समुदायले नै हुर्काएको प्रतिभा, संगीतका चारै विद्याका गीत प्रस्तुत अनि अन्तर्राष्ट्रिय व्याण्ड संलग्न भएकाले कन्सर्ट भिन्न अनुभूति गरे दर्शकले । त्यस्तै एकजना अर्का दर्शक सुरेन्द्र नेपाल श्रेष्ठले संगीतका पारखीहरुलाई सितु सांझले राम्रो खुराक दिएको टिप्पणी गरे । उनी भन्दै थिए, ‘विदेशी वाद्यवादकहरुको जोडदार प्रस्तुति अनि वरिष्ठ संगीतकारहरु न्हू बज्राचार्य र प्रभुराज ढकालको उपस्थितिले कार्यक्रममा सुनमा सुगन्ध थपेको भान हुन्थ्यो । सुमन खरेलको उद्घोषण त किन तारिफ गर्नु पर्यो र ?’

सितुका गुरु हुन् संगीत प्रवीण नरराज ढकालका पुत्र प्रभुराज ढकाल । गुरु मानेर स्टेजमा अवसर दिएकामा संगीतकार ढकाल पनि प्रफुल्ल देखिन्थे । अतिथी कलाकार न्ह्यू बज्राचार्य कन्सर्टकै लागि बेलायत आए । यी दुई संगीतकारसहित क्रस कल्चरल ग्रुपका भोकलिष्ट गंगा थापाले केही युगल गीतमा साथ दिए ।
कार्यक्रम सञ्चालनको जिम्मा लिएका सितुका श्रीमान् बीबीसी आवद्ध सञ्चारकर्मी सुमन खरेलले नेपालमा अपांग वालवालिकाका लागि काम गरिरहेका तीन संस्थाहरु दयाराम महर्जनको ललितपुरस्थित डिसेबल्ड सर्भिस् एसोसिएसन, सुधा सिलवालको काभ्रेपलाञ्चोकस्थित सुस्तमनस्थिति पुनस्र्थापना केन्द्र र विमला श्रेष्ठको सुस्तमनस्थिति सेवा केन्द्र, टांडीको सहयोगार्थ कन्सर्ट गरिएको जनाए । 
खरेलले प्रतिवद्धता अनुरुप १६ लाख रुपैयांको कोष स्थापना गरि उल्लेखित संस्थालाई सहयोग गरिने जनाएका छन् ।

ब्रिटेनमा रहेर झण्डै एक दशकदेखि नेपाली गीत संगीतमा पूर्ण समर्पित गायिका खरेलको स्मारिका, सिम्रिक, परी, निर्मन, सितु र बताससंगै गरि ६ एल्बम सार्वजनिक भइसकेका छन् ।

कार्यक्रम सञ्चालन गर्दै सञ्चारकर्मी सुमन खरेल । तस्विर ः मिलन तमु

कार्यक्रम सञ्चालन गर्दै सञ्चारकर्मी सुमन खरेल । तस्विर ः मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री