आप्रवासीलाई आर्थिक रुपमा सबल बनाउने पुस्तक लिएर आए प्रगति

लण्डन । मानिसलाई नयाँ ठाउँमा सर्दा धेरै कुराहरुको बारेमा जानकारी चाहिन्छ । यस्ता जानकारी कहाँ पाउने ? कोसँग सम्पर्क गर्ने ? नयाँ ठाउँमा कसरी आफ्नो योजनाहरु बनाउने ? नेपाल छाडेर बेलायतमा बस्न आउने धेरैलाई यस्तो जिज्ञासाले छोएको हुनसक्छ । नेपाल मात्र होइन विश्वका धेरै मुलुकहरुबाट बेलायत बसोबास गर्न आउनेको चिन्ता यस्तै हुन्छ ।
हो, यस्तै प्रश्नको उत्तर दिने उद्देश्यले नयाँ ठाउँमा आर्थिक रुपमा कसरी सबल बन्ने भन्ने बारेमा आफ्नो भोगाइ, अध्ययनलाई पुस्तकका रुपमा लिएर आएका छन् नेपाली युवा– प्रगति ओझा ।
ओझाले सन् २०२० को डिसेम्बरमा ‘फाइनान्सियल फ्रिडम फर इमिग्रेन्टस’ नामक पुस्तक प्रकाशन गरेका छन् । उनको यो पुस्तकमा आप्रवासीले आर्थिक रुपमा भोग्न पर्ने चुनौतीहरु, पहिलो घर किन्दाको यात्रा, पहिलोपटक घर किन्दा हुने गल्तीहरु, घर किन्दा डिजोजिट कसरी जम्मा गर्ने, पहिलो घरलाई दुईवर्ष कसरी धान्ने, घरमा किन लगानी गर्ने, घरमा लगानी गर्ने तरिका, कसरी घरमा लगानी बढाउने, लगानीका लागि पुँजीको कसरी जोहो गर्ने, गल्तीहरुबाट कसरी पाठ सिक्ने लगायतका विषयहरु समेटिएका छन् ।
सन् २००३ मा विद्यार्थीका रुपमा प्रगति बेलायत आएका थिए । बेलायतमा स्थायी बसोबासका क्रममा उनी निक्कै अल्मलिए । कुन कुरा पहिला गर्ने ? कुन कुरा कसरी गर्ने ? उनी भन्छन्, “आधारभूत कुराहरु पहिल्यै थाहा भएको दुई वर्ष पहिल्यै नै धेरै सेटल हुनसक्ने थिएँ ।”
पोखराका प्रगति आफैँमा लेखक होइनन् । यो उनको पहिलो पुस्तक हो । तर पुस्तकका बारेमा उनी अपरिचित भने होइनन् । उनका पिता आफैँ पनि लेखक थिए । पाठ्यपुस्तकबाहेकका अन्य पुस्तकसित बाल्यकालको सम्झना खोतल्दै उनी भन्छन्, “मेरो बुबाले नेपाली सामुदायिक शिक्षाका बारेमा किताब लेख्नुभएको थियो । उहाँले मलाई यदि त्यो किताबका लागि चाहिने चित्रहरु बनाएमा साइकल किनिदिने भन्नुभएको थियो । मैले चित्र बनाएँ र जीवनको पहिलो साइकल पनि किनेँ ।”
तर उनलाई पुस्तक निकाल्ने प्रेरणा भने लण्डनमा आयोजित पुस्तकसम्बन्धी एउटा तालिमले दियो । सामान्यता पुस्तक भन्नासाथ विषयको विज्ञ भएर मात्र लेख्न सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ । उनलाई भने त्यो तालिम पछि ‘मैले पनि पुस्तक लेख्न सक्छु र मसित पनि पुस्तकमार्फत दिन सकिने विषवस्तु छ’ भन्ने सोच आयो ।
बेलायतमा गत वर्षको मार्च महिनादेखि कोरोना भाइरसको संक्रमणका कारण लकडाउन शुरु हुँदै थियो । सामान्य जनजीवन असामान्य बन्दै थियो । त्यसरी नै प्रगतिको जीवन पनि असामान्य बन्दै थियो कोरोनाका कारण नभई पुस्तक लेखनका कारण । कोरोना भाइरसको महामारीकै बीच उनले पुस्तक तयार पारे । स्वप्रकाशनमा प्रकाशित सो पुस्तक लेखनको चुनौती बारे उनी भन्छन्, “पुस्तक लेख्दै जाँदा नयाँ नयाँ विषय थप्न मन लाग्ने रहेछ ।” मनमा आएका नयाँ नयाँ सोचाइलाई व्यवस्थापन गर्दै उनले १९० पेजमा पुस्तकलाई बिट मारे ।
अहिले सो पुस्तक अमाजोनमा किन्न पाइन्छ । पुस्तकको मूल्य १४ पाउण्ड ९७ पेन्स राखिएको छ ।
हालसम्म पुस्तकको प्रतिक्रियाका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले ‘सकारात्मक’ प्रतिक्रिया पाएको बताए । अमाजोनमा पनि यस्तै पृष्ठपोषण देखिन्छ । एक महिनाअघि मात्र निस्किएको पुस्तकको बिक्री वा बजारका बारेमा अहिल्यै प्रश्न गर्नु हतारो हुन्छ । तर बजारको अपेक्षा कस्तो राख्नुभएको छ भन्ने जिज्ञासामा उनले भने, “यो पुस्तक मैले पैसा कमाउने उद्देश्यले लेखेको होइन । म आफैँ पनि आप्रवासी र यस्ता सूचनाहरु नपाएका कारण पीडित भएकाले मजस्तै अरुलाई त्यस्तो बेलामा सहयोग पुगोस् भनेर यो पुस्तक प्रकाशन गरेको हुँ ।”
लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट फाइनान्स र बैँकिङमा स्नातकोत्तर गरेका ओझा विगत १० वर्षदेखि क्लेरेनडोन होटलको उपमहाप्रबन्धक छन् । यसबाहेक प्रोपर्टी मार्केटमा करिब एक दशकदेखि उनी सक्रिय छन् । त्यसैले उनको पुस्तक पनि आफ्ना अनुभवमा आधारित छन् ।
उनको पुस्तक पाँच वर्षअघि बेलायत आएकादेखि बेलायतमा बसोबासका लागि आउने तयारी गरिरहेकासम्मलाई उपयोगी हुने उनको भनाइ छ । त्यसो त अमाजनमा राखिएको उनको पुस्तकका बारेमा पाठकहरुले व्यक्त गरेको प्रतिक्रियामा सो पुस्तक आप्रवासीलाई मात्र होइन प्रोपर्टी मार्केटमा लगानी गर्न चाहने सबैलाई उपयोगी हुने बताइएको छ ।
बेलायत आप्रवासीहरुलाई आर्थिक रुपमा प्रगति गर्नका लागि उपयुक्त स्थान भएको ओझाको निचोड छ । विद्यार्थीका रुपमा बेलायत आएका धेरै जना अहिले बेलायतको अर्बपतिको सूचीमा पुगेको दृष्टान्त प्रस्तुत गर्दै उनी त्यसैले बेलायतलाई ‘आइल्याण्ड मेड अफ इमिग्रयान्ट्स’ भनिएको दाबी गर्छन् ।
बेलायतमा बसोबासका लागि आउन चाहने नेपालीहरुलाई उनको सुझाव छ –हिथ्रो विमानस्थलमा खुट्टा टेकेकै दिनदेखि आफ्नो योजना बनाउनुहोस् र त्यसैमा ध्यान दिनुहोस् अरुभन्दा अगावै आफ्नो लक्ष्यमा पुग्नुहुनेछ ।
यसबाहेक उनी आप्रवासीहरुलाई आफ्ना अनुभव व्यक्तिगत रुपमा साटासाट गर्न पनि तयार रहेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री