पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण

लन्डन । ३३औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा ‘पत्रकारितामा एआईः अवसर र चुनौती’ विषयक एक दिने विशेष भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रविधिको द्रुत विकाससँगै पत्रकारितामा भित्रिएको कृत्रिम बौद्धिकता (एआई) लाई कसरी रचनात्मक र मर्यादित बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको आयोजकले जनाएको छ ।

नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक लिलाराज भट्टराईले तालिमको सहजीकरण गर्दै पत्रकारितामा एआईको प्रयोग गर्दा ‘पारदर्शिता’सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एआईको सहयोगमा तयार पारिएका सामग्रीहरूमा एआई प्रयोगको स्पष्ट जानकारी दिनुपर्छ। साथै, सो सामग्री कुन सम्पादकले सम्पादन गरेको हो भन्ने समेत उल्लेख गर्ने अभ्यास सुरु गर्नु पर्छ ।’

प्रशिक्षक भट्टराईले समाचार संकलन, लेखन र सम्पादन प्रक्रियालाई सहज बनाउन उपयोगी हुने विभिन्न आधुनिक एआई टुल्सहरूको प्रयोगबारे समेत पत्रकारहरूलाई व्यावहारिक जानकारी दिएका थिनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले युके शाखाले नयाँ प्रविधिका बारेमा समयसान्दर्भिक तालिम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पत्रकारहरूले प्रविधिसँग डराउनुभन्दा पनि त्यसलाई पछ्याउँदै व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिँदै हाल नेपाल सकारले प्रेस स्वतन्त्रतामाथि गरेको संकुचनप्रति महासंघले गरिरहेको प्रतिरोधको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान पनि गरिएको थियो । उक्त अवसरमा बीसीसी नेपाली सेवाका पूर्वसंचालक तथा वरिष्ठ पत्रकार भगिरथ योगीले विषेश अवसरमा क्षमता अभिवृद्धिको कार्यक्रमले विशेष महत्त्व राख्ने बताउँदै त्यस्ता उपयोगी कार्यक्रमलाई कार्यशालाकै रुपमा संचालन गर्न सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ युकेकी अध्यक्ष बिमला सेनेले चाँडै पत्रकारितामा एआई कार्यशाला आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष नविन पोख्रेल, पूर्वअध्यक्ष नरेश खपाङ्गी मगर, पूर्व वरिष्ठ उपाध्यक्ष तथा पत्रकार श्याम लुइँटेल, शाखाका पदाधिकारीहरु, सल्लाहकारहरु र सक्रिय सदस्यलगायत युकेमा रहेर विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थीनिय संचार माध्यममा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री