तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न

लन्डन । तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न भएको छ ।

बेलायतको सामुयल कोडी स्कुल बालेन्टिना रोड् फार्नबोरोमा गत शनिबार, २ मे २०२६ का दिन तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रम समाजका अध्यक्ष जय मादेम्बाको अध्यक्षता तथा सल्लाहकार एवं संस्थापक अध्यक्ष रि मेजर चित्रराज हुक्पा चङ्बाङ एमभिओ, एमबीईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रमको सुरुवात नेपाल र बेलायतको राष्ट्रिय गानबाट गरिएको थियो । त्यसपछि अध्यक्ष तथा प्रमुख अतिथिबाट संयुक्त रूपमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो ।

उद्घाटनपछि बालबालिकाहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। अतिथि सत्कारपछि संस्थाका नयाँ आजीवन सदस्यहरूलाई सम्मानपत्र तथा ब्याज प्रदान गरियो । साथै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने बालबालिकाहरूलाई प्रोत्साहनपत्र प्रदान गरिएको थियो । विभिन्न क्षेत्रमा विशेष योगदान तथा योग्यता हासिल गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। त्यसपछि अतिथिहरूबाट शुभकामना मन्तव्य व्यक्त गरिँदै चेलीबेटीहरूलाई स्वागत–सम्मान गर्दै पहिलो सत्र सम्पन्न गरिएको थियो।

कार्यक्रमको दोस्रो सत्र उपाध्यक्ष ओम मगरको नेतृत्वमा सहभागीहरूको भाग्य परीक्षणका लागि राफल ड्र सम्पन्न गरिएपछि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । बेलायतलाई कर्मभूमि बनाए पनि नेपाली मौलिक पहिरन र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न प्रस्तुति एवं विविध नृत्यहरू प्रस्तुत गरिएका थिए ।

उक्त अवसरमा नेपालबाट हाल बेलायतमा सांगीतिक भ्रमणमा रहनुभएकी लोकप्रिय गायिका रुपी सिन्जाली मगर, गायिका सुनिता थेबे तथा उदयमान नृत्य कलाकार जेनिहा तेयुङ लिम्बुको प्रस्तुति विशेष आकर्षण बनेको थियो । कार्यक्रमको अन्त्यसम्म कक्टेल नृत्यमार्फत सहभागीहरूले भरपुर मनोरञ्जन लिएका थिए ।

समाजका अध्यक्ष जय मादेम्बाले उपस्थित सम्पूर्ण पाहुनाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम संयोजक तथा उपाध्यक्ष बिरनरसिङ हु चोङ्बाङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्नुभयो ।

बिहान १० देखि साँझ ८ बजेसम्म चलेको कार्यक्रमको सञ्चालन समाजका सचिव बिशाल याङ्देम्बा लिम्बुले गर्नुभएको थियो । स्वागत मन्तव्य तथा सांगीतिक कार्यक्रमको सञ्चालन उपाध्यक्ष सानु सुब्बाले गर्नुभएको थियो ।

तस्बिर सौजन्य : डम्मर सिंगक (पूर्वअध्यक्ष, तेह्रथुम समाज यूके) र जुरेन्द्र खजुम (महासचिव, एनआरएनए )

प्रतिक्रिया

सम्बन्धित सामाग्री