
बेलायतबासी साहित्यकार दयाकृष्ण राई नविनतम कृति ‘अश्वेत महावाणी’ कविता संग्रह लिएर पाठकसामू आएका छन् । कविता, नियात्रा, निबन्ध र कथा संग्रह प्रकाशन गरिसकेका राईको प्रस्तुत कृति छैटौँ सन्तान हो । यसभित्र पहिचान तथा विश्व परिवेशका समसामयिक १९ वटा कविता, १० वटा युद्धसम्बन्धी कविता, १२ वटा यौनसम्बन्धी कविता, पाँच वटा नेपालमा गएको महाभुकम्पका बारेमा र पाँच वटा कोभिड महामारीसम्बन्धी गरी ५१ वटा कविता समेटिएका छन् ।
राईका कविता प्रायजसो इतरविचारबाट प्रभावित छन् । भन्नुको तात्पर्य शासक वर्ग, प्रभावशाली समूहसित समर्थन र ऐक्यवद्धता जनाउनेभन्दा पनि उनका कवितामा निर्धन, गरिब, उत्पीडितको आवाज पाइन्छ । हुन त उनले विश्व मामिलामा आफ्नो कित्ता शुरुमै प्रष्ट गरेका छन् । उनले भनेका छन्–म आतङकवाद र साम्राज्यवाद दुवैको विरोधी हुँ । अथवा म शान्तिको पक्षपाती हुँ । निर्दोष नागरिकको आवाज हुँ । उनले विश्व घटनालाई कविताका माध्यमबाट सशक्त ढंगले विवेचना गरेका छन् । नेपालको सन्दर्भमा भने उनी पहिचानका आलोचनात्मक पक्षपाती देखिन्छन् किनकी पहिचान भन्ने तर आफैँमा विरोधाभासपूर्ण व्यवहार गर्नेहरुलाई पनि उनले छोडेका छैनन् ।
राईको कवितामा आडम्बरीहरुमाथि कसिलो प्रहार पनि छ । यसक्रममा उनले भन्ने एउटा तर काम अर्कै गर्ने तप्कालाई कठालोमा समाएका छन् भने आफ्नै समुदाय गोरखाहरुमाथि पनि चोटिलो शब्दप्रहार गर्न बाँकी राखेका छैनन् ।
युद्ध कवितामा उनले गोरखाहरुमाथिको विभेद, गोरखाली सैनिकहरुको युद्धमैदानमा उत्पन्न हुने मनोदशा, उनका परिवारजनहरुमा प्रकट हुने सम्वेदनालाई गहिरोसँग उठाएका छन् । गोरखाहरुलाई युद्ध पिपासु, नरभक्षीका रुपमा कतिपय युद्धहरुमा प्रस्तुत गरिएकोमा उनले कवितामार्फत गोरखाहरु मानवीय संवेदनायुक्त र युद्ध मैदानमा आमनेसामने भएका अर्को पक्षका व्यक्तिका परिवारमा पर्ने पीडाका बारेमा पनि सोच्ने गरेको स्पष्ट पारेका छन् ।
यौन कविता खण्डमा रहेका कविताहरुको भूमिकामा उनले नेपाली समाजमा ब्याप्त यौन बारेमा भ्रमलाई चिर्न कोसिस गर्ने बताएका छन् । धेरैमा खण्ड देख्नासाथ कि त उत्तेजित हुने वा अर्कै खण्डतिर पाना सार्ने पूर्व सोचाइ हुन सक्छ तर यस खण्डमा राखिएका १२ कविता पढ्दा यी दुवै पूर्व सोचाइ गलत महसुस हुन्छन् । बरु यस खण्डमा पनि उत्पीडनमा परेका नगरबधुहरु, बजारीकरणले गर्दा होडिङ बोर्डमा चीरहरण भइरहेका महिलाहरु, एनजीओकरणका कारण भाषणमा मात्र अधिकारसम्पन्न महिलाहरु पो भेटिन्छन् ।
प्राकृतिक विपत्तिले सर्जकहरुलाई पनि बिथोल्ने नै भयो । चाहे त्यो भूकम्प होस् वा कोभिड महामारी । दुवै विषयलाई कवि राईले समेटेका छन् । भुकम्प या महामारी दुवैमा उनले पिँधमा परेका वर्गको आवाज उठाएका छन् । दुवै प्रकोपले आखिर धेरै प्रहार त समाजका सबैभन्दा तल्लो वर्गलाई नै पार्नेरहेछ ।
यसअघि राईको लाहुरेको कथा र जापानको व्यथा, ईश्वरको मलामी, सम्झनाको आलिङगनमा बाँधिएर, पागल दार्शनिकका अभिव्यक्तिहरु र गन्तब्यहीन यात्रीका सपनाहरु प्रकाशन भइसकेका छन् । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रकाशन गरेको १६४ पृष्ठको यस पुस्तकको मूल्य नेपालमा २०० रुपियाँ, बेलायतमा १० पाउण्ड राखिएको छ । पुस्तकमा मुद्रा राक्षसको उपस्थिति भने घटाउनु पर्ने देखिन्छ ।
–खपाङ्गी
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु