अन्तर्राष्ट्रिय उडान आजबाट खुला


सरकारले कोरोना संक्रमित बढेपछि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई एक महिनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार टर्की, कतार, चीन र भारत गरी चार देशका लागि उडान खुला भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिककरणका अनुसार टर्किस, कतार, नेपाल एयर लायन्स र एयर इण्डियाले नेपालबाट प्रत्येक हप्ता एक/एक उडान भर्नेछन् ।

प्राधिकरणले जारी गरेको उडान तालिका अनुसार एक महिनादेखि अबरुद्ध अन्तर्राष्ट्रिय उडान विहीबार बिहानबाट सुचारु हुँदै छ । तालिका अनुसार, अब साप्ताहिक रुपमा प्रत्येक विहीबार टर्किश एयरलाइन्सले स्टानबुल–काठमाडौं–स्टानबुल उडान भर्ने छ ।

त्यस्तै, नेपाल एयरलाइन्सले प्रत्येक सोमबार काठमाडौं–दोहा–काठमाडौं उडान भर्ने छ भने कतार एयरवेजले पनि प्रत्येक सोमबार दोहा–काठमाडौं–दोहा उडान भर्ने छ ।
एयर बबल सुविधा अन्तर्गत नेपाल एयरलाइन्सले प्रत्येक बुधबार काठमाडौं–दिल्ली–काठमाडौं उडान भर्ने छ भने एयर एण्डियाले प्रत्येक शुक्रबार दिल्ली–काठमाडौं–दिल्ली उडान भर्ने छ । प्राधिकरणका अनुसार चीनमा पनि नेपालबाट उडान सुचारु हुने छ । तर, कुन एयरबाट कुन स्थानका लागि उडान हुने भन्ने तय भइसकेको छैन ।

कोभिड महामारीको दोश्रो लहर शुरु भएसँगै नेपाल सरकारले बैशाख १६ गतेबाट अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो ।

तत्कालका लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरु नेपालमै रोकिएको तथा उताबाट नेपाल आउनेहरु आउन नपाएको भन्ने विश्लेषणका आधारमा चार देशका लागि नेपालले हप्तामा एउटा एयरलाइन्सबाट एक, एक उडान खुला गरेको हो ।

तर, त्यसका लागि कोभिड संकट व्यवस्थापन केन्द्रको स्वीकृतिमा नेपालले केही मापदण्ड तय गरेको छ । नेपाल आउने यात्रुहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको मापदण्डको भने पालना गर्नुपर्ने छ । विदेशबाट नेपाल आउने यात्रुहरुले ती मापदण्डको पालना नगरे संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत सजाय भोग्नु पर्ने छ ।

यस्तो छ मापदण्ड

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ।

मन्त्रालयलले जारी गरेको मापदण्डमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण नियन्त्रण र रोकथाममा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकहरुको आवागमनलाई व्यवस्थित गर्न मन्त्रिपरिषद्बाट गरिएका निर्णयहरुको आधारमा मापदण्ड तोकिएको जनाइएको छ ।

मन्त्रालयका अनुसार नेपाल आउने यात्रुले पछिल्लो ७२ घण्टाको फोटो एवं बारकोडसहितको पीसीआर रिपोर्ट नेगेटिभ रहेको खुलाउनु पर्नेछ। यसबाहेक यात्रुहरुले १० दिनको होटल बुकिङ्ग गरेको प्रमाणका आधारमा मात्र हवाई उडानबाट नेपाल आउन अनुमति प्रदान गरिनेछ।

हवाई उडानमार्फत् विदेशबाट नेपाल आउने यात्रुहरुले नेपाल आइसकेपछि आफ्नै खर्चमा अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने छ। १० दिन होटल क्वारेन्टिनपञ्चात् कोरोनाको संकेत एवं लक्षण देखिएका व्यक्तिहरुले पीसीआर परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएमा कम्तीमा १० दिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले तोकेको आइसोलेसन सेन्टर वा तोकिएको अस्पताल वा होटल आइसोलेसनमा अनिवार्य बस्नुपर्ने छ।

१० दिन होटल क्वारेन्टिनपश्चात् कोरोनाको संकेत एवं लक्षण नदेखिएका र संकेत एवं लक्षण देखिएकोमा परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुलाई आफ्नो गन्तव्य स्थानसम्म जान अनुमति दिइने मन्त्रालयलले जनाएको छ।

नेपाल आएका यात्रुहरुलाई क्वारेन्टिनका लागि होटलसम्म लैजाने र सम्बन्धित यात्रुहरु १० दिनको होटल क्वारेन्टिनमा बसेरनबसेको अनुगमन गरिने जनाइएको छ।

होटल क्वारेन्टिनमा बसेका व्यक्तिहरु विरामी भएमा उपचारको व्यवस्था गर्ने,१० दिनको होटल क्वारेन्टिन पूरा गरेका व्यक्तिहरुलाई गन्तव्य स्थानसम्म जान सहजीहरण गर्ने र तोकिएको स्थास्थ्य मापदण्ड पालना नगर्ने होटल सञ्चालक वा यात्रुलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम तोकिएको अधिकारी समक्ष कारबाहीका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ।

आफ्नो धर्म, रिति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार काज–कियामा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसका आधारमा कम्तीमा १० दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घररगन्तव्यमा जान अनुमति दिइने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री