क्रिकेटर सेन वार्नको अन्त्येष्टी राजकीय सम्मानका साथ गरिने

काठमाडौं । विश्व चर्चित स्पिनर सेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्पिनर वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने घोषणा गरेका हुन् ।

५२ वर्षीय वार्न शुक्रबार थाइल्याण्डमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री मोरिसनले वार्नको आकस्मिक मृत्युबाट अष्ट्रेलियाबासी निकै दुःखी भएको बताए । विश्वकै महान क्रिकेटर मध्येकै एक वार्नलाई संघीय र भिक्टोरियन सरकार, क्रिकेट अष्ट्रेलिया र उनको परिवारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

‘वार्नको राष्ट्रिय उपलब्धिलाई ध्यानमा राख्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । यो वार्नको परिवारसँग परामर्श गरेर गरिनेछ,’ उनले भने ।
वार्नलाई सम्झिँदै मोरिसनले वार्न अष्ट्रेलियाका महान व्यक्तिहरूमध्ये एक भएको बताए ।

यसैबीच, वार्नको सम्मानमा अष्ट्रेलियन क्रिकेट बोर्डले मेलबर्न क्रिकेट ग्राउन्डमा रहेको ग्रेट सदर्न स्ट्यान्डको नाम वार्नको नाममा राख्ने भएको छ ।
शनिबार उनको सम्मानमा मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा स्ट्यान्ड नामकरण गर्ने निर्णय गरेको हो । भिक्टोरिया राज्यका पर्यटन तथा खेलकुद मन्त्री मार्टिन पकुलाले ग्रेट सदर्न स्ट्यान्डको नाम एसके वार्न स्ट्यान्डको रूपमा परिवर्तन गर्ने बताए ।

वार्नले आफ्नो करियरमा एक सय ४५ टेस्ट खेलमा सात सय आठ विकेट लिएका छन् । एक सय ९४ एकदिवसीय खेलमा दुई सय ९३ विकेट उनको नाममा छ ।

टेष्ट क्रिकेटमा विकेट लिने हिसाबले श्रीलंकाका मुथैया मुरलीधरन पछि दोस्रो नम्बरमा रहेका बलर वार्नले उनीभन्दा अगाडि सात सय विकेट पूरा गरेका थिए । बलिङको यो उच्च शिखर छुने उनी विश्वकै पहिलो बलर पनि हुन् ।

वार्नले टेस्ट क्रिकेटमा तीन हजार एक सय ५४ रन बनाएका छन् । जुन कुनै पनि ब्याट्सम्यानले शतकविना नै सर्वाधिक रन बनाउने विश्व कीर्तिमान हो । वार्नले टेस्ट क्रिकेटमा १२ अर्धशतक बनाए तर उनको उच्चतम स्कोर ९९ रन मात्र रह्यो ।

जुन उनले सन् २००१ मा न्यूजिल्याण्डविरुद्धको पर्थ टेष्टमा बनाएका थिए । वार्नको उत्कृष्ट बलिङले अस्ट्रेलियाले सन् १९९९ मा इग्ल्याण्डमा भएको आईसीसी क्रिकेट विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री