‘बेलायतको जनगणनामा नेपाली सहभागिता अभियान प्रभावकारी’

लण्डन । बेलायतमा गत सप्ताहन्तमा सम्पन्न जनगणनामा नेपाली पहिचान दिलाउनका लागि गरिएको अभियान राम्रो र प्रभावकारी भएको निस्कर्ष गैरआवासीय नेपाली संघ इङल्याण्ड राज्य परिषदले निकालेको छ ।

परिषदले इङल्याण्डमा नेपालीहरुलाई बढीभन्दा बढी जनगणनामा सहभागी गराउनका लािग जनचेतनामूलक र जनजागरण अभियान गर्दै आएको थियो ।

परिषदका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सो अभियानका लागि गठित ११ वटै कार्यदलका संयोजकहरु सम्मिलित बैठकले अभियान सार्थक भएको निचोड निकालेको हो ।

परिषदले मार्च २८ तारिख आईतवारका दिन नेपाली समुदायबीच एक भर्चुअल कार्यक्रममार्फत सो अभियानको समापन गर्ने भएको छ ।

परिषदले २९ जनवरीदेखि जनगणनामा नेपाली समुदायलाई सहभागी गराउने याेजना तर्जुमा, पुनरावलोकन र सुदृढीकरणमा परिषदकमा सदस्यहरुसित दैनिकजसो छलफल गर्दै आएको छ । यो अभियानमा बेलायतमा सक्रिय तीन सय हाराहारीमा रहेका नेपाली समाजहरुको समन्वयमा अन्तरक्रिया कार्यक्रमहरु चलाउने नीति बमोजिम डार्टफोर्ड, क्रोयडोन, स्वीण्डन, रेडिङ, मिडल्याण्डलगायत धेरै ठाउँहरूमा कार्यक्रमहरु आयोजना गरिएका थिए । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेका डा. कृष्ण अधिकारी र नरेश खपाङ्गीमगर, अफिस फर न्याशनल स्ट्याटिटिक्सका समुदाय सल्लाहकारहरु समीर गुरूङ र मैयाँ केसी डंगाेल लगायतका विज्ञहरूबाट यी कार्यक्रमहरूमा एक्सेस कोड पाउने तरिका, अनलाइनबाट फाराम भर्ने विधि, अरूलाई सहयाेग गर्दा डाटा प्राेटेक्सनका प्रावधानहरु कसरी अनुसरण गर्ने, बहुपरिवार, डेरामा बस्नेले छुट्टै भर्न चाहे अपनाउनु पर्ने प्रक्रियाका बारे जानकारी दिएका थिए ।

यसैगरी परिषदले याे अभियानलाइ द्रुतगतिमा अघि बढाउन हेल्पलाईन (पुन्य रेग्मी) , संघ संस्था समन्वय (गजेन कटुवाल र महेश अधिकारी), महिला ( प्रसुना कँडेल ), युवा (अहिल्या कुँवर), स्वयंसेवक ( जीवन सेन) , आइटी (ह्यारी गुरुङ ), मिडिया ( श्याम लुइँटेल ), सिनियर नागरिक ( कुमार श्रेष्ठ ), माेवाइल सहयाेग (विक्रम भट्टराई ), गोर्खा सम्बद्ध (महेन्द्र लिम्बु) र जनजाति कार्यदल (रामधन राई) गठन गरी संयाेजकसमेत ताेकेर गतिविधिहरु कार्यान्वयन गरेको थियो ।

हेल्पलाइन कार्यदलको दुई चरणको तालिमबाट ४३ जना सहयोगकर्ताहरुको तालिम सम्पन्न गरी उनीहरुको नाम र सम्पर्क मोबाईल नम्बर भएको हेल्पलाइन पोस्टर सामाजिक सन्जालबाट व्यापक प्रचार गरिएकोले धेरै नेपालीहरुले हेल्पलाइन सेवा लिन सफल भएका थिए। यो कार्यदल अप्रिल २०२१ को अन्त्यसम्म नै कायम राख्ने निर्णय भएका छ ।

सिएनएस युकेकाे समन्वयमा नेपाली भाषामा तयार गरिएका पोस्टर, पम्प्लेट , लिफलेट, फेसबुक फ्रेमहरु तयार गरी ओएनएसबाट स्वीकृत गराई बेलायतका विभिन्न सहरका नेपालीद्वारा संचालित पसल, रेस्टुरेन्टहरु तथा सार्वजनिक स्थानहरुमा टाँस्ने र जनमानसमा वितरण पनि गरिएको थियो । यसैगरी माेवाइल सहयाेग कार्यदल र हेल्पलाइन कार्यदलले जनगणनाको अन्तिम हप्ता र विशेष मार्च २० र २१ तारिखका दिन मन्दिर तथा सार्वजनिक हलहरुमा स्वयंसेवकको व्यापक परिचालन तथा सहयाेग वुथ र सहयाेग डेस्क नै स्थापना गरी जनगणनामा सहयोग गरेको थियो ।

जनगणनाका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ (इनास) बेलायतकाे सहयाेगमा ख्यातिप्राप्त नेपाली कलाकारहरू हरिवंश आचार्य , मदनकृष्ण श्रेष्ठ , राजेन्द्र खड्गी, बर्षा खड्का लगायत ४० भन्दा बढी कलाकारहरुबाट २ मिनेटको जनगणनामा सहभागिता बारे भिडियाे अपिलहरू तयार गरी सार्वजनिक गरिएको थियो।

परिषदले सचेतना अभियान अन्तर्गतका अन्तर्कृया कार्यक्रम ,हेल्पलाइन तालिम र सेवा, स्वयंसेवक परिचालन, वुथ सन्चालन, मोबाइल सहयोग कार्यदल, ख्यातिप्राप्त कलाकारहरूकाे अपिल र प्रभावको प्रयोग, भिडियाे निर्माण तथा सहजीकरण गोष्ठीहरुको सफल सन्चालनमा सहयोग पुर्याउनुहुने सबैमा धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री