
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना दिवस अर्थात् एनआरएन डे विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
गैरआवासीय नेपाली अभियान २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा एनआरएनए महेशकुमार श्रेष्ठ र बद्री केसी पक्षले छुट्टाछुट्टै कार्यक्रम गरी संघ स्थापना दिवस मनाइरहेका छन् । केसी पक्षले दिवसको अवसरमा शनिबार ११ अक्टोबर बिहान स्वयम्भूनाथ र पशुपतिनाथमा पूजाआजा कार्यक्रम आयोजना गर्यो भने बिहान ११ बजेपछि बालुवाटारस्थित सचिवालयको प्राङ्गणमा झन्डोत्तोलन कार्यक्रम राखेको छ ।
यसैगरी महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२५-२७) ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथस्थित कन्ट्रोल रुम अवलोकन तथा चियापान कार्यक्रम आयोजना गरेको छ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सबैभन्दा क्षति पुगेको नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रूम एनआरएनएको लगानीमा निर्माण हुँदै छ ।
उक्त कन्ट्रोल रुम निर्माणका लागि ८० लाख रूपैयँ लाग्ने अनुमान रहेको एनआरएनए उपाध्यक्ष विश्वास दीप तिगेलाले जानकारी दिनुभएको छ । एनआरएन डेको उपलक्ष्यमा शनिबार अध्यक्ष श्रेष्ठलगायत पदाधिकारी, कार्यसमिति सदस्यलगायतले स्वयम्भूमा १०८ दीप प्रज्वलनसमेत गर्नुभएको थियो ।
यसैबीच श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२५-२७) ले एकताको वातावरण बनाउन बद्री केसी पक्षलाई आह्वान गरेको छ । एनआरएनए स्थापनाको अवसरमा प्रवक्ता गंगाधर गौतमले शनिबार विज्ञप्ति जारी गर्दै एकता पहल भइरहेकोले त्यसको वातावरण बनाउन आग्रह गर्नुभएको हो ।
केसी पक्षले आजै ३ बजे गैरआवासीय नेपाली संघको स्थापना दिवसको अवसरमा, संघको विविध गतिविधिको जानकारी दिने उद्देश्य सचिवालयमा विशेष पत्रकार सम्मेलन आयोजना गरेको जनाएको छ ।
विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापना भएको थियो । गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ । स्थापनाको २२ वर्षको अवधिमा ९० देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको अभियन्ताहरु बताउँछन् ।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २२ औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी छ । यसबीचमा सबैभन्दा ठूलो उपलब्धि अर्थात् विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानुनी बाटो खोलेको छ र पूर्ण कार्यान्वयनका लागि संघ प्रयासरत छ । नेपालीको मताधिकारको अधिकार सुनिश्चित गर्न सरकार सकारात्मक रहेको एनआरएनएले जनाएको छ ।
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनको अन्तिम चरणमा रहेको छ । जसको लागि सरकारले ९ वटा ऐन संशोधनमार्फत सहजीकरण गर्यो । गैरआवासीय नेपाली र नेपाल सरकारको संयुक्त लगानीमा स्थापना हुने इन्भेष्टमेन्ट कम्पनीमार्फत् गरिएको लगानीमा न्यूनतम विदेशी लगानी सीमा लागू नहुने, कम्पनीले लगानीकर्ताको तर्फबाट स्वीकृति प्रक्रिया अगाडि बढाउन सक्ने, गैरआवासीय नेपाली नागरिकताका आधारमा कम्पनी दर्ता गर्न पाउने व्यवस्था प्रक्रियामा रहेको, धितोपत्र नियमावली संशोधन भई विदेशी मुद्रामा धितोपत्र निष्काशन र कारोबार सम्भव भएको र नयाँ निर्देशिका स्वीकृत भई गैरआवासीय नेपालीको लगानीलाई औपचारिक रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपालका जलविद्युत, बैकिङ, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गैरआवासीय नेपालीको उल्लेख्य लगानी भित्रिरहेको छ । विदेशमा रहेका नेपालीलाई एउटै छातामा समेट्ने उद्देश्यले स्थापनाको यस अवधिमा विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन लागि परेका छन् ।
२२ वर्षको अवधिलाई नियाल्दा गैरआवासीय नेपालीहरुले विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेका छौँ । आर्थिक लगानी मात्रै होइन यस सँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी छ । पछिल्लो २२ वर्षको अवधिमा गैरआवासीय नेपाली संघमार्फत उल्लेख्य परोपकारी कार्य भएका छन् । दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने प्रयास जारी छ । विदेशमा लामो समय बसेर त्यहाँको आर्थिक–सामाजिक परिवेश राम्रोसँग बुझेका गैरआवासीय नेपालीले त्यहाँको समाज र सरकारसँग नेपाललाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
संघ श्रमिकमैत्री बनेको छ । आप्रवासन र वैदेशिक रोजगारीलाई मर्यादित बनाउन नेपाल सरकार, रिटर्नी फेडरेशन नेपाल, अन्तर्राष्ट्रिय संघसंस्थासँग पनि समन्वय र सहकार्य भएको छ । गैरआवासीय नेपाली संघलाई आजको दिनसम्म ल्याउन प्रत्येक गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला संघसंस्था, सहयोगी निकायहरु राष्टिय तथा अन्तराष्ट्रिय संघसंस्था, सञ्चार क्षेत्र सबैको भूमिका महत्वपूर्ण छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस