क्यानाडाको सर्वोच्च पदका लागि नेपाली मानकाजीको आवेदन

टोरन्टो। के हो ठूलो जगतमा? पसिना, विवेक, उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक…..यो प्रसिद्ध कवितामा भने जस्तै मानकाजी श्रेष्ठले पनि आफ्नो जीवनको उत्तराद्धमा ‘चन्द्र छुने’ सपना देखेका छन्। उनले क्यानाडाको सवैभन्दा ठूलो पदमा नियुक्ति पाउन प्रयत्न थालेका छन्। उनको सपनालाई यथार्थमा परिणत गर्न क्यानाडाको नेपाली समुदायले पनि एकतावद्ध भएर सहयोग गर्न थालेको छ।

नेपालको आधुनिक राजतन्त्रको उद्गम गोरखाका श्रेष्ठले क्यानाडामा राजतन्त्रको प्रतिनिधि भएर सेवा गर्न लालायित भएको बताएका छन्। गोर्खा सैनिकले २ सय वर्षदेखि बेलायतको राजतन्त्रको सेवा गरिरहेको उल्लेख गर्दै एउटा अर्को गोरखा (नेपाली) लाई गभर्नर जनरलका रुपमा राजतन्त्रको सेवा गर्ने मौका दिन आग्रह पनि गरेका छन्। पूर्व ब्रिटिश कोलोनी संवैधानिक प्रजातान्त्रिक देश क्यानाडाको राष्ट्र प्रमुख बेलायतकी महारानी एलिजावेथ द्वितीय हुन्। त्यही राजसंस्थाको क्यानाडाको प्रतिनिधित्व गर्न इच्छा देखाएर उनले आफूलाई उमेद्वारका रुपमा प्रस्तुत गरेका हुन्।

क्यानाडाका जनविर्वाचित प्रधानमन्त्रीले राजसंस्थाको प्रतिनिधित्व गर्ने एक व्यक्तिलाई गभर्नर जनरलका रुपमा नियुक्त गर्ने कानुनी व्यवस्था छ। त्यही पदका लागि नेपाली मूलका क्यानेडीयन मानकाजी श्रेष्ठले इच्छा गरेका हुन्। सामान्यतया, प्रधानमन्त्रीले नियुक्त गर्ने गभर्नर जनरल यसपटक अल्पमतको सरकार भएकाले विपक्षी दलको पनि समर्थन लिनु पर्ने अवस्था छ। त्यसका लागि छनौट समिति पनि बन्न सक्ने सम्भावना रहेको बताइन्छ।

उनले गभर्नर जनरलको कार्यालयलाई केही दिनअघि पत्र पठाएर गभर्नर जनरलको पदमा रहेर क्यानाडाका जनताको सेवा गर्न इच्छुक रहेको जनाएका छन्। भ्यानकुभर, ब्रिटिश कोलम्बियाबाट कुराकानी गर्दै श्रेष्ठले भने, “म हरेक कुराबाट गभर्नर जनरलको पदमा रहेर सेवा गर्न योग्य रहेको कारण निवेदन दिएको हुँ।”

सामान्यतया गभर्नर जनरलको पद रिक्त रहँदैन। तर, २०१७ मा नियुक्त भएकी अन्तरिक्ष यात्री जुली पायाटले उनका कर्मचारीलाई कार्यस्थलमा दुर्व्यवहार गरेको आरोप लागेपछि गरिएको एक स्वतन्त्र अनुसन्धानमा दोषी देखिएपछि उनले राजीनामा दिएकी थिइन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले गलत व्यक्तिलाई त्यो पदमा नियुक्त गरेको भनेर आलोचना भएको थियो।  ”मैले गरेको अनुसन्धानबाट के थाहा पाएँ भने आजसम्मका ७२ जना गभर्नर जनरलहरु मध्ये एसियन मूलबाट कोही पनि भएका रहेनछन्” उनले भने। उनको बसोबास रहेको ब्रिटिश कोलम्बियाबाट पनि हालसम्म कोही गर्भनर जनरल नबनाइएको बताइएको छ।

“म साम्प्रदायिक जातीय, परिवार र आफ्नो चासो भन्दा माथि उठेर बलबुताले भ्याएसम्म क्यानाडाको सेवामा समर्पित गर्न चाहन्छु”, उनले लेखेको पत्रमा उल्लेख छ, “म एक कार्यकाल काम गर्न इच्छुक छु। र, कानुनले मिल्ने भए तलव नलिने प्रतिवद्धता पनि जनाउन चाहन्छु।” गभर्नर जनरलका मुख्य भूमिकाहरुमा संवैधानिक जिम्मेवारी, सेनाको परमाधिपति, क्यानाडाभित्र र बाहिर क्यानाडाको प्रतिनिधित्व, राम्रो काम गर्नेहरुलाई प्रेरित गर्ने र क्यानेडीयनहरुलाई एकतावद्ध राख्ने आदि पर्दछन्।

यसैगरी, सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, संसद बोलाउने र प्रधानमन्त्रीलाई सपथ ग्रहण गराउने र कानुन प्रमाणित गर्ने काम पनि गभर्नरका काम हुन्। प्रधानमन्त्रीको सल्लाहमा प्राइभी काउन्सिलमा नियुक्ति, १० वटा प्रान्त र ३ वटा टेरिटोरीका लागि राजसंस्थाका प्रतिनिधि लेफ्टिनेन्ट गभर्नरको नियुक्ति गर्ने लगायतका कामहरु पनि जिम्मेवारीमा पर्छन्।  श्रेष्ठले कार्यालयले पत्र प्राप्त भएको उल्लेख गर्दै हाललाई सो पदमा नियुक्ति गर्ने प्रक्रिया शुरु नभएको  जवाफ पठाएको जानकारी दिए। सो पत्रमा नियुक्तिको प्रक्रिया शुरु भएपछि सम्वन्धित निकायमा पठाइदिने जनाइएको छ।

२००६ सालमा गोर्खामा जन्मिएका मानकाजी एसएलसी पास गरेपछि अस्कल (पहिलाको नाम पस्कल) क्याम्पसबाट आइएसी पास गरेर उच्च शिक्षा अध्ययनका लागि रसिया गए। त्यहाँबाट इलेक्टिकल इञ्जिनियरिंगको पढाई पुरा गरेर नेपालमा भवन विभागमा साढे १६ वर्ष सेवा गरे। नेपालमा विद्युत विभाग (हालको प्राधिकरण) लगायतका कार्यालयमा पनि उनले काम गरे।

सन् १९९८ मा क्यानाडा बसाइँ आएपछि यहाँ पनि विभिन्न पदमा रहेर काम गरे। २०१० देखि २०१३ सम्म बिसी हाइड्रो कम्पनीमा परामर्शदाता कम्पनीको परामर्शदाताका लागि इनर्जी म्यानेजमेन्ट इञ्जिनियरका रुपमा काम गरेका उनले ६५ वर्ष उमेर भएपछि त्यहाँबाट अवकास लिएका थिए।   भ्यानकुभर बसाई सर्नुअघि टोरन्टोमा रहँदा पनि उनी विभिन्न संघ संस्थामा सक्रिय थिए। उनैको पहलमा सन् २००० मा टोरन्टोमा ‘एनसिसिएस’ संस्था स्थापना भएको थियो। सामाजिक गतिविधिमा उत्तिकै सक्रिय उनले सन् २०१७ मा उनकै नेतृत्वमा नेपाल क्यानाडा फ्रेण्डसिप एण्ड कल्चरल सोसाइटी गठन गरेका छन्।

त्यो संस्थामार्फत नेपाली कला र संस्कृतिका विषयमा कार्यरत रहेको उनले बताए। साहित्यिक गतिविधिमा समेत सक्रिय उनले साहित्यिक र प्राविधिक गरेर ६ वटा पुस्तक समेत लेखेका छन्। उनी अंग्रेजी नेपाली दोभाषेका रुपमा पनि सक्रिय छन्। यो अभियानलाई साथ र सहयोग गर्न अरोरा अन्टारियोका डा.पुण्यसागर मरहट्टाको संयोजनकत्वमा  समिति बनेको छ। मानकाजी श्रेष्ठको आँटले एउटा तरंग ल्याएको उल्लेख गर्दै उनलाई सवैले साथ र सहयोग गर्नु पर्ने डा.मरहट्टाको भनाई छ। “पहिलो पुस्ताको नेपाली र भिजिवल माइनोरिटी समुदायबाट गभर्नर जनरल पदका लागि गरेको प्रयत्नलाई हामीले होस्टेमा हैंसे गरेको हौं’, उनले भने, “यस कार्यले क्यानाडाको आगामी नेपाली पुस्ताका लागि पनि मार्गदर्शन गर्ने आशा छ।”

नेपाली कल्चरल एसोसिएसन अफ न्यु ब्रन्सबिकका अध्यक्ष रूद्र अधिकारीले यो अभियान क्यानाडाका सम्पूर्ण भिजिवल माइनोरिटीका लागि प्रतिष्ठाको कुरा भएको भन्दै यहाँका अन्य सामुदायिक संस्थाहरुलाई पनि एक्यवद्धता जनाउनका लागि पहल भइरहेको जानकारी दिए। यो समितिले उनीसँग अर्को साता क्यानाडाका नेपाली सामुदायिक संस्थाका नेतृत्वकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री