मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: १३:१४ | UK Time: 08:29

लालबाबुज्यु थ्रिटेन हैन रिटेन गर्नुस

वीनेपाली
२०७१ साउन ८ गते ७:४४

prakash KB

२००९ को एउटा विहान एकजना सहकर्मी मित्रसंग चोकमा भेट भयो र चिया खांदै बेलायत जानकोलागि कन्सल्टेन्सी जाने कुरा भयो । त्यसबेला म पांचवर्ष बैंकमा काम गरिसकेको अधिकृत स्तरको कर्मचारी थिएं । मासिक आम्दानी लगभग आधा लाख जति थियो र सुविधा पनि राम्रै थियो । आवेदन गरियो र क्षमता र योग्यताको आधारमा खुरुखुरु बढुवा भएको मलाई बेलायतले ‘हाइ स्किल्ड’ अन्तरगतको भिजा दियो ।

बेलायत आएर मैले नेपाल रेमिट्यान्स पठाउने कम्पनीमा रोजगारी सुरु गरेर हाल सोहि कम्पनीको संचालक भएको छु । आफुसहित चारजना नेपालीलाई रोजगारी दिएको छु । बैंक मार्फत रेमिट्यान्स पठाएर नेपालको अर्थतन्त्रमा पनि योगदान गरेकै छु । बेलायत सरकारलाई पनि कर तिरेकै छु ।

पांच वर्ष बसिसकेपछि गत शुक्रवार मैले बेलायतमा स्थायी रुपमा बस्न पाउं भनेर आवेदन गरें । मेरो क्षमता र योग्यताको आवश्यकता बेलायतमै छ, यसलाई नेपाल फिर्ता पठाउनु हुन्न भन्ने सोचेर होला मलाई बेलायत सरकारले मलाई स्थायी बसोबासकोलागि अनुमति ‘इन्डेफिनेट लिभ टु रिमेन’ आइएलआर अर्थात सामान्य बोलिचालीको भाषामा पिआर दियो ।

मेरो बुबा लामो समय सम्म नेपालको सरकारी सेवामा हुनुहुन्थ्यो । दुइवटा स्नातकोत्तर, कानुनमा स्नातक, अमेरिकाको प्रतिष्ठीत हम्फ्रे फेलोसिप, विभिन्न देश विदेशका योग्यताहरु उहांसंग छन् । शिक्षा क्षेत्रमा र संसद सचिवालयका विभिन्न ओहदामा विभिन्न जिम्मेवारी उहांले पुरा गर्नुभएको छ । उहांमा प्रचुर उर्जा र क्षमता छ । मेरो बुवासंग पिआर चाहिं छैन ।

उहांले नोकरी गर्नुभएको कार्यालयमा नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेखित सचिव पद प्रतिष्पर्धाबाट छनोट गरी पदपुर्ति गर्नुपर्नेमा उच्च अधिकारीहरुको पुर्वाग्रह, राजनितिक लगायतका कारण आदिले गर्दा हाल सम्म पदपुर्ति हुन सकेको छैन । अझैपनि त्यो पद खालि छ । यसले गर्दा सो पदको लागि उहां वा अन्य योग्य उम्मेदवारको योग्यताको कदर पांच वर्ष सम्म पनि हुन सकेको छैन र संसदका अधिकारीहरुसंग यो नहुनुको कुनै जायज कारण वा उत्तर पनि छैन ।

दुइवर्ष अगाडि डिसेम्बरमा उमेरको कारणले सहसचिव पदबाट बुवाले अनिवार्य अवकास पाउनुभयो । उहांको कार्यकक्षमा साधारण विदावारी भयो । हाल काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधी गर्दै हुनुहुन्छ । आफ्नो सिप क्षमता विकासको लागि उहां लागिनै रहनुभएको छ । तर राज्यले वा भनौं सरकारले उहांको सिप, क्षमताको प्रयोग जब सम्म उहां पदमा बहाल हुनुहुन्थ्यो त्यसबेला सम्म मात्र गर्ने हो र? पेन्सन त पाउनुहुन्छ तर एउटा क्षमतावान व्यक्तिप्रति राज्यको दायित्व पेन्सन दिएर मात्र टर्छ ? नोकरीमा रहंदा पनि योग्यता अनुसार हुन सक्ने बढुवा नगर्ने अनि अवकास पछि त झन् वास्तै नगर्ने ? उहांको क्षमता सम्बन्धित क्षेत्रमा अझैपनि प्रयोग गर्ने तर्फ राज्यले सोच्नु पर्दैन र ?

मेरो बुवा जस्ता हजारौं सरकारी सेवामा रहेको नेपाली कर्मचारीहरुको पनि अथाह योग्यता, क्षमता र प्रतिभा छ तर नेपाल सरकारले उनीहरुलाई पनि मेरो बुवालाई जस्तै वेवास्ता गरेको छ ।

बीबीसीको एउटा अन्तरवार्तामा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले पिआर लिनेहरु नेपाली नागरिकनै हैनन् भन्दिनुभो । आफ्नो फेसबुकमा नेपाल राष्ट्र बैंकका उच्च पदस्त लगायतका कर्मचारीहरुको नामनै प्रकाशित गर्नुभयो । नेपाली नागरिकता र नेपाली पासपोर्टमा पिआर भएका कर्मचारीलाई एयरपोर्टबाटै हनुमानढोका र डिभीवालालाई नारायाणीमा बगाउने भनेर मानवअधिकार विरोधी कुरा गर्नुभयो ।

कसको लह लहैमा मन्त्रीज्युले यो अभियान अगाडी ल्याउनुभयो थाहा भएन । मुद्दा मुल्तवी भएको दिन पद छोड्छु भनेर अब यसलाई व्यक्तिगत प्रतिष्ठाको विषय बनाउनुभयो । दुइ चारजना अपराध गरेर विदेश भागे भनेर सबैलाई मुछ्नु पनि नाजायज हुन्छ । त्यस्ता अपराध भएका छन् र तिनका प्रमाण छन् भने विदेशमै पनि कारवाही हुन सक्छ भन्ने कुरा कर्णेलको घटनाले सावित गरिसकेको छ ।

अब मन्त्रीजीले ति पिआर भएकाहरुलाई के कारवाही गर्नुहोला ? अवकास दिनुहोला ? त्यसो गर्नुभयो भने उहांको आंकलन अनुसारका लगभग पन्ध्रसय देखि दुइ हजार शिक्षित, योग्य, क्षमतावन, प्रतिभावान अनुभवी राष्ट्रसेवक कर्मचारी एकैपटक हराउने भए । अनि राज्य संचालन कसरी हुन सक्छ ? ति पिआर धारीहरुको अनुपस्थितीको उचित विकल्प छ ? उनीहरु त नेपालमा उपयुक्त अवसर भए पिआर त्यागिदेलान् नत्र तिम्रो जागिर तिमी नै खाउ लालबाबु भनेर विदेशिनेनै छन् । उनीहरुसंग त विकल्प छ तर सरकार संग भए जस्तो लाग्दैन । ति फेसबुकमा नाम आएका नेपाल राष्ट्र बैंकका कर्मचारीलाई राज्यले ठुलो लगानी गरेको छ । उनीहरु नेपालको अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिन सक्षम छन् । त्यस्तै अन्य सरकारी सेवाका कर्मचारीलाई पनि राज्यले उत्तिकै लगानी गरेको छ । अध्ययन विदा दिएर पढाएको छ, तालिममा पठाएको छ । यो लगानीको प्रतिफल राज्यले उनीहरुबाटनै लिनु पर्दछ । तर मेरो बुवाजस्ता अवकाशप्राप्त सरकारी कर्मचारीलाई राज्यले त्यसरी उपेक्षानै गर्ने हो भने तमाम पिआर भएका सरकारी कर्मचारीले मन्त्रीजीका ‘प्रेरणाको श्रोत’ ति न्यायाधिशले भने जस्तो आफ्नो अवकाशपछिको जीवन विदेशमा वितउन खोज्नु नाजायज मान्न सकिन्न ।

बेलायत, अमेरिका, अष्ट्रेलिया वा अन्य धनी देशले प्रतिभा, क्षमता योग्यता भएका जुनसुकै देशका नागरिकलाई पनि उनीहरुले आफ्नो देशका विभिन्न क्षेत्रमा राम्रो योगदान दिन सक्छन् भनेर अनेक प्रकारका भिजा योजना ल्याएर प्रतिभा आकर्षित गछन् । बेलायतको केद्रीय बैंकका गभर्नर हाल क्यानेडियन छन् । राज्य संचालनको यस्तो महत्वपुर्ण जिम्मेवारी क्षमतावान विदेशी नागरिलाई दिइयो । मेरो क्षमता छ त्यसैले बेलायतले मलाई स्थायी बसोबासकै अनुमति दियो । पिआर भएपनि मैले नेपाल र नेपालीकै लागि काम गरेको छु भनेर माथी भनिसकें । मेरो राष्ट्रियता मरेको छैन । म नेपाली नै हुं ।

तर राज्यले योग्यताको कदर नगर्ने, अवसर श्रृजना नगर्ने हो भने जो केहि पनि पिआर लिन अवश्य पनि आकर्षित हुनेछ । त्यसलाई कसैले रोक्न सक्ने छैन । प्रतिभा पलायन यसरी हुनेछ कि लालबावुज्युलाई सबैले धिक्कार्नेछन् । देशमा अवसर नभएर दैनिक हजारौं विदेशिएको तथ्य जग जाहेर छ । मन्त्रीजी कृपया अवसरको श्रृजना गर्ने, क्षमताको पहिचान गरेर प्रयोग गर्ने र तिनलाई उचित प्रतिफल दिने अभियान अगाडि ल्याउनुस्, कोहि पनि विदेशिने छैन । पिआर त्यागेर नेपालीहरु स्वस्फुर्त रुपमा स्वदेश फर्किनेछन् ।

मेरो कथा राज्यले कसरी प्रतिभा पहिचान गरेर त्यसलाई रिटेन गर्न सक्छ र मेरो बुबाको कथा राज्यले कसरी प्रतिभालाई उपेक्षा गरिरहेको छ र अझ थ्रिटेन गरिरहेको छ भन्ने उदाहरण हो । लालबाबुज्युको यो अभियानको उदेश्य के हो त उहांलेनै जान्नु होला तर यसले नेपाललाई कुनै ठुलो उलपब्धी होला जस्तो चाहिं लाग्दैन ।

त्यसैले थ्रिटेन हैन रिटेन गर्नुस लालबाबुज्यु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक