
काठमाडौँ । अभाव,आवश्यकता र बाध्यताले देश छोडेर विदेशिन विवश लाखौँ नेपाली युवाहरुको साझा अनि सत्य कथा गीतको रुपमा सार्वजनिक भएको छ । एउटा युवा दुख गरेर पढ्छ, दक्ष हुन्छ तर देशमा आफ्नो योग्यता अनुसारको काम पाउँदैन । हातभरी शैक्षिक प्रमाणपत्रहरु बोकेर रोजगारीको लागि विभिन्न निकाय चाहार्दा पनि जागिर नपाएपछी बाध्य भएर घरजग्गा धितो राखेर चर्को व्याजदरमा पैसा काढ्छ र विदेशिन्छ । आर्थिक र भौतिक रुपमा सवल अनि प्राकृतिक रुपमा सुन्दर देशमा पुगेर काम त शुरु गर्छ तर आफ्नो मन,मुटु स्वदेश तथा घरपरिवारसँगै पुगिरहँदा ‘होमसिक’ले लगभग डिप्रेसनको शिकार बन्छ । वृद्ध बाआमा, जवान श्रीमती अनि नावालक छोरालाई चटक्कै छोडेर विदेशिनु रहर नभएर कहर भएको स्वीकारोक्तीसँगै चित्त बुझाउने कोशिस त गर्छ तर उता प्राण प्यारीको ‘कि त मलाई उतै लैजाऊ नत्र तिमी आऊ, एउटा मुटु दुईटा हुँदा झन् दुख्छ घाउ ’। फोन संवादले विरक्तिन्छ ।
गीतले झन्डै ८० लाख आप्रवासी नेपालीहरुको साझा कथा बोलेको छ । खासगरीकन शैक्षिक बेरोजगार अनि स्वदेशमा व्याप्त बेरोजगारी समस्याले उत्पन्न गरेको जर्जर परिस्थितिलाई उजागर गरेको छ । आफ्नै देशमा कामको अवसर भए विदेशिन रहर कसलाई हुन्छ र ? भन्ने गहन विषय र यथार्थ भावको प्रतिनिधित्व गर्दै प्रस्तुत गीत यहि ४ जेठ २०७९ बुधबारदेखि साईराम पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक भएकोछ । पर्यटन उद्योगगमा चमत्कारिक विकास गरेको टापुहरुको देश पूर्वी अफ्रिकाको सेसेल्समा छायांकन गरिएको यो पहिलो नेपाली म्युजिक भिडियो बनेको छ । यहीं कार्यरत केही सिर्जनशील नेपाली युवाहरुको साझा प्रयासमा निर्मित यो म्युजिक भिडियोको गीतमा गणेश खड्काको शब्द, राजनराज शिवाकोटीको सङ्गीत, स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ । सेसेल्स र नेपालमा आधा-आधा भाग छायांकन गरिएको गीतको भिडियो सुरेश पाण्डेले निर्देशन र पंकज श्रेष्ठले सहनिर्देशन गरेका हुन् । आरपी पन्त, गरिमा शर्मा, निर्मल शर्मा र ममता लामाको जीवन्त अभिनय रहेको प्रस्तुत भिडियोमा पंकज श्रेष्ठ,मनोज बिक,आरसी राई, खेम गोदार थापा, देवसिंह ठकुरी, विकाश थापा मगर, शिवराम अर्याल, चन्द्र चेम्जोङ साथै बाल कलाकारमा तिलक बिकले सहायक भूमिका निर्वाह गरेका छन् । गुरिल्ला रक क्रियसनको पहिलो प्रस्तुति रहेको यो गीतको निर्माण पक्षले प्रवासमै रहेर पनि आफ्नो भाषा, साहित्य, सङ्गीत, संस्कृति र कलाको उन्नयनका निम्ति आगामी दिनमा पनि सक्दो प्रयास गर्ने बताएको छ ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !