अध्यक्ष गुरुङले बोलाइन् संरक्षक मण्डलको बैठक

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अध्यक्ष पुनम गुरुङले संस्था भित्रको विवादका बारेमा छलफल गर्न ‘संरक्षक मण्डल’ को बैठक डाकेकी छिन् । एनआरएनए युके विघटनको संघारमा पुगेको ठान्दै संस्था बचाउन र संस्थाको हितमा समस्याको समाधान गर्न संरक्षक मण्डलको भुमिका खोज्दै उनले  विशेष बैठक डाकेकी हुन् ।

भर्चुअल रुपमा जुम मार्फत मंगलबार चार बजे आयोजना गरिने बैठकले संस्था भित्रको अप्ठ्यारो परिस्थितिलाई निकासमा पुर्याउन सहयोग पुग्ने अपेक्षा उनको छ । अध्यक्ष गुरुङले संरक्षक मण्डललाई बैठकका लागि लेखिएको सूचनामा पूर्वकार्यसमिति र वर्तमान कार्यसमितिका जिम्मेबार साथीहरुले नै वर्तमान र पूर्वअध्यक्षलाई मानहानी हुने गरि अदालतमा मुद्दा दर्ता गरि एनआरएनएको जन्मभूमि बेलायतमा पहिलो पटक कानुनी प्रक्रियामा जानु  दुखदायी बिषय भएको उल्लेख गरेकी छिन् ।

एनआरएनए युके संरक्षक मण्डलमा प्रमुख संरक्षक मे रि. डम्मर घले तथा संरक्षकहरुमा महन्त श्रेष्ठ, अशोक श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्य, योगेन वहादुर क्षेत्री, महेन्द्र कंडेल, मुछेत्र गुरुङ र योगकुमार फगामी छन् ।

एनआरएनए युके भित्र आर्थिक अनियमितता बिषयको मुद्दा  डार्टफोर्ड काउन्टी कोर्टमा विचराधिन छ । संस्थापन पक्ष विरुद्ध  चार उपाध्यक्षसहित ६ जना आर्थिक पारदर्शिताको बिषयमा कानुनी लडाइमा रहेका छन् ।

‘हाम्रो लडाई संस्था विरुद्ध हैन, खराब प्रवृत्ति विरुद्ध’

यता, एनआरएनए युकेका  चार जना  उपाध्यक्षहरुले एनआरएनए युके विरुद्ध नभई संस्था भित्रको खराब प्रवृत्ति विरुद्ध  आफ्नो लडाइ भएकाले भ्रममा नपर्न बेलायतवासी नेपाली समुदायलाई अपिल गरेका छन् । आइतबार  भर्चुअल रुपमा खुला बहस गरेका चार उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेलले संयुक्त रुपमा आफु निर्वाचित संस्था र निर्वाचित गराउने नेपाली समुदाय प्रति सम्मान रहेको जनाए । उनीहरुले सामाजिक संस्थालाई कमाई खाने भाडो बनाउने प्रबृत्तिका विरुद्धको लडाइमा साथ दिन सबैलाई अनुरोध पनि गरे  ।

नयाँ सदस्यका लागि आवेदन दिनेलाई प्रमाणीकरण गर्न पाउनु पर्नेलगायतका माग सहित एनआरएनए युरोप क्षेत्रीय संयोजकलाई समेत उनीहरुले पत्राचार गरेका थिए । क्षेत्रीय संयोजक नारायण आचार्यले पनि समस्या समाधानका लागि अध्यक्ष गुरुङलाई जवाफी पत्र लेखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री