
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माले नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्यको आवश्यकतामाथि जोड दिनुभएको छ । उहाँले वर्तमान जनसांख्यिकीय प्रवृत्ति र युवाहरूको बसाइँसराइलाई दृष्टिगत गर्दा बुढ्यौलीको विषय महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संस्थागतरुपमा आफ्नो ज्ञान श्रृंखलामार्फत यस विषयलाई प्राथमिकतामा राख्ने र यस क्षेत्रमा काम गर्ने जानकारी दिनुभयो ।
एनआरएनए यूके र नेपालमा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था पुस्तान्तरण नेपालले शनिबार आयोजना गरेको “नेपालमा सम्मानित बुढ्यौली सिर्जनामा रहेका चुनौती, अवसर र डायस्पोराको भूमिका” विषयक वेबिनारमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रामशरण सिम्खडाले प्रायः उपेक्षित रहँदै आएको यस विषयलाई उठान गरेकोमा एनआरएनए एनसीसी यूकेलाई धन्यवाद दिनुभयो । उहाँले यस विषयलाई अझ ठूला मञ्चहरूमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न गैरआवासीय नेपालीहरू निरन्तर प्रतिबद्ध रहने बताउनुभयो ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनए यूके नेपालमा सम्मानित बुढ्यौली प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा यस कार्यमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले बेलायत र विश्वभर रहेका नेपालीहरू स्याहार केन्द्रहरूमा ज्येष्ठ नागरिकहरूको हेरचाह गर्ने विषयमा रहेको नकारात्मक धारणा हटाउन र नेपालमा रहेका ज्येष्ठ नागरिकहरूका लागि उचित अवसर सिर्जना गर्न रोल मोडल बन्न सक्ने बताउनुभयो ।
पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्यले देशको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक रहेको र जनसङ्ख्या वृद्धि दर घट्दो क्रममा जाँदा आगामी दिनमा बुढ्यौली व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले पुस्तान्तरण नेपालले नेपालका ज्येष्ठ नागरिकहरूलाई सम्मानित वातावरण बनाउनका लागि जनचेतना जगाउनुसँगै ज्येष्ठ नागरिकहरूलाई आवश्यक सेवाहरू प्रदान गरिरहेको जनाउनुभयो ।
गैरआवासीय नेपालीहरूले ज्येष्ठ नागरिक हेरचाहमा भएका विश्वका उत्कृष्ट अभ्यासहरूलाई नेपालमा आत्मसात गर्न सहयोग गरेर सम्मानित बुढ्यौली सुनिश्चित गर्न सहयोग गर्न सक्ने वैद्यको आग्रह थियो ।
ज्येष्ठ नागरिकसम्बन्धी चिकित्सक बिन्दु पाण्डेले अहिले अस्पतालमा धेरै ज्येष्ठ नागरिकहरू एक्लै आउने गरेको र घरमा परिवारका सदस्यहरूको अभावमा उनीहरूमा चिन्ता थपिएको भन्दै उनीहरूलाई उपचारसँगै मनोसामाजिक परामर्श समेत आवश्यक भएको बताउनुभयो । ज्येष्ठ नागरिकहरूका लागि उनीहरूको कुरा आदानप्रदान गर्ने, स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने मञ्चहरू विकास गर्नुपर्ने डा. पाण्डेको धारणा थियो ।
वेलनेस प्रशिक्षक शारदा ज्ञवालीले नेपाली खाना उत्कृष्ट भएको बताउँदै ज्येष्ठ नागरिकहरूलाई विदेशी खानाको सट्टा नेपाली खाना उनीहरूको आवश्यकताअनुसार मिलाएर खान दिएमा धेरै फाइदा हुने बताइन् । उनले नेपाली भान्सामा प्रयोग गरिने मरमसलाको महत्व सबै लाई बुझाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल सोसाइटी अफ जेरन्टोलोजी एण्ड जेरियाट्रिक्सका अध्यक्ष तथा नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डा जगदीश क्षेत्रीले ज्येष्ठ नागरिक मन्त्रालय हटाउने नयाँ सरकारको काम उचित नभएको भन्दै ज्येष्ठ नागरिक मन्त्रालय कायमै राखिनु पर्ने जनाउनुभयो ।
पत्रकार भगीरथ योगीले सहजीकरण गरेको कार्यक्रमका सहभागीहरूले ज्येष्ठ नागरिकको हितको लागि सरकार, निजी क्षेत्र र नागरिक समाज मिलेर काम गर्नुपर्ने र यसमा गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
अमेरिकामाथि नेपालको जित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा