गोरखाहरुका लागि बेलायती नागरिकताको प्रक्रिया सहज बनाउन माग

लण्डन । बेलायतमा गोरखाहरुको बाक्लो बस्ती रहेको काउन्सिल रसमुर काउन्सिलका नेता डेभिड क्लिफोर्डले गोरखा भूतपूर्व सैनिकलाई बेलायतको नागरिकता लिने प्रक्रिया सरल र सहज बनाउन बेलायती प्रधानमन्त्रीसित माग गरेका छन् ।

उनले आज बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै बेलायती नागरिकता पाउनका लागि विद्यमान प्रावधान गोरखा भूतपूर्व सैनिकहरु र उनका परिवारका लागि मह‌ङ्गो शुल्क र प्रक्रिया चुनौतीपूर्ण रहेको पाएको बताएका छन् । उनले बेलायती रक्षा मन्त्रालयलाई शुल्क घटाउन र प्रक्रियालाई सरल र लचिलो बनाउन परामर्श शुरु गर्न पनि अनुरोध गरेका छन् ।

अल्डरसट र फार्नब्रो क्षेत्रका सेनामा काम गरेका पूर्व सैनिकहरुका लागि यो जल्दोबल्दो समस्या भएको पनि उनले उल्लेख गरेका छन् । यसका बारेमा काउन्सिल नियमित परामर्शमा रहने बताउँदै उनले सरकारलाई गोरखा सैनिकहरुलाई बेलायती नागरिकता प्राप्तीका लागि रहेका अवरोधहरुलाई हटाउन माग गरेका छन् ।

गोरखाहरुको सो समस्या चाँडोभन्दा चाँडो समाधान भए आफू सरकारप्रति कृतज्ञ रहने भन्दै उनले त्यसो भएमा बेलायतकी महारानी र बेलायतका लागि योगदान दिएका गोरखाहरुप्रति हाम्रो सहयोग देखाउने मौका मिल्ने बताएका छन् ।

उनी बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट निर्वाचित काउन्सिलर हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री