बेलायतमा बेरोजगारी पाँच वर्षयताकै उच्च

लण्डन । कोरोना भाइरसको महामारीका कारण बेलायतमा बेरोजगारी पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) का अनुसार सन् २०२०को अन्तिम तीन महिनामा बेरोजगारी दर ५.१ प्रतिशतले बढेको छ ।

रोयटर्सका अनुसार यो स‌ंख्या सन् २०१६ को पहिलो तीन महिनायताकै सबैभन्दा उच्च संख्या हो ।

सरकारले लागू गरेको फर्लो योजनाका कारण धेरै ठूलो संख्यामा बेरोजगार हुनबाट हालसम्म रोकथाम हुँदै आएको छ । हरेक पाँच जनामा एकजना सरकारको योजनाबाट लाभ लिइरहेको पाइएको छ । सो योजना अप्रिल ३० तारिखमा समाप्त हुँदैछ । तर बेलायतका अर्थमन्त्री ऋषि सुनकले महामारीका कारण धेरै प्रभावित बनेका क्षेत्रका लागि अर्को साता पेश गर्ने बजेटमा रोजगारीको व्यवस्था गर्ने वचन दिएका छन् ।

तथ्यांकअनुसार महामारी पूर्व गत फेब्रुअरीको तुलनामा अहिले ७ लाख २६ हजारले जागिर गुमाएका छन् । जुन बेलायतको कुल काम गर्ने संख्याको २ प्रतिशत हुन आउँछ । जागिर गुमाउनेहरुमा धेरैजसो २५ वर्षमुनीका छन् ।

बैँक अफ इङ्गल्याण्डले फर्लो योजना सकिएपछि बेरोजगारी दर करिब ८ प्रतिशतसम्म पुग्ने आँकलन गरेको छ । तर यस क्षेत्रका अन्य विज्ञहरुले भने बेरोजगारी दर ६ प्रतिशतसम्म पुग्ने मत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री