
लन्डन । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै उच्च हो । यद्यपि, बेरोजगारी दर भने अघिल्लो वर्षको तुलनामा केहि बढेको देखिएको छ । फेब्रुअरीदेखि मार्च महिनाको अवधिमा कम्पनीहरूको तलब सूचीमा रहेका कर्मचारी सङ्ख्या ४७ हजारले घटेको छ भने प्रारम्भिक अनुमानअनुसार अप्रिल महिनामा थप ३३ हजारले कमी आउने सम्भावना देखिएको छ ।
तलब वृद्धिदर पनि केही मन्द भएको देखिएको छ । बोनस बाहेकको औसत साप्ताहिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकको ५.९ प्रतिशतभन्दा केही कम हो । बोनससहितको कुल तलब ५.५ प्रतिशतले बढेको देखिएको छ । मुद्रास्फीतिसँग समायोजन गर्दा वास्तविक तलब वृद्धिदर १.८ प्रतिशत रहेको छ ।
अर्कोतर्फ, रोजगारको अवसर पनि घट्दै गएका छन्। अहिले कुल रोजगारीको अवसर सात लाख ६१ हजार पुगेको छ, जुन महामारीपूर्वको स्तरभन्दा थोरै कम हो । आर्थिक विश्लेषकहरूले श्रम बजारमा देखिएको मन्दी पछाडि उच्च तलब कर र हालै गरिएको न्यूनतम तलब वृद्धिलाई मुख्य कारणका रूपमा औंल्याएका छन् । खुद्रा तथा आतिथ्य सेवाका क्षेत्रहरूमा विशेष गरी मार्च र अप्रिल महिनामा रोजगारीमा कटौती देखिएको छ ।
यद्यपि श्रमिक मागमा केही गिरावट देखिएको भए पनि तलब वृद्धिदर अझै उच्च भएकाले बेलायतको केन्द्रीय बैङ्क (बैङ्क अफ इङ्गल्याण्ड) लाई मुद्रास्फीति नियन्त्रणमा चुनौतीको सामना गर्नुपरेको बताइएको छ । बैङ्क अफ इङ्गल्याण्डले यसै महिनाको प्रारम्भमा आफ्नो प्रमुख ब्याजदर ०.२५ प्रतिशतले घटाउँदै ४.२५ प्रतिशतमा झारेको थियो । तथापि, थप ब्याजदर घटाउने विषयमा नीतिनिर्माताहरू अझै मुद्रास्फीति घटेको थप प्रमाणको प्रतीक्षामा रहेको बताएका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आफ्नो श्रमशक्ति सर्वेक्षणमा तथ्याङ्क सङ्कलनको पद्धतिमा सुधार आएको उल्लेख गरे पनि सर्वेक्षणको सहभागिता दर महामारीपूर्वको तुलनामा अझै कम रहेकाले केही विवरणहरूमा सीमा रहेको स्वीकार गरेको छ । विश्लेषकहरूको धारणा अनुसार श्रम बजारमा आएको चिसोपन केवल आन्तरिक नीति परिवर्तनले मात्र नभई, विश्वव्यापी व्यापारिक अनिश्चितताहरूका कारण व्यापारिक विश्वासमा परेको प्रभावको परिणाम पनि हो ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित