
लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव आइतबार बेलायतमा एक कार्यक्रम गरी मनाएको छ ।
बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे र नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सो वार्षिकोत्सव भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले प्रवासमा स्वयंसेवीरूपमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूको सराहना गर्दै नेपालमा रहेका पत्रकारहरूलाई पनि बेलायतबाट पत्रकारिता सिक्नुपर्छ भन्नेगरिको पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
उहाँले शाखाका माध्यमबाट नेपालका पत्रकारहरूले पत्रकारिताका विभिन्न आयामहरू सिक्ने अवसर पाएको, नेपालमा पत्रकारहरूलाई केही पर्दा सहयोग प्राप्त गरिरहेको र आगामी दिनमा पनि शाखा र केन्द्रको सम्बन्ध अझ राम्रो होस् भन्ने शुभकामना दिनुभयो ।

बेलायतका लागि नेपाली राजदुत घिमिरेले बेलायतमा रहेका नेपाली पत्रकारहरूले अब बेलायतको मूलप्रवाहमा कसरी उपस्थिति बढाउने भन्ने बारेमा सोच्न पर्ने सुझाव दिनुभयो । उहाँले पत्रकारिता बलियो भए मात्र राज्य बलियो हुने भएकाले बेलायतमा नेपाली पत्रकारिता बलियो बनाउन आफ्नो तर्फबाट सहयोग गर्न तत्पर रहेको पनि बताउनुभयो ।
कार्यक्रममा वार्षिकोत्सवको केक काटिएको थियो भने पत्रकारिताको धर्म निर्वाह गर्दा ज्यान गुमाउने पत्रकारहरूको सम्झनामा मौनधारण गरिएको थियो ।
शाखाकी अध्यक्ष बिमला सेनेको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने विभिन्न वैदेशिक शाखाहरूबाट प्राप्त शुभकामनाहरू अर्का उपाध्यक्ष प्रमिला लाबुङ राईले वाचन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन महासचिव खेमराज रानाभाटले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका तर्फबाट केन्द्रीय अध्यक्ष शर्मालाई स्वागत पनि गरिएको थियो ।
कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अभियन्ता, पेशाकर्मी, व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको बन्द सत्रमा महासचिव रानाभाट तथा कोषाध्यक्ष एसके गुरुङद्वारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
बन्दसत्रमा नेपाल प्रेस युनियन युरोका अध्यक्ष सन्जयभक्त कँडेल,पूर्व वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल र केन्द्रीय प्रतिनिधि डा शिव तिवारीले शुभकामना दिनुभएको थियो भने पूर्व अध्यक्ष नरेश खपाङ्गीमगरले शाखामा देखिएको विवाद समाधानका लागि गठित सहजीकरण समितिको गतिविधिबारे जानकारी गराउनुभएको थियो । सो सत्रमा केन्द्रीय अध्यक्षले आफ्नो मन्तब्यका साथै सहभागीहरूको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
सम्मानको रकम च्यारिटीलाई

शाखाले यसै वर्षदेखि प्रदान गर्न शुरु गरेको वर्ष पत्रकारिता सम्मान वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरियो ।
नेपाली विदेशमा रहनुभएकाले उहाँका तर्फबाट नातेदार ज्ञानेन्द्र राउतले सो सम्मान कार्यक्रमका प्रमुख अतिथिद्वय राजदुत घिमिरे र नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माबाट ग्रहण गर्नुभएको थियो । सम्मानमा सम्मान पत्र दोसल्ला र नगद २५१ पाउण्ड रहेको छ ।
सम्मानस्वरूप प्राप्त राशी सोही समारोहमा राउतले बेलायतमा बयोवृद्ध पूर्व गोर्खा सैनिकहरूलाई विभिन्न सहयोग पुर्याइरहेको द गोर्खा सेन्टरलाई हस्तान्तरण गर्नुभयो । सेन्टरका प्रमुख कार्यकारी अधिकृत भीम तामाङले सो राशी ग्रहण गर्दै वरिष्ठ पत्रकार नेपालीप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा सम्मानित व्यक्तित्व छनौट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले नेपालीलाई छान्नुको आधार र उहाँका बारेमा बोल्नुभएको थियो भने वरिष्ठ पत्रकार नेपालीको अडियो शन्देश सुनाइएको थियो ।

सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]