प्रिन्स ह्यारी राजपरिवार सदस्यबाट मुक्त

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकीपत्नी मेघन (डचेस अफ ससेक्स)लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलग गर्नुभएको छ ।
बकिंगघम दरबारबाट शुक्रबार जारी विज्ञप्तिमा दि ड्यूक र डचेस अफ ससेक्सले सार्वजनिक सेवासँग जोडिएका कुनै पनि काममा राजकीय सदस्यको रुपमा जनाउने जिम्मेवारी र कर्तव्यलाई निरन्तरता दिने सम्भावना नरहेको प्रष्ट पारिएको छ ।
यससँगै राजकीय सदस्यको रुपमा उहाँहरुलाई दिइएको सेनाको मानार्थ सम्मान,राजकीय सेवा सुविधा पनि उहाँहरुले महारानीलाई फिर्ता गर्नुपर्ने छ । राजकुमार ह्यारीसँगको छलफलपछि महारानीले लिखित रुपमा यस्तो जानकारी दिनु भएको हो । ह्यारी दम्पतिको यो निर्णयले सबैजना दुःखी भएपनि परिवारको सदस्यको रुपमा भने रहने विज्ञप्तिमा जनाइएको छ ।
गतवर्ष ह्यारी दम्पतिले राजकीय पदबाट अलग भई स्वतन्त्र भएर काम गर्ने बताउनु भएको थियो । उहाँहरुले आर्थिक रुपमा पनि स्वावलम्बी हुने बताउनु भएको थियो । गत वर्ष मार्चमा ह्यारी दम्पतिले औपचारिक रुपमा राजकीय गतिविधिमा सहभागिता नरहने जनाएपछि उहाँहरुको निर्णयलाई एक वर्षसम्म पुनरावलोकन गर्ने समय दिइएको थियो ।
राजकीय सेवाबाट स्वेच्छाले बाहिरिएपछि ह्यारी दम्पति अमेरिका पुग्नु भएको थियो । एक सन्तानको अभिभावक भैसकेको यस दम्पति दोस्रो सन्तानको जन्माईको पर्खाईमा छन् । गत फेब्रुअरी १४ मा दुवै जनाले दोस्रो सन्तानको पर्खाईमा रहेको तस्वीर सार्वजनिक गर्नुभएको थियो ।

हालै मात्र मेघनले बेलायतको चर्चित पत्रिका मेलविरुद्धको मुद्दा जित्नु भएको थियो । मेलले आफ्नो व्यक्तिगत र गोप्य पत्र सार्वजनिक गरेपछि मेघन अदालत पुग्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री