आजदेखि भारत बेलायतको रातो सूचीमा

लण्डन । बेलायत सरकारले भारतमा बढ्दो कोभिड संक्रमणका कारण आजदेखि भारतलाई रातो सूचीमा राखेको छ ।

आज बिहान ४ बजेपछि भारतबाट बेलायत आइपुग्नेहरुले सरकारले तोकिदिएको होटलमा १० दिन क्वारेन्टीनमा बस्न पर्नेछ । यसरी क्वारेन्टीमा बस्दा प्रतिव्यक्ति १७५० पाउण्ड लाग्छ भने सोही कोठमा अर्को बयस्क वा ११ वर्षमाथिको मानिस बस्नपरेमा थप ६५० पाउण्ड तिर्नपर्ने हुन्छ । ५ देखि ११ वर्षसम्मका लागि भने प्रतिव्यक्ति ३२५ पाउण्ड मात्र लाग्नेछ ।

यसैगरी, रातो सूचीमा परेका कारण भारतबाट बेलायत वा आयरल्याण्डको नागरिक वा बसोबासको इजाजत प्राप्त व्यक्तिले मात्र बेलायत आउन पाउने छन् ।

हालसम्म बेलायतका विभिन्न महादेशका ४० देशहरुलाई रातो सूचीमा राखेको छ ।

भारतमा हाल विश्वमै सबैभन्दा द्रुतगतिमा कोभिड संक्रमण फैलिएको छ भने मृत्युदर पनि उच्च रहेको छ । विहीबार मात्र ३ लाख भन्दा बढी नयाँ संक्रमितहरु भेटिएका छन् भने करिब २२सयको कोभिडका कारण ज्यान गएको छ ।

कोभिडका कारण भारतका चर्चित बामपन्थी नेता सीताराम यचुरीका पुत्रको निधन भएको छ भने चर्चित संगीतकार श्रवणको पनि निधन भएको छ ।

संक्रमणका कारण अस्पताल भर्ना उच्च देखिएको छ भने राजधानी दिल्लीकै अस्पतालहरुमा अक्सिजनको अभाव भएको रिपोर्ट सार्वजनिक भएको छ । भारतमा अक्सिजन अभावका कारण नेपालबाट समेत भारततर्फ अक्सिजन गइरहेको पनि समाचार आइरहेका छन् ।

बेलायतमा विहीबार मात्र थप ५५ वटा भारतमा स्वरुप बदलेका कोरोनाभाइरस पाइएको बताइएको छ । बी डट वान सिक्स वान सेभेन नाम दिइएको सो भाइरसको करिब १३० वटा केस बेलायतमा फेला परिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री