बुधबार, मंसिर १० २०७७ | Wed, November 25, 2020
नेपालको समय: १४:२७ | UK Time: 08:42

नेपालमा अनलाइन पत्रकारिता

वीनेपाली
२०७१ भदौ २ गते ११:५७

Ajay sharma
सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि शुरु भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा यसले सूचना प्रविधिलाई आत्मसात् गरेर मात्र पूर्ण बन्ने भएको छ । छापा पत्रकारिता रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हँुदै इन्टरनेटको युगसम्म आइपुगेको छ । सूचना प्रविधिमा आएको पछिल्लो विकास क्रमले इन्टरनेटमा श्रव्य, दृश्य, तस्वीर र अक्षरका माध्यमबाट समाचार वा कुनै पनि सूचना एक स्थानबाट राखेपछि संसारभर क्षणभरमा हेर्न सकिने भएकाले यस प्रविधितर्फ पाठकको आकर्षण बढ्दो छ । विश्वको जुनसुकै स्थानमा प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका तथा रेडियो टेलिभिजन पढ्न सुन्न र हेर्न सकिने प्रविधिको विकास इन्टरनेट प्रविधिले सहजता बनाएको छ ।
अनलाइन वा इन्टरनेट सञ्चार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाइन समाचारमा कम्प्युटर टेलिफोन लाइन वा इन्टरनेट लाइनका साथै विद्युतीय ऊर्जाको पनि अनिवार्य भूमिका रहन्छ । विश्वका विकसित मुलुकहरूले अनलाइन पत्रकारितालाई उच्च महŒव दिएर यससम्बन्धी कानूनको व्यवस्थासमेत गरेका छन् । त्यस अनुसार यसले विकासको गति समातेको छ । विश्वमा इन्टरनेटको शुरुवात सन् १९६० दशकका भएसँगै विश्वमा अनलाइन पत्रकारिताको आरम्भ भएको मानिन्छ । अनलाइन पत्रकारिताको इतिहासलाई हेर्ने हो भने सन् १९७० यता दुई प्रकारका अनलाइन पत्रकारिता पाइन्छ–टेलिटेक्स र भिडियो टेक्स । टेलिटेक्सको प्रारम्भ सन् १९७१ मा बी.बी.सी.बाट भयो । इ–पत्रकारिताको प्रारम्भमा आएको टेलिटेक्स एकतर्फी माध्यम मान्न सकिन्छ । केही समयको अन्तरालमा भिडियो टेक्स प्रविधिको विकास भयो, यसमा दुईतर्फी संवाद सम्भव भयो ।
विश्वको पहिलो अत्याधुनिक अनलाइन पत्रिकाको रूपमा अमेरिकाको शिकागो ट्रिव्युनलाई लिइन्छ । यो सन् १९९२ मा इन्टरनेटमा प्रकाशित भएको थियो । यसपछि नै आधुनिक अनलाइन पत्रकारिताको शुरुवात भएको मानिन्छ । अहिले लाखौंको संख्यामा राष्ट्रिय अन्तर्राष्ट्रिय अनलाइन युज पोर्टल र विभिन्न सञ्चार माध्यमका अनलाइन संस्करण हेर्न, सुन्न र पढ्न सकिन्छ ।
अन्तर्राष्ट्रियस्तरका सीएनएन, बी.बी.सी.का अनलाइन संस्करण तथा एपी, एफपी र रोयटर्सजस्ता अन्तर्राष्ट्रिय समाचार समितिका अनलाइन संस्करण सशक्तरूपमा देखापरेका छन् । विश्वभरका सबै जसो अखबार, टिभि र रेडियोका अनलाइन संस्करण पाउन सकिन्छ । अहिले अनलाइन पत्रकारिता दुई किसिमले विकास भएको पाइन्छ, एक खालको अनलाइल पत्रकारितामा विभिन्न अन्य आमसञ्चार माध्यमका (रेडियो, टिभी, अखबार) का प्रकाशन÷प्रशारण भइसकेका समाचार र अन्य सामग्रीहरू इन्टरनेटमा राख्ने गरिन्छ । अर्को स्वतन्त्ररूपमा खोलिएका अनलाइन पत्रिकामा आफैंले खोजेर ल्याएको समाचार र समग्री राखिन्छ ।
नेपालमा ढिलै भए पनि सूचना प्रविधि सूचना तथा सञ्चार प्रविधि अनलाइन पत्रकारिता इ–कर्मस इ–बैंकिङ आदिको विकास क्रमिकरूपमा बढ्दै गएको छ । यसै क्रममा नेपाली पत्रकारिता पनि अब इन्टरनेटमा घुलमिल हुन थालिसकेको छ ।
विश्वमा लामो समयदेखि इन्टरनेटको प्रयोग भए पनि नेपालमा सन् १९८९ मा पहिलो पटक वल्र्डभ्यू नेपाल र नेपाल वातावरण पत्रकार समूहले इन्टरनेटको प्रयोग गरेको पाइन्छ । संस्थागतरूपमा वि.सं. २०४८ देखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले इमेलको शुरु गरेको हो । त्यसबेला इमेल तान्न र पठाउन कम्प्युटरको माध्यमबाट भारतमा फोन गर्नुपथ्र्याे । निजी क्षेत्रको मर्कनटाइल कम्युनिकेसनले वि.सं. २०५१ सालदेखि व्यावसायिक इन्टरनेट सेवा प्रदान गर्न थालेको हो ।
नेपालमा इन्टरनेट सुविधा उपलब्ध भएको झण्डै एक दशकअघि मात्र भए तापनि अनलाइनको शुरुवात भने देश बाहिर रहेका नेपालीहरूले त्यसअघि नै गरिसकेको भेटिन्छ । अहिलेसम्म सन् १९९२ मा अमेरिकामा बसोबास गर्ने नेपालीले सञ्चालनमा ल्याएको द नेपाल डाइजेस्टलाई पहिलो नेपाली अनलाइन मानिंदै आएको छ । यद्यपि नेपालभित्रबाट भने अनलाइन पत्रकारिताको प्रारम्भ मर्कन्टाइलले सन् १९९५ मा साउथ–एसिया डट कममार्फत मर्कन्टाइलले कान्तिपुर पब्लिकेशन हाउसको अंग्रेजी दैनिक दि काठमाडौं पोस्टलाई आफ्नो साइटमा राखेर अनलाइन पत्रकारिताको प्रारम्भ गरेको थियो । मर्कन्टाइलले नै सन १९९८ मा नेपाल न्यूज डटकमको रूपमा आफ्नै अनलाइन पत्रिकाको शुरुवात ग¥यो । प्रारम्भमा नेपाल न्यूजले आफैं समाचार राख्नेदेखि अन्य पत्रिकाहरूलाई समेत आफ्नो साइटमा हालिदिने अन्य पत्रिकालाई समेत अनलाइनको संसारमा प्रवेश गरायो । उसले प्रारम्भमा कान्तिपुर पब्लिकेशन, गोरखापत्र संस्थान, कामना प्रकाशनलगायत अन्य कतिपय साप्ताहिक र मासिक प्रकाशनहरू नेपालन्यूजमा राख्ने महŒवपूर्ण काम ग¥यो । नेपालन्यूजपछिको नेपाली इ–पत्रिकाको रूपमा नेपालीपोष्ट डटकमलाइ लिइन्छ ।
इन्टरनेट माध्यममा अनलाइन पत्रिका मात्र सञ्चालनमा छैनन् प्रिन्टमा निस्कने पत्रपत्रिकाहरू पनि प्रायः सबै जसो इन्टरनेट संस्करणका रूपमा अनलाइन मै पढ्न सकिन्छ । नेपालबाट प्रकाशित हुने जेठो दैनिक अखबार गोरखापत्र दैनिकका साथै कान्तिपुर, नयाँ पत्रिका, समाचारपत्र, राजधानी जनदिशालगायत सबै जसो पत्रपत्रिका अनलाइनमा पढ्न सकिन्छ । प्रविधिको विकाससँगै नेपाली छापा माध्यममध्ये प्रायः सबै ठूला सञ्चार गृहहरूले अनलाइन सेवालाई आफ्नो अभिन्न अंगको रूपमा स्थापित गरेका छन् । यसै क्रममा छापा पत्रकारिताको लामो इतिहास बोकेको गोरखापत्रले पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै पाठकलाई सुसूचित गर्ने कुरामा आफूलाई अग्र स्थानमै उभ्याएको छ ।
नेपालको सन्दर्भमा अनलाइन पत्रकारिताको जति महŒव छ जटिलता पनि त्यतिकै छ । नेपाल जस्तो अशिक्षित र भौगोलिक विकटताका कारण यसको विस्तार तथा वितरणमा कठिनाइ भने अवश्य नै रहेको छ । अनलाइलनमा स्रोत नखुलाई हतारमा सम्प्रेषण गरिएका सामग्रीहरू हुन्छन्, जसले गर्दा आमसञ्चार क्षेत्र उपर सर्वसाधारण जनतामा रहेको विश्वासका साथै नैतिकतामा समेत प्रश्न चिन्ह लाग्न सक्ने स्थिति रहन्छ । प्राय अनलाइन पत्रकारहरू केही पाउनासाथ कुनै अनुसन्धान नै नगरी सम्बन्धित व्यक्तिलाई नै नभेटी समाचार सप्रेषणमा दौडिन्छन् । अनलाइन पत्रकारितामा नैतिकता र आचारसंहिताको प्रश्नले महŒव पाउनुका पछाडि यसको प्रकृति पनि उत्तिकै जिम्मेवार छ । किनभने इन्टरनेट साइट खोल्न जोसुकैले पनि पाउने, साइट खोल्नासाथ सामग्रीहरू सम्प्रेषण गर्न सकिने र त्यस प्रकारका सामग्रीमा पत्रकारिताको सिद्धान्त पूरा गरेको नदेखिने आदि कारणले गर्दा यस क्षेत्रमा आचारसंहिताको पक्षमा बेला बेलामा कुरा उठ्ने गरेको छ । अनलाइनमा जो कोहीले सजिलै सामग्री सम्प्रेषण गरिदिने र सबैको सहज पहुँच हुने सक्ने भएकाले पनि यस क्षेत्रमा कानूनीस्तरमा नैतिक आचरणको सीमा कोरिनु आवश्यक भएको छ । पछिल्लो एक दशकमा नेपालमा अनलाइन पत्रकारिताले विकासको तीव्र गति समातेको छ तर कानूनीरूपमा आफ्नै पनि अनलाइन पत्रकारिताले मान्यता पाउनसकेको छैन । यसतर्फ कसरी अनलाइन समाचार सामग्रीउपर कानूनी हस्तक्षेप तथा निगरानी राख्ने र के कस्ता सामग्री सम्प्रेषण गर्न पाउने भन्ने बारेमा स्पष्ट ऐन कानून तथा नीतिको सीमारेखा कोरिनु आजको आवश्यकता हो । होइन यसैगरी अनलाइन पत्रकारितालाई छाडारूपमा छोड्ने हो भने कुनै दिन मुलुकले ठूलो क्षति व्यर्होनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक