के के खुल्दैछन् आजदेखि बेलायतमा ?

Photo: Skynews

लण्डन । बेलायत सरकारले कोरोना भाइरसको महामारीका कारण लागू गरेको लकडाउनबाट जनजीवन सहज बनाउने क्रममा आजदेखि बेलायतमा धेरै व्यवसाय र सेवाका क्षेत्रहरु खुला गरिँदैछन् ।
सरकारको दोस्रो चरणको योजनाअनुसार आजदेखि इङल्याण्डमा सबै किसिमका पसलहरु खोल्न पाइने छ । यसअघि अत्यावश्यक सामग्री बिक्री गर्ने पसलहरुलाई मात्र खोल्न दिइएको थियो । यसका साथै सोमबारदेखि कपाल काट्ने सैलुनहरु, ब्यूटीपार्लरहरु जस्ता ग्राहकलाई समीपबाट सेवा दिइने क्षेत्रहरु खोल्न पाइने छ ।
यसैगरी चिडियाखाना, जिमहरु, स्पाहरु, पुस्तकालयहरु, सामुदायिक केन्द्रहरु, म्यूजिमहरु पनि खुल्ने छन् । रेस्टुरेन्ट र पवहरुले पनि आप्mनो परिसरबाहिर ग्राहकलाई राखेर खाना तथा पेयपदार्थ बेच्न पाउने छन् । यसअघि त्यहाँ बसेर खान दिइएको थिएन । रेष्टुरेन्ट वा पवहरुबाट खाना किनेर घरमा वा अन्यत्रै गएर खान पर्दथ्यो ।
यस्तै, एउटै घरका सदस्यहरुलाई इङल्याण्डभित्र अरुसित नमिसिने गरी विदा मनाउन जान पनि खुला गरिएको छ । साथै, यसअघि अत्यावश्यक कार्यहरु जस्तै काम, अत्यावश्यक सामग्रीहरु वा औषधि किन्न, उपचार वा शारिरीक व्यायामका लागि मात्र घरबाहिर निस्कन दिइएको र त्यसरी निस्कँदा स्थानीय क्षेत्रमा सीमित हुनुपर्ने नियम रहेकोमा त्यसलाई हटाइएको छ । सोमबारदेखि इङल्याण्ड र वेल्समा अत्यावश्यक कामबाहेक पनि यात्रा गर्न पाइने छ ।
सोमबारदेखि वैवाहिक समारोहमा १५ जनासम्म भेला हुन पाइने छ भने अन्तिम सँस्कारमा ३० जनालाई सहभागी हुन दिइएको छ । यसअघि विवाहमा छजना मात्र जम्मा हुन अनुमति दिइएको थियो । यसैगरी, बालबालिकाका लागि हलभित्र हुने क्रियाकलापहरु पनि सोमबारदेखि खुला गरिएका छन् ।
सोमबारबाट नै केयर होममा बसोबास गरिरहेका मानिसहरुका दुई जनासम्म आफन्तलाई भेटघाट गर्न दिइएको छ ।
सवारीसाधन चलाउन दिइने कक्षाहरु पनि सोमबारदेखि शुरु गर्न पाइने छ भने अप्रिल २२ देखि सवारीसाधन चलाउने परीक्षा पनि दिन पाइने छ ।
उता वेल्समा पनि सोमबारदेखि विद्यालय, कलेज र विश्वविद्यालय खुला गरिएका छन् । यस्तै सबै किसिमका पसलहरु र ग्राहकलाई नजिकबाट सेवा दिइने सेवाका क्षेत्रहरुलाई पनि खोल्न अनुमति दिइएको छ । यसअघि अन्यत्रबाट वेल्समा यात्रा गर्न लगाइएको प्रतिवन्ध सोमबारदेखि नै खारेज गरिएको छ भने सवारीसाधन चलाउन सिक्ने कक्षा सुचारु गर्न पाइने भएको छ ।
उत्तरी आयरल्याण्डमा भने खुल्न बाँकी रहेका सबै विद्यालयहरु सोमबारदेखि खुल्नेछन् । त्यहाँ घरमै बसौँ भन्ने सोमबारदेखि नियमलाई खुकुलो बनाइएको छ । साथै, अत्यावश्यकीय वस्तुहरु बाहेकका अन्य सामग्रीहरु बेच्ने पसलहरुलाई सोमबारदेखि फोन वा अनलाइनबाट अर्डर लिएर संकलन गर्न पाउने सेवा दिन अनुमति दिइएको छ । यसैगरी १५ जनासम्म सहभागी हुने खेल शुरु गर्न पाइने छ भने दुई घरका सदस्यहरु र १० जनासम्म घरबाहिर भेट्न पाइने छ ।
स्कटल्याण्डमा भने सोमबारदेखि सबै तहका शैक्षिक संस्थाहरु क्रमशः खुला गरिँदै लगिने कार्यक्रम छ ।
स्मरण रहोस्, अझै पनि एकाघरका सदस्यबाहेक अन्य व्यक्तिलाई घरभित्र भेट गर्न भने अनुमति दिइएको छैन ।
बेलायत सरकारले गत डिसेम्बरदेखि लागू गरेको लकडाउनलाई यसपटक दीर्घकालका लागि हटाउने योजना बनाएको छ । जसअनुसार पहिलो र दोस्रो चरणको योजना लागू भइसकेका छन् भने बाँकी योजनाहरु तेस्रो चरण मे १७ मा र चौथो चरण जुन २१ मा लागू गरेपछि बेलायतमा लकडाउनको अन्त्य हुनेछ ।
तर युरोपका छिमेकी मुलुकहरुमा फैलिँदै गरेको कोरोना भाइरस संक्रमणको नयाँ लहरबाट बेलायत कति अछूतो रहन सक्छ त्यसमै बाँकी योजनाहरु भर पर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री