बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: ११:१७ | UK Time: 06:32

धर्ममा राजनीति

वीनेपाली
२०७१ भदौ १८ गते ०:३६

254245_10150214473487993_8308950_n

विजयले यौटा धार्मिक समूहमा लागेर आफ्नो घर परिवार सबै छाड्यो । उनीहरुकै भेषभूषा र जीवनशैली अपनाएर हिंड्यो । बीचमा एक दुई महिना आफ्नो कार्यव्यस्तताको कारण ऊ त्यस धर्मसंगठनको आश्रममा जान सकेन । जब ऊ आफ्नो कामबाट आश्रम फर्कियो त आश्रमले उसलाई कार्वाही गरिसकेको रहेछ । आश्रममा नआइकन बाहिर बाहिरै व्यस्त भएर धर्मच्यूत भएको भन्दै उसलाई आश्रम प्रवेश गर्नै दिइएन । आफ्नो घर परिवार नातागोता सबैलाई त्यागेर धर्ममा लागेको विजयलाई आजकाल त्यस धार्मिक समूहका कोही पनि सदस्यहरु बोल्न समेत हिंचकिचाउँछन् । विचरो विजय आजकाल घर न घाटको भएर त्यत्तिकै रन्थनिएर हिंडिरहेछ ।
बरु कुनै पनि धर्मकर्ममा नलागेका सांसारिक मानिसहरु केही उद्दार र मानवीय भावनाले भरिएका होलान् । उनीहरु परिस्थिति अनुसार धेरै लचकदार पनि होलान् तर तथाकथित धर्ममा लागेका मानिसहरु धेरै नै कठोर, अमानवीय र निर्दयी हुने गरेको पाइन्छ । उनीहरु जतिसुकै अधर्मी भए पनि उनीहरुका सबै कर्तुतहरु धर्मको नाममा भए पछि कसैले केही गुनासो गर्ने ठाउँ पनि नहुँदो रहेछ । विजयले उनीहरुलाई बुझाउन कयौं प्रयास ग¥यो परन्तु ती सबै निरर्थक नै ठहरियो । ती धर्मका ठेकेदारहरुले उनको कुरा सुनेर आफूहरुलाई विजयभन्दा पनि तल राख्ने काम किने गर्थे र ? यो त एक सानो उदाहरण मात्रै हो । आज दैनिक अखबार, रेडियो, टेलिभिजनमा धर्मकै नाममा हजारौं निर्दोष व्यक्तिहरुको निर्मम हत्या र यातनाकै समाचारहरुले भरिएका हुन्छन् । मनुष्य जातिको इतिहासदेखि वर्तमानसम्मकै पानाहरु पल्टाएर हेर्ने हो भने धर्मको नाममा जति अधर्म, हत्या, हिंसा, दमन र अत्याचार अरु कुनै पनि बहानामा भएको छैन् ।

धर्मले त मानिसलाई शान्ति, सुरक्षा, आपसी सद्भाव, विनम्रता, करुणा र स्वतन्त्रता पो प्रदान गर्नुपर्ने हो । धर्मले त मानिसलाई विनम्र, समझदार र उपकारी पो बनाउनु पर्ने तर हाम्रा तथाकथित धर्मगुरु, पण्डित, पुजारी, पुरोहित, धर्मभिरुहरु जति अहंकारी, कठोर, निर्दयी र असमझदार व्यक्ति अरु विरलै होलान् । तथाकथित आस्तिकको तुलनामा बरु नास्तिक नै बढी उद्दार, इमान्दार, समझदार र करुणामय हुन्छन् । किन यस्तो भइरहेको छ त आखिर ? पक्कै पनि मानिसको धर्मप्रतिको बुझाइ र धारणामा व्यापक गल्ती र त्रुटी भइरहेको हुनुपर्छ ।

वास्तवमा, धर्म भनेको नितान्त व्यक्तिगत घट्ना हो । यसको दोश्रो, तेश्रो व्यक्ति या समूह र भीडसँग केही पनि लेनदेन छैन । भीड र समूह त राजनीतिको मात्र हुन्छ । धर्म र राजनीति नितान्त विपरित विषयहरु हुन् । कसैले धर्मको नाममा संगठन बनाउँछ, भीडभाड बढाउन खोज्छ भने उसले धर्म त कुनै हालतमा गर्दैन तर धर्मको नाममा राजनीति मात्र गरिरहेको हुन्छ । जब धर्म संगठनमा परिवर्तन हुन्छ तब हामीले बुझ्नुपर्छ कि अब त्यो धर्म, धर्म नरही राजनीतिमा पतन भयो । वास्तविक धर्मको त कुनै झुण्ड नै हुँदैन । अनि धार्मिक व्यक्तिले आफ्नो अनुभवमा विश्वास गर्छ कुनै गीता, कुरान, बाइबल या धर्मग्रन्थमा होइन । न त अरुले भनेका कुनै पनि वाहियात कुरामै विना आफ्नो अनुभव विश्वास गर्दछ । हामीले अनादिकालदेखि नै धर्मको नाममा अरुले भनेका कुरालाई नै अन्धाधुन्ध रुपमा पछ्याइरहेका छौं । तर धर्म त विज्ञान भन्दा पनि कयौं गुणा बढी प्रयोग र स्वानुभवमा निर्भर हुने गर्दछ । आज जसजसलाई हामीले भगवान भनेर पुज्छौ ती व्यक्तिहरुले कदापि अन्धविश्वासलाई धर्मको रुपमा अंगालेनन् । उनीहरुले त आफ्नै जीवनलाई प्रयोगशाला बनाए, आफ्नै जीवनलाई दाउमा राखेर सत्यको साक्षात्कार गरे भने तिनीहरुले कदापि मानिसहरु आफ्नो पछाडि भेडा झैं अन्धविश्वासी भएर लागोस् भन्ने चाहेनन् । बुद्ध आफैं बौद्ध थिएनन्, इशामहिस इसाइ थिएनन्, न शिवजी नै हिन्दू थिए न त मोहम्मद नै मुसलमान थिए । महावीर कहिल्यै जैन भएनन् अनि गुरु नानक पनि कदापि सिख थिएनन् । उनीहरुले त समाज र झुण्डबाट टाढा गएर आफैं कठोर परिश्रम गरेर ज्ञान प्राप्त गरे । पछि तिनका अनुयायीहरुले ति स्वतन्त्रताका पुजारीहरुकै नाममा संघ, संगठन र भीडको स्थापना गर्दै धर्मको नाममा राजनीति गरे र त्यही राजनीति मौलाउँदै जाँदा आज समस्त मानवता माथि नंै महासंकट अनि खतराको बादल मडारिरहेको छ ।

ज्ञानीहरुले गहिरो ध्यान र साधना गरेर सत्यलाई आफैं अनुभव गरेका हुन्छन् । जुन सत्यलाई शब्दमा जस्ता की तस्तै अभिव्यक्त गर्न सम्भव हुँदैन तैपनि मानवप्रतिको अगाध प्रेमका कारण उनीहरु त्यो सत्यलाई शब्दमा उतार्न विवश हुन्छन् । ती शब्दहरु त्यो सत्य नै नभएर केवल त्यसको झलक मात्र हुन् । तर आफ्नो केही पनि सत्यका अनुभव नभएका तिनका अनुयायीहरुले तिनै शब्दलाई आफ्नै शैतान दिमागी खेलको आधारमा अनेकौं अर्थको अनर्थ लगाएर आफ्नो अभीष्ट पूरा गर्ने गर्दछन् । त्यसैले त जो कोही पनि ज्ञानमा उपलब्ध व्यक्तिको देहान्त हुने बित्तिकै प्रायजसो सबै धर्महरु धर्म नरही राजनीतिमा पतन हुनपुग्दछन् ।
धर्म भनेको त परम स्वतन्त्रता हो तर ती धार्मिक संगठनहरुले व्यक्तिको स्वतन्त्रताको कदर गर्नु त कहाँ हो कहाँ स्वतन्त्र व्यक्तिलाई पनि जबर्जस्ती बल र हतियार देखाएर हुन्छ या लोभ, मोह, प्रलोभनमा पारेर आफ्नो तथाकथित धर्ममा प्रवेश गराउने गरिरहेका छन् । यथार्थमा त धर्मको कुनै पनि सम्बन्ध संख्या र भीडसँग कदापि हुन्न । धर्ममा अल्पमत र बहुमत भन्ने हुँदैन, त्यो त अधर्ममा मात्र हुन्छ । धर्म भनेको सत्य हो र सत्यको बहुमतसँग केही सम्बन्ध हुन्न । एकजना होस् या करोडौं सत्य सत्य नै हुन्छ । ज्ञानीहरुले त यही सत्यलाई आफैंले साक्षात्कार गरेका हुन्छन् तसर्थ उनीहरु एक्लै भए पनि उनीहरुलाई कुनै फरक पर्दैन तर जो पण्डित, पादरीहरु छन् उनीहरुलाई सत्यको एक छेउ पनि ज्ञान हुँदैन र उनीहरु केबल भीड बढाएर आफ्नो आत्मविश्वास बढाउने प्रयास गरिरहेका हुन्छन् । यिनीहरुको आफ्नो त विवेक शून्य नै हुन्छ तर जसरी हुन्छ आफ्नो संख्या बढाएर आफैं आश्वस्त हुन खोजिरहेका हुन्छन् कि हामी सही नै छौं किनकी यति धेरै मानिस कसरी गलत हुन सक्छ ? तर सत्य त के हो भने यसरी बल, लोभ, मोह या प्रलोभनको भरमा धर्ममा लाग्नेहरुले के जीवनमा केही रुपान्तरण गर्लान् त ? ज्ञानहीन, विवेकहीन ढंगले आफ्नो बाहिरी रंग, भेष र जीवनशैली जति बदले पनि अन्तरात्मामा त उनीहरुलाई त्यस धर्मप्रति अपार घृणा र वैरभाव नै रहिरहनेछ । यस्तो धर्मले अन्ततोगत्वा समाजमा प्रेम र कल्याणको बदला आपसी वैमनष्यता र अराजकता नै निम्त्याउने सुनिश्चित छ ।

हरेक जसो धार्मिक संगठनका मानिसहरुले आफू इतर आस्था भएका मानिसहरुलाई तल्लोस्तरको प्राणीको रुपमा हेर्ने र व्यवहार गर्ने गर्दछन् । उनीहरुलाई होच्याउने र घृणा गर्ने गर्दछन् । उनीहरुको आफ्नो त ज्ञानको आँखा बन्द नै हुन्छ भने जो ज्ञानको आँखा खोल्न चाहान्छ उनीहरुलाई पनि चयनले बस्न दिंदैनन् । यी अविवेकीहरु मुखले त ईश्वर नै सर्वशक्तिमान भन्छन् तर व्यवहारमा भने त्यही शक्तिमान ईश्वरको लागि भनेर आफैं हातहतियार र छल बलको प्रयोग गरेर ईश्वरलाई सामथ्र्यहीन भएको पो प्रमाणित गरिरहेका छन् । वास्तवमा त उनीहरु आफ्नो धार्मिक संगठनको जति माथिल्लो ओहोदामा पुगे पनि राजनीतिक नेताहरुको जस्तै यिनीहरुको पनि आत्मरुपान्तरण त केही पनि भएको हुँदैन । भित्र भित्रै त उनीहरु पनि काम, क्रोध, लोभ, मोह र अहंकारले ग्रस्त नै भइरहेका हुन्छन् त्यसैले त यिनीहरुबाट नै बलात्कार, अत्याचार अनि भ्रष्टाचार जस्ता महा अधार्मिक कामहरु भइरहेको हामी दिनहुँ जसो समाचारमा पढिरहेका छौं ।

वास्तवमा धर्म भनेको स्वभाव हो । कुनै पनि व्यक्तिले आफ्नो प्राकृतिक या वास्तविक स्वभाव थाहा पाउन भीडमा बसेर कदापि सम्भव हुन्न । भीडमा त उसले आफ्नो स्वभाव भुल्न र त्यसमाथि अनेक नक्कली स्वभावहरुको जलप लगाउन मात्र सिक्दछ । त्यसैले कसैले कुनै धार्मिक संगठनमा लागेर या त्यसको ठूलो पद ओगट्दैमा धार्मिक भएको ठान्छ भने त्यो उसको भ्रम मात्रै हो । धर्ममा पद भन्ने हुँदै हँुदैन किनकी अस्तित्वमा कोही ठूलो र सानो भन्ने हुँदैन । यदि त्यसो हुँदो हो त मानिस जन्मँदै प्रकृतिले नै कसैलाई घुम्ने मेच, कसैलाई सोफा र कसैलाई भने सामान्य काठको मेच दिएर यस पृथ्वीमा पठाएको हुन्थ्यो । धर्मको नाममा हाम्रो संसारमा जे चलिरहेको छ त्यो एक प्रकारको राजनीति नै हो । त्यसैले त जतिसुकै ठूलो पदमा आसिन धार्मिक नेता भए पनि उनीहरु सत्य र ज्ञानको उपलब्धिबाट सामान्य मान्छेहरु भन्दा पनि झनै टाढै रहेको उनीहरुको व्यवहारबाट हामीले स्पष्ट देख्न सक्छौं ।

यदि संसारमा वास्तविक धर्मको नै विकास गर्नुछ भने मानिसलाई उसको परम स्वतन्त्रतामा विश्वास राख्नुपर्दछ । यही स्वतन्त्रतामै प्रेम, सम्मान तथा कल्याणकारी भावनाको विकास हुन सक्दछ । कसैले यो धर्ममा लाग र त्यो धर्ममा लाग अर्थात यो धर्म ठिक छ र यो धर्म बेठिक छ भन्नु भन्दा पहिले आफूले कुनै धर्ममा लागेर कत्तिको आत्मरुपान्तरण गर्न सफल भएको छ । त्यसको आत्ममूल्यांकन गर्नु जरुरी छ । यौटै ब्लेड हो खराब मानिसको हातमा प¥यो भने त्यसले कयौंको ज्यान लिन सक्छ र चिकित्सकको हातमा प¥यो भने कयौंको ज्यान जोगिन सक्छ । धर्म त्यही ब्लेड जस्तै हो । प्रत्येक व्यक्तिले आफ्नो स्वभावको पहिचान गर्न सकेमा उसमा विवेक जन्मिन्छ र त्यही विवेक नै धर्म हो । एक व्यक्तिका लागि बाँचुन्जेल र मरेपछि पनि काम लाग्ने भनेको यही विवेक मात्रै हो । विवेक विहीन मान्छे जसजसले जे जे गरेर स्वर्गमा जान्छ भने पनि ऊ यो जुनीमा त नरकमै बाँचिरहेको हुन्छ भने अर्को जुनीमा पनि नरक बाहेक अन्त कतै जानै सक्दैन ।
दोलखा

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक