मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: २३:०० | UK Time: 18:15

शहरमा चर्चा छ चरीको

वीनेपाली
२०७१ भदौ १ गते ०:०२

rajkumar

यतिखेर नेपाल मुलतः काठमाण्डौ शहर चरीमय छ । एक महिनाभन्दा अघिदेखिको मोदीमय माहोल एकाएक फेरिएर दुई हप्तादेखि चरीमय भएको हो । अझैसम्म चरीको पखेटे वेग थामिएको छैन । गुण्डागर्दी, धाकधम्की, हप्ताअसुली, मारकाट र छुरीदेखि बन्दुकस्म्मको परिचय बनाएका धादिङ्गका दिनेश अधिकारी उर्फ ‘चरी’का वारेमा केही न केही नबोल्ने वा नलेख्ने हो भने त देशको एउटा ठूलो एजेण्डामा नै पछि परिन्छ कि भने झैं भएको छ । तर यो आलेखको आसय भने किन उनको यतिविध्न चर्चा भयो र हुनु पर्ने के हो ? भन्ने वारेमा केही तर्कवितर्क गर्ने प्रयास गरिएको छ ।
चरीको सन्दर्भ आउंदा गुण्डागर्दी के हो भन्ने वारेमा केही चर्चा गर्नु वान्छनीय नै होला । सामान्य भाषामा भन्नु पर्दा गुण्डागर्दी आफ्नो हैकम कायम गर्न अवैध ढंगले मानसिक वा भौतिक बल प्रयोग गर्नु हो । मान्छे जन्मदै कोही अपराधी, गुण्डा वा डन हुदैन । सामाजिक परिस्थिति, कतिपय सन्दर्भमा गरिवी, रातारात धनी हुने मनोकांक्षाले गर्ने अवैध काम तथा समाजमा रवाफ देखाउने प्रवृत्तिले मान्छेलाई अपराधिकरण गर्न सघाउंछ । वास्तवमा भन्ने हो भने मानव समाजको उत्पत्तिदेखि नै गुण्डागर्दी हुदै आएको छ । फरक यति हो कि, पहिले समाजमा वैध मान्यताका आधारमा गुण्डागर्दी भएको थियो भने अहिले अवैध रुपमा । जस्तो सानो उदाहरण सिंगै गाऊँ वा टोल वा क्षेत्रमा एउटा मूखिया वा जिम्मवाल वा त्यस्तैहरुको आदेशकै भरमा समाजलाई नियन्त्रण गरेको अवशेष अझै पनि उन्मुलन भईसकेको छैन । मानव उत्पत्तिको आदिमकालमा पनि नाइकेको आदेश सिरोधार्य हुन्थ्यो, यसको मतलव गुण्डागर्दी ठिक थियो भन्ने होईन वरु जुनसुकै खालको गुण्डागर्दी वा सामाजिक अपराधिकरणलाई निरुत्साही वा निर्मुल वनाउन मानिस र समाजको नैतिक, सोचाई, विचार र प्रवृत्तिमा परिवर्तन आवश्यक छ न कि गोली नै अन्तिम विकल्प वनोस् । यस्ता सवै खाले गुण्डागर्दी वा अत्याचार र शोषणका विरुद्ध संसारमा ठूला ठूला क्रान्ति, विद्रोह, प्रतिरोध र प्रतिवाद हुंदै आएको छ ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी छोटकरीमा ‘नमो’ को नेपाल आगमनको पूर्व सन्ध्यामा र भ्रमणभरि जुन मोदीमय माहोल नेपालमा खडा भयो, स्थिति यस्तो रह्यो कि, अंग्रेज शासित कालदेखिको सुसुप्त रुपमा रहेको र कहिले अतिवादको रुपमा प्रकट हुने भारत विरोधी भावना वा एक किसिमको उत्तेजना मोदीजीको एक भाषण र वीच सडकमा ओर्लिएर केही जनतासंग हात मिलाएपछि काठमाण्डौको ‘राष्ट्रवाद’ पानीपानी भयो र झण्डै–झण्डै मोदीको जयजयकारको स्थिति देखियो । तर, मोदी ‘इण्डियन एयरफोर्स’को जहाज चढेर ‘वाईवाई’ काठमाण्डौं भने पश्चात यो भ्रमणको उपलब्धी, दीर्घकालीन प्रभाव, नेपाल भारत वीचका वहुआयामिक सम्वन्धका वारेमा भने खासै धेरै विश्लेषण र चर्चा परिचर्चा हुन सकेन वा नपाउंदै काठमाण्डौं त एकाएक चरीमय पो भयो । संसद, सडक, चियापसलदेखि पाँचतारे होटलसम्म चरीको चर्चा छ । चरीको हत्या पछि अव उनीसंग लिनु पनि केही छैन, र उ संग डराउनु पनि छैन, तर पनि चर्चा छ, चरीको, किन त, यसका केही कारणहरु यस्ता हुन सक्छन् ः
क) नेपालमा पनि अविश्वसनीय रुपमा अपराधिक संजाल (एक किसिमको ‘अन्डरवल्र्ड’)को प्रभाव, पहुंच र लगानी राज्य, राजनीति र समाजको उपल्लोस्तरसम्म फैलिसकेको र ती वैध–अवैध सम्वन्धहरुका चिच्याहटहरु प्रकट रुपमा नै मैदानमा आउन कुनै हिचकिटाहट नभएकोले होला चरीको चर्चा चुलिएको । चरीको चुच्चोले सवैभन्दा बढी ठुंगेको भने एमालेलाई छ । ‘केस’ अदालतसम्म पुगिसक्यो त्यसकारण मृत चरीले अझै चहर्याउने अवस्था छ ।
ख) प्रहरी अप्रेसनको रहस्यमय र शंकास्पद प्रयोगले एउटा ब्यक्ति विशेष जो समाजको नजरमा जतिसुकै वद्नाम र अपराधी नै किन नहोस्, आधा दर्जनभन्दा वढी गोली हानेर मार्न पाईन्छ कि पाईदैन भन्ने सवालले पनि समाजलाई ध्रुविक्रित हुन वाध्य वनाएको हुनुपर्दछ,, त्यसकारण राज्यको सुरक्षा गर्ने प्रहरीले पनि अनुसन्धानमा गोप्यता अपनाए पनि परिणाम पारदर्शी र जवाफदेही हुनुर्पछ भन्ने कुरा यस घटनावाट पाठ सिक्नु आवश्यक छ ।
ग) नेपालको कानुनले राज्य वा राज्यवाट अनुमति पाएका वाहेक कसैले पनि वन्दुक, पेस्तोल वा यस्तै प्रकारका हतियार राख्न वर्जित छ । तर आज नेपाली समाजमा खासगरी युवावर्गमा यस्ता खालका हतियारहरु सहज रुपमा वोक्ने र तिनको प्रयोगवाट समाजमा भय, त्रास र दादागिरी सृजना गरी आफ्नो अवैध धन्दा र काम फत्ते गर्ने प्रवृति मौलाई रहेको छ । यस्ता अवैध हतियारद्धारा समाजलाई त्राहिमाम पार्ने तत्वहरुलाई राज्यले नियन्त्रणमा लिनै पर्दछ । यी हतियारका कारणले पनि ‘चरी’ जस्ता गुण्डागिरीको आतंक मौलाएको हो । यस्ता कुकामलाई नियन्त्रण गर्न खोज्दा राज्यले गरेको ‘काउन्टर’ वा ‘इनकाउन्टर’ ले उत्पन्न गरेको परिणाममा कथित शोक ब्यक्त गर्नुपर्ने धेरै आवश्यक छैन ।
घ) अव गुण्डा जन्माउने र त्यस मार्फत आफ्नो अभिष्ट पुरा गर्ने तत्व र परिस्थितिको पहिचान आवश्यक भईसकेको छ । दृष्य वा अदृष्य रुपमा दादागिरी गर्नेहरु मार्फत कालो धनलाई सेतो वनाउने खेलले पनि नेपाली समाज गुण्डाराजवाट पिडित वन्दै गएको हो । राजनैतिककर्मिदेखि समाजका लब्धप्रतिष्ठितसम्मले आफ्ना काला कर्तुतहरु छोप्न वा अवैध धन्दालाई कायम राख्न पनि गुण्डा र हतियार मोह देखाउनुले नेपाली समाजलाई अपराधिकरणको भूमिगत जालोमा लपेट्दै लगेको एउटा भयावह दृष्य चरी काण्डले उजागर गरेको छ । त्यसकारण अवको काम चरीको शिकार हेईन उसको गुंड भत्काउनु पर्छ ।
अन्त्यमा, ‘चरी’कि एक ‘बिचरी’कै भनाईलाई मध्यनजर गर्ने हो भने चरी हत्याको मुख्य कारण तिनै विचरीमा खोज्नुपर्छ किनकी यो घटनाको प्रमुख पात्र उनै देखिन्छिन् यद्यपी नेपालको पुलिसले यसलाई अस्विकार गरेको छ । चरीकी कथित प्रेमिका र केही राजनैतिक धन्दावालाको पनि कलाविहिन नाटक जारी छ ……..हेर्दै जाऊँ के–के देख्न पाईन्छ ।

लण्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक