काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु हुनेछ ।
शनिबार रेल गाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिनुभयो । अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जकनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ । उहाँ कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनुहुनेछ भने रेल पुनः जयनगर जाने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ ।”
शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताउनुभयो । उहाँका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काै रेल छुट्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबारबाट नै नियमित रुपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ ।”
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो । एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो । यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन् । तत्काल सञ्चालनमा आउन लागेको यात्रुबाहक रेलगाडी हुन् । अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण दुई वर्ष पहिले नै सकिएको थियो ।
हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने विभागका प्रवक्ता चित्रकारले जानकारी दिनुभयो । ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिने छ ।
नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने प्रवक्ता चित्रकारले बताउनुभयो । यसले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्काे स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा एक सय किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।” डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो ।
भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनीयर रहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको पाँच गुणा अर्थात रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ ।
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको थियो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।
संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको थियो । जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढवर्ष पछिदेखि काम सुरु भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् ।
विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो । सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । विसं २०७० देखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।
जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारु रहेको छ । नेपाल सरकारले रेलगाडीको मूल्य रु एक अर्ब रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक