
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
विश्वमै पहिलोपटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा आफ्नो नाम दर्ज गरेका सुरेन्द्र र सुसनलाई राष्ट्रपति भवन शीतल निवासमा गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण गरिएको हो । उहाँहरूले सोलुखुम्बुस्थित काला पत्थरमा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गरेको नृत्य ‘मन मगन’ बोलको गीतमा साढे दुई मिनेट लामो थियो। यो रेकर्ड नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो।
सुरेन्द्र र सुसनले भन्नुभयो, “हामीले यो कीर्तिमानी प्रयास हिमाली क्षेत्रको संरक्षण, जैविक विविधता र नेपालको पर्यटनको प्रवर्द्धनका लागि गरेका हौं।” उक्त प्रयासमा सुरेन्द्र र सुसनलाई विभिन्न कलाकार र फोटोग्राफी तथा भिडियोग्राफीको टिमले सहयोग गरेका थिए। फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिनुभएको थियो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड, र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा गरिएको यो कीर्तिमान कार्यक्रम गिनिज वर्ल्ड रेकर्ड्सका नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा सम्पन्न भएको हो।
नेपालको सांस्कृतिक धरोहर र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको यो प्रयासले देशको प्रतिष्ठालाई विश्वमा नयाँ उचाइमा पुर्याएको छ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने