अस्ताए डा. चन्द्र लक्सम्बा

डा चन्द्र लक्सम्बा

लण्डन । लुम्बिनी बौद्ध विश्वविद्यालयका सिनेट सदस्य डा. चन्द्रकुमार लक्सम्बाको निधन भएको छ ।

हाल बेलायतमा रहेका डा. लक्सम्बालाई कोभिड १९ को लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरी उपचार भइरहेकोमा सोमबार हृदयघात भएको पारिवारिक स्रोतले बताएको छ ।  उनको ६० वर्षको उमेरमा म‌ंगलबार दिउँसो निधन भएको हो ।

नेपालमा रहेका उनका साला, नेकपा (नेकपा) का नेता तथा वैदेशिक रोजगार व्यवसायी चित्रगुप्त साँवाले उनको निधन भएको सामाजिक सन्जालमा पोस्ट गरेका छन् । यस्तै बेलायतस्थित ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नालले पनि डा लक्सम्बाको आज दिउँसो असामयिक निधन भएको भन्दै गहिरो समवेदना समाजको सामाजिक सन्जालमा प्रकाशित गरेका छन् ।

ताप्लेजुङको सिकैँचामा जन्मेका लक्सम्बा विद्यार्थीकालमा २०३६ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति पनि भएका थिए ।

त्यसपछि बेलायती सेनामा भर्ती भएका लक्सम्बाले सैन्य सेवा १९ वर्ष सेवा गरेका थिए । उनले सेवाकाशपछि बेलायतको सरे विश्वविद्यालयबाट लाइफ लङ लर्निङमा विद्यावारिधि गरेका थिए । उनी बेलायतमा सेन्टर फर नेपाल स्टडिज युकेको पूर्व कार्यकारी निर्देशक, अक्सफोर्ड विश्वविद्यालयको रिसर्च फेलो आदि रहेका थिए । उनले दर्जनौं अनुसन्धान गरेका छन् ।

लक्सम्बा पछिल्लो समय नेपाल फर्किएर नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत थिए । उनलाई केही महिनाअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको प्राज्ञ सदस्य नियुक्त गरेका थिए ।

लक्सम्बा बेलायतको नेपाली समाजका अगुवा पनि हुन् । उनी ताप्लेजुङ समाज युकेका दुई कार्यकाल अध्यक्ष, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष रहेका थिए । साथै उनी गोरखा भूतपूर्व सैनिकहरुको समानअधिकार प्राप्तीको आन्दोलनमा पनि सक्रिय थिए ।

उनको सम्पादनमा युरोपको नेपालीपत्र साप्ताहिक र गोरखा भ्वाइस पाक्षिक पत्रिका पनि प्रकाशन भएको थियो ।

उनका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री