मार्चको जनगणनाका लागि तयार हुदै बेलायतवासी नेपाली

तस्बिर : किड्नी क्यान्सर सपोर्ट नेटवर्क

लण्डन । संयुक्त अधिराज्य बेलायतमा हुने जनगणनामा सहभागी हुन नेपाली समुदाय तयार भएको छ । आगामी मार्च महिनामा हुने जनगणनाले बेलायतमा बसोवास गर्ने नेपाली समुदायको तथ्यांक समेत आउने भएकाले समुदायस्तरमा सचेतना कार्यक्रम सुरु भएका छन ।
युकेमा रहेको नेपाली अध्येताहरुको संस्था नेपाल अध्ययन केन्द्र (सिएनएस) युके जनगणनाका लागि नेपाली बसोवास गर्ने बेलायतभर स्थानीय संघसंस्था सँग मिलेर सचेतना फैलाउने काममा लागि परेको छ । शुक्रबार मात्रै गैरआवासीय नेपाली संघ(एनआरएनए) युकेले राष्ट्रिय जनगणनामा भाग लिन सबै नेपालीहरुलाई आव्हान गरेको छ । साझा संस्थाका रुपमा रहेको
एनआरएनए युकेले बेलायतभर बसोबास गर्ने नेपालीहरुलाई सकृय सहभागीताका लागि अनुरोध गरेको हो ।नेपालीको पहिचान र तथ्यांक खुल्दा अल्पसंख्यक नेपालीहरुलाई भविष्यमा आफ्नो मातृभाषाको आधिकारिकता पाउन बाटो खुल्ने अपेक्षा एनआरएनए युकेको छ । स्थानीय स्तरमा जनचेतनामुलुक कार्यक्रम बनाई सहभागी गराउन संघसस्थालाई आव्हान समेत गरेको छ ।
त्यसका लागि संघ युके इंग्ल्याण्ड राज्य परिषद्का सचेतना कार्यक्रमको लागि जिम्मा दिइएको छ । हरेक १० बर्षमा गरिने राष्ट्रिय जनगणनामा कोही नेपाली नछुटुन भनेर इंग्याण्ड राज्यपरिषद्ले बेलायतको तथ्यांक कार्यालय (ओएनएस)सँग प्रत्यक्ष सम्पर्क गरि सुचना मुलुक कार्यक्रम र तालिममा सहभागी हुदै आएको सचिव गोविन्द खरेलले जानकारी दिए ।
बेलायतका कति नेपाली बसोवास गर्छन भन्ने कुनै तथ्यांक छैन । संस्था वा व्यक्ति पिच्छे करीव ७० हजारदेखि एक लाख ५० हजार नेपाली बेलायतमा बसोवास गरेको अनुमान गरिन्छ । यो राष्ट्रिय जनगणनाले बेलायतमा बसोवास गर्ने व्यक्तिहरुको तथ्यांक आउनेछ ।

बेलायतमा हरेक १० वर्षमा जनगणनाआगामी २१ मार्च २०२१ को दिन हुन गैरहेको छ। गत सन् २०११ को राष्ट्रिय जनगणनामा बेलायतभरका नेपालीहरु आंशिक रुपमा मात्र सहभागीता जनाएको पाइएको थियो । २०११ मा बेलायतमा नेपाली समुदायको सानो बस्ति, सूचना प्रबिधि सम्बन्धि सीमित जानकारी तथा स्पष्ट पहिचान खुलाउन नसकेको हुँदा हामी हाम्रो पहिचानबाट बन्चित हुनु परेको समाजका अगुवाहरुको भनाई छ । एनआरएनए युके इंग्ल्याण्ड राज्यपरिषद्ले जनगणना मार्फत हाम्रो एउटै पहिचान स्थापना गर्नको लागी बेलायतवासी नेपालीहरू एकजुट भइ लाग्न अनुरोध गरेको छ । उसले यस अभियानमा सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्न अपिल समेत गरेको छ ।

यता, लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजिएनएस)ले नेपाली समुदायमा जनगणना जागरूकता सम्बन्धि कार्यक्रम चलाउने निर्णय बिहीबार नै गरिसकेको छ । आरजिएनएसका उपाध्यक्ष जित रानाभाटको संयोजनमा नेपाली समुदायलाई जनगणनामा सहभागीता गराउन प्रचार प्रसारलाई तिव्र गतिमा अघि बढाउन लागिएको छ ।
जनगणना किन ?
जनगणना प्रत्येक १० बर्षमा ईङ्ग्ल्याण्ड तथा वेल्स भित्र बसोबास गर्ने मानिसहरुको बारेमा आंकडा संकलन गर्ने प्रक्रिया हो। यस प्रक्रियामा उमेर , स्वास्थ्य, लिङ्ग देखि लिएर यहाँ बसोबास गर्ने मानिसहरुका धर्म, संस्कृति, पेशालगायतका महत्वपुर्ण बिषयहरुका सम्बन्धमा प्रश्न तयार गरि सूचना संकलन गरिन्छ । उक्त संकलन गरिएको आङ्कडाहरु शिक्षा, स्वास्थ्य, समान-अधिकार, लगायतका महत्वपुर्ण सरकारका योजनाहरुमा लगानी तथा निर्यणहरु लिनको लागि प्रयोग गरिन्छ। सरकारले कोहि पनि सुबिधाबाट बन्चित हुनु नपरोस भन्ने अभिप्रायबाट आयोजना गरिने यो जनगणना कार्यक्रममा हाम्रो सम्पूर्ण नेपाली समुदायको पूर्ण सहभागिता रहोस भन्ने चाहना रहेको जनाइएको छ ।

जनगणना कहाँ कहिले हुँदैछ

बेलायतका चार राज्यहरु मध्ये ईङ्ग्ल्याण्ड र वेल्समा मार्च २१ को दिन राष्ट्रिय जनगणना हुन गैरहेको छ ।
जसको जिम्मेवारी बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयद्वारा लिएको छ ।
स्कटल्याण्डमा २०२२ मा राष्ट्रिय जनगणना हुन गइरहेको छ । यो काम स्कटल्याण्डको नेसनल रेकर्ड अफ स्टाटेस्टिकले गर्दैछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री