एकपटक मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोप ६६% प्रभावकारी

FILE PHOTO:  REUTERS/Dado Ruvic/Illustration/File Photo/File Photo

लण्डन । कोरोना भाइरसविरुद्धको खोपको होडमा जोन्सन एण्ड जोन्सनको कोरोना खोपको तेस्रो चरणको परीक्षणको नतीजा शुक्रबार सार्वजनिक भएको छ ।

अमेरिकी फार्मास्यूटिकल जानसेनले उत्पादन गरेको सो खोप कोरोना भाइरसबाट मानिसहरुलाई बचाउन ६६ प्रतिशत प्रभावकारी पाइएको छ भने सो भाइरसबाट संक्रमितहरुलाई गम्भीर बिरामी हुनबाट रोक्नलाई ८५ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।

कोरोना भाइरसविरुद्ध फाइजर र मोडर्नाको खोपभन्दा कम प्रभावकारी जस्तो देखिए पनि यो खोपको विशेषता के छ भने यो खोप एकपटक लगाए पुग्छ । त्यसैले कमजोर स्वास्थ्य सेवा भएका मुलुकहरुका लागि यो खोप वरदान साबित हुनसक्ने अन्दाज गरिएको छ ।

जोन्सन एण्ड जोन्सनको खोपलाई मोडर्ना र फाइजरको खोप जस्तो चिसो तापक्रम जरुरी छैन । सामान्य फ्रिजमा यो खोपलाई भण्डार गर्न सकिन्छ भने यो परम्परागत खोप बनाइने विधिबाट बनाइएको खोप हो ।

अलाबामा भ्याक्सिन रिसर्च क्लिनिकका निर्देशक डा पल गोपफर्टले कोरोना भाइरसको नयाँ प्रजातिका विरुद्ध जोन्सन एण्ड जोन्सनको खोप उत्तिकै प्रभावकारी हुने बताएका छन् । किनकि यसको परीक्षण दक्षिण अफ्रिकामा समेत गरिएको छ ।

जोन्सन एण्ड जोन्सनले छिट्टै नै अमेरिका र अन्य मुलुकहरुमा लगाउनका लागि आवेदन गर्ने बताएको छ । सामान्यता अनुमति पाउनका लागि ५० देखि ६० प्रतिशत प्रभावकारी देखिनुपर्नेमा जोन्सन एण्ड जोन्सनको खोपको प्रभावकारिता सो मापदण्डभन्दा माथि नै छ ।

जोन्सन एण्ड जोन्सनको खोप आठ देशका ४३ हजार मानिसहरुमा परीक्षण गरिएको थियो । अमेरिका,अर्जेन्टिना, चिली, मेक्सिको, पेरु, ब्राजिल, कोलम्बिया र दक्षिण अफ्रिकामा यो खोपको परीक्षण गरिएको थियो । सो क्रममा सो खोप अमेरिकामा ७२ प्रतिशत, ल्याटिन अमेरिकामा ६६ प्रतिशत र दक्षिण अफ्रिकामा ५७ प्रतिशत प्रभावकारी पाइएको थियो ।

बेलायतले सो खोप ८० मिलियन डोज अर्डर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री