सर्लाही । भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आएर फर्केका छन् ।
सदरमुकाम मलंगवास्थित कवर्ड हलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार सर्लाही आइ फर्केका हुन् । अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ-गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए । कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजेमात्र कार्यक्रम स्थल पुगेका थिए ।
उनलाई गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको थियो । कलाकार यादवसँग फोटो र सेल्फी लिन भीड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केहीबेर हम्मेहम्मे परेको थियो । कलाकार यादवले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरे । आयोजकको तर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।
मलंगवा नगरपालिका वडा नम्बर २ स्थित कभर्ड हलमा महाधिवेशन उद्घाटन समारोह चलिरहेको छ ।
राति अबेर हुने बन्दशत्रमार्फत गोपाल सेवा समितिको केन्द्रीय नेतृत्व चयन गर्ने आयोजकले जनाएको हो । स्थल मार्ग हुँदै सर्लाही आइपुगेका उनी उद्घाटन समारोहकै बीच फर्किएका छन् ।