एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा

हङकङ । वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् हङकङले विश्वव्यापी इको (पर्या) कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

कुल १ लाख रुपैयाँ पुरस्कार राशिसहितको प्रतियोगिताको प्रचार–प्रसार तथा निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानलाई विश्व संयोजकको जिम्मेवारी दिइएको छ। महासचिव भविन लिम्बुका अनुसार हितानकै सल्लाहबमोजिम रचना पठाउने अन्तिम मिति तथा उत्कृष्ट कविताको घोषणा मिति संशोधन गरिएको छ ।

रचना पठाउने अन्तिम मिति
२८ मार्च २०२६ भित्र तोकिएको आधिकारिक माध्यममा रचना पठाइसक्नुपर्नेछ। समयावधिपछि प्राप्त रचना समावेश गरिने छैन।

सहभागिताका मापदण्ड
कविता मौलिक तथा अनिवार्य रूपमा नेपाली भाषामा लेखिएको पर्या/इको कविता हुनुपर्ने।

अधिकतम ३५० शब्दसम्म।

नेपाली युनिकोड वा प्रिती फन्टमा टाइप गरिएको हुनुपर्ने।

एमएस वर्ड वा पीडीएफ फाइलमा पठाउन सकिने, फोटो वा अन्य फन्टमा पठाइएका रचना अमान्य हुने।

रचनासँग रचनाकारको पूरा नाम, सम्पर्क नम्बर (ह्वाट्सएपसहित), इमेल ठेगाना, स्थायी ठेगाना, हालसालै खिचिएको स्पष्ट फोटो तथा रचना संस्थाले आवश्यक प्रयोजनका लागि प्रयोग गर्न सक्ने सहमति अनिवार्य गरिएको छ।

पठाउने माध्यम
इमेल: [email protected]
WhatsApp: +852 97981272 / +852 61122105
अन्य माध्यमबाट प्राप्त रचना अमान्य ठहरिनेछ।

कुनै व्यक्ति, संस्था वा पक्षको मानहानी गर्ने वा अपमानजनक सामग्री समावेश रचना अयोग्य हुनेछन्। कविताको विषयवस्तु नितान्त वातावरण/पर्यावरण केन्द्रित हुनुपर्नेछ।

पुरस्कार विवरण
प्रथम: ३०,००० रुपैयाँ र प्रमाणपत्र (१ जना)

द्वितीय: २०,००० रुपैयाँ र प्रमाणपत्र (१ जना)

तृतीय: १०,००० रुपैयाँ र प्रमाणपत्र (१ जना)

सान्त्वना: २,००० रुपैयाँ र प्रमाणपत्र (१० जना)

प्राप्त रचनामध्ये उत्कृष्ट २३ कविताहरूको ई–पुस्तिका प्रकाशित गरिनेछ। विजेताको घोषणा २२ अप्रिल २०२६ (विश्व पृथ्वी दिवस) साँझ ६ बजे संस्थाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ। साथै संस्थाको आधिकारिक वेबसाइट www.nrnahk.org लगायत विभिन्न समाचार पोर्टलमार्फत पनि जानकारी दिइने जनाइएको छ।

संस्थाले रचना संकलन सुरु भइसकेको जानकारी दिँदै साहित्यप्रेमीहरूलाई समयमै सिर्जना पठाउन आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री