आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने

लण्डन । बेलायतले आजदेखि कोरोना भाइरसको उच्च संक्रमण भएका विभिन्न मुलुकहरुबाट आउने यात्रुहरुका लागि अनिवार्य रुपमा होटलमा १० दिन क्वारेन्टिनमा बस्न पर्ने नियम कार्यान्वयमा ल्याएको छ ।

आज बिहान ४ बजेबाट सो नियम लागू भएको स्वास्थ्य मन्त्री म्याट ह्यानककले रेडियो अन्तर्वार्तामा बताएका छन् ।  

इङल्याण्डले कोरोना भाइरसको संक्रमण उच्च भएका विभिन्न ३३ देशहरुबाट आइपुग्ने यात्रुहरुले सरकारले तोकिदिएको होटलमा बस्न पर्ने नियम बनाएको छ भने स्कटल्याण्ड सरकारले भने सबै देशहरुबाट आउने यात्रुले होटलमा क्वारेन्टिनमा बस्न पर्ने नियम बनाएको छ ।

विदेशसित सोझै हवाइ सम्पर्क नभएका वेल्स र नर्देन आयरल्याण्ड पुग्ने यात्रुहरुले इङल्याण्डमै क्वारेन्टिनमा बस्नु पर्नेछ ।

नेपाल भने बेलायत सरकारले बनाएको कोरोना भाइरस संक्रमणको अति जोखिममा रहेको मुलुकको सूचीमा नपरेकाले नेपालबाट इङल्याण्ड आइपुग्ने यात्रुहरुले घरमै आइसोलेसनमा बस्नपर्नेछ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो व्यवस्था गरिएको सरकारको दाबी छ ।

आजदेखि बेलायत आउने यात्रुहरुले ७२ घन्टाभित्र कोरोना भाइरसको टेस्ट नेगेटिभ भएको रिपोर्ट अनिवार्य साथमा देखाउनु पर्ने छ भने बेलायत आउनु अघि नै होटल क्वारेन्टिनको बुकिङ गरेको हुनु पर्नेछ । बेलायत सरकारको वेभसाइट मार्फत यस्तो बुकिङ गर्न सकिने छ । क्वारेन्टिन वापत जनही १ हजार ७५० पाउण्ड लाग्नेछ । साथै, अरु एक जना वयस्कका लागि ६५० पाउण्ड र ५ वर्षदेखि १२ वर्षसम्मको बच्चाका लागि ३२५ पाउण्ड लाग्नेछ । सो पैसा होटलको बसाइ, खाना, यातायात र टेष्टको शुल्कमा खर्च हुनेछ ।

सरकारले क्वारेन्टिनका लागि हालसम्म १६ वटा होटलको व्यवस्था गरेको छ जसमा ४ हजार ९६३ वटा कोठा उपलब्ध छन् । यसका साथै करिब ५८ हजार कोठा तम्तयारी अवस्थामा छन् ।
नयाँ नियम पालना नगरेमा ५ हजारदेखि १० हजार पाउण्डसम्म जरिवाना हुन सक्ने छ । साथै सरकारले बनाएको अति जोखिमपूर्ण मुलुकहरुबाट आएको तर तोकिएको फाराममा सो कुरा ढाँटेको पाइएमा १० वर्षसम्म कैद हुन सक्नेछ ।

यस्तै, आजदेखि घरमै आइसोलेसनमा बस्ने वा होटलमा क्वारेन्टिनमा बस्नेहरुले अनिवार्य रुपमा दुईपटक टेष्ट गराउनु पर्ने छ । पहिलो टेष्ट दोस्रो दिनमा र अर्को टेष्ट आठौँ दिनमा गर्नु पर्नेछ । टेष्टवापत २१० पाउण्ड लाग्ने छ । टेष्ट नगराएमा २ हजार पाउण्ड सम्म जरिवाना हुन सक्नेछ ।

इङल्याण्डमा निम्न मुलुकहरुबाट आउनेले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्नेछ:

Angola, Argentina, Bolivia, Botswana, Brazil, Burundi, Cape Verde, Chile, Colombia, Democratic Republic of Congo, Ecuador, Eswatini, French Guiana, Guyana, Lesotho, Malawi, Mauritius, Mozambique, Namibia, Panama, Paraguay, Peru, Portugal, Rwanda, Seychelles, South Africa, Suriname, Tanzania, United Arab Emirates, Uruguay, Venezuela, Zambia and Zimbabwe.

प्रतिक्रिया

सम्बन्धित सामाग्री